एक सवेरा था
जब हँसकर उठते थे हम,
और आज कई बार बिना मुस्कुराये
ही शाम हो जाती है ।
कितने दूर निकल गए
रिश्तों को निभाते निभाते,
खुद को खो दिया हम ने
अपनों को पाते पाते ।
लोग कहते है
हम मुस्कुराते बहुत है,
और हम थक गए
दर्द छुपाते छुपाते ।
‘ख्वाहिसे’ हरिवंशराय बच्चन
कयौं रातहरू मैले निर्मलासँगै व्यग्रताले व्यतित गरेको छु । एउटा छटपटी हुन्थ्यो मनभरि । उनका आँसु मेरा पनि आँसु बन्थे । उनी एकोहोरिएर टोल्हाइरहँदा मेरो मनमा शुन्यता छाउँथ्यो । उनको अनुहारमा उनी खुसी भएको अलिकति भाव पोखिँदा पनि म आफूभित्र खुसीको एउटा काउकुति महसुस गर्थे । एउटा उत्साहहीन साँझको एकान्तले सधैं उनलाई लखेटिरहन्थ्यो । र, मलाई ती एकान्तले लखेटिरहेका उनका आँखाहरूले सधै व्यथित बनाउँथ्यो । यतिधेरै उकुसमुकुस, यतिधेरै बेचैनी र गहिरो वेदनाले भरिएर एउटी सामान्य स्वास्नीमान्छे कसरी यो समाजको निरङ्कुशता र आफ्नो एउटा बेमेल परिवारको सम्बन्धलाई सजिलै झेल्न सक्छे हँ ! मेरो मन व्याकुल छ ।
मुंसी प्रेमचन्द कृत ‘निर्मला’ उपन्यासको सान्निध्यमा केहीदिनदेखि बितेका मेरा पठन अनुभूतिका यी जीवन्त क्षणहरू हुन् । निर्मलालाई पढिसकेपछि धेरै प्रश्नहरू मनमा यसरी नै विवश भएर खेल्न आइपुग्छन् ।
सोचा था घर बना कर
बैठुंगा सुकून से,
पर घर की जरूरतों ने
मुसाफिर बना डाला मुझे ।
सायद कवि हरिवंशराय बच्चनले आफ्ना कविताका यी पङ्क्तिहरू निर्मलाकै लागि लेखिदिएझैँ लाग्छ ।
साँच्चै भन्ने हो भने प्रेमचन्दलाई पढ्नुभन्दा अघि मैले हिन्दी साहित्यमा गुलसन नन्दा, रानु, सुरज र वेदप्रकाशहरूलाई खुब पढेँ । रानु र गुलसन नन्दाहरूकै रोमान्टिक उपन्यासहरू पढेर मैले हिन्दी साहित्यलाई पढ्न सुरु गरेँ । त्यो स्कुले जीवन थियो । एक किसिमको कल्पनाशील बेला र उमेर । जब उपन्यास पढ्न बस्थें, समयको ख्याल हुन्नथ्यो । भावुकताले बगाउँथ्यो । कुनै युवतीको एउटा चित्रमय सौन्दर्य आँखामा आएर बस्थ्यो । यसरी हिन्दीका यी एकथरी प्रेम र रोमान्सले भरिएका उपन्यासहरूले मलाई भावुक र कल्पनाशील बनाउँदै लगिरहेको थियो ।
एकदिन प्रेमचन्दको उपन्यास ‘निर्मला’ बोकेर आएँ । सायद त्यसबेला प्रेमचन्दको नामसँगभन्दा पनि बढी म त्यो किताबको नामसँग आसक्त थिएँ । प्रेमचन्दका किताबहरू यसअधि पढेको थिइनँ । एउटा आसक्ति थियो किताबको गातासँग । एउटी रूपवती युवतीको प्रेमासक्तिपूर्ण चित्र मेरा आँखाअघिल्तिर खेलिरहेको थियो । निर्मलाले मनमा अनेक उत्सुकता उब्जाएको थियो ।
उपन्यास पढ्न सुरु गरेदेखि पढिसक्दासम्म कतिचोटि मेरो गला अबरुद्ध बन्यो होला ! कतिपटक मेरा आँखाहरू अनायास आँसुले रसाए होलान् ! र, कतिपटक मैले त्यो उपन्यासलाई दोहो¥याएर पढेँ हुँला ! कतिखेर दिनको उज्यालो बित्थ्यो र रातको अँध्यारो सुरु हुन्थ्यो ! कतिखेर बिहानको दुई बज्थ्यो र म सुत्न पल्टन्थेँ । एउटा किताबले बनाएको यतिसाह्रो अधैर्यता यसअघि मैले कहिल्यै यसरी महसुस गरिनँ ।
निर्मला उपन्यास पढिसकेपछि मेरो साहित्यलाई पढ्ने र बुझ्ने दृष्टिकोणलाई बदलिदियो । यसले मेरो पठनलाई विस्तार गरिदियो । यसरी गुलसन नन्दा र रानुको उपन्यासलाई पढेर सुरु भएको हिन्दी साहित्यको मेरो अध्ययनले एउटा सतहबाट सुरु भएर प्रेमचन्द, शरदचन्द्र र राहुल सांस्कृत्यान हुँदै हिन्दी साहित्यको गहिराइको अर्को अनुभूतितलमा प्रवेश ग¥यो ।
प्रेमचन्द मेरो मन रोजाइ लेखक बन्यो । र, निर्मला मेरो अधिक रुचिको किताब थियो । रुसी साहित्यमा जति माक्सिम गोर्कीको ‘आमा’को क्रान्तिकारी भूमिका छ, भारतीय साहित्यमा प्रेमचन्दको उपन्यास र कथाहरूले उत्तिकै सामाजिक विद्रोहको मनोविज्ञान बोकेको छ ।
०००
प्रेमचन्द हिन्दी भाषाका विश्व प्रसिद्ध भारतीय साहित्यकार थिए । उनी उपन्यासका सम्राट थिए । उनका थुप्रै उपन्यास र कथाहरू हिन्दी भाषाबाट विश्वका अन्य भाषाहरूमा अनुवाद भएर प्रकाशित भएका छन् ।
प्रेमचन्दको लेखनको लोकप्रियता बढ्दै थियो । एकदिन उनका समकालीन मित्र कवि कन्हैयालाल मिश्र ‘प्रभाकर’ले मुंशी प्रेमचन्दलाई सोधे, ‘मुंशीजी, तपाईं कस्तो कागजमा र कस्तो कलमले लेख्नुहुन्छ ?’ प्रेमचन्द जोडले हाँसे र उत्तर दिए, ‘यस्तो कागज जसमा पहिले केही नलेखिएको होस् र यस्तो कलम जसको नीब नभाँचिएको होस् ।’
यस्ता वाक्–पटुताका लागि सिपालु प्रेमचन्दको जन्म ३१ जुलाई, सन् १८८० मा बनारस सहरदेखि चार माइल टाढा लमही गाउँमा भएको थियो ।
निर्मला प्रेमचन्दको बहुचर्चित उपन्यास हो । यो भारतीय समाजको निम्नमध्यम वर्गीय परिवारको कथा हो । यो भारतीय समाजभित्र हुर्किरहेको रुढीवाद र त्यसबाट भारतीय नारीमाथि भएको उत्पीडनको कथा पनि हो ।
निर्मला उपन्यासमा प्रेमचन्दले भारतीय समाजमा रहेको दाइजो प्रथा र अनमेल बिबाहका कारण नारीहरूले भोग्नु परेका मानसिक दशा र नारी मनोविज्ञानको निकै मार्मिक ढङ्गले चित्रण गरेका छन् । निर्मला त्यो समाजको एउटा प्रतिनिधि चरित्र(पात्र) हुन् । यस्ता धेरै निर्मलाहरू जो आज पनि भारतीय समाजमा सामाजिक रुढीवाद र दाइजोको कारण पारिवारीक हिंसाको सिकार बन्न उत्तिकै बाध्य छन् । र उनीहरू सामाजिक उत्पीडन भोगिरहेका छन् ।
१९२७ को जनवरीमा किण्डल प्रकाशनबाट निर्मला उपन्यासको पहिलोपटक प्रकाशन भएको थियो । त्यसयता उपन्यासको दर्जनौँ संस्करण र लाखौँ प्रतिहरू बिक्री भइसकेका छन् ।
०००
पे्रमचन्दका बुबा अजायव राय हुलाकका एक साधारण कर्मचारी थिए । उनको बुबाको पुख्र्यौली जायजेथा थिएन । त्यसैले पनि प्रेमचन्दको परिवारको आर्थिक अवस्था उनको बुबाको तलबको सामान्य आम्दानीमा आश्रित थियो ।
आठ वर्षको कलिलो उमेरमा प्रेमचन्दले आफ्नी आमाको असामयिक निधन बेहोर्नु प¥यो । आमाको मृत्युले पे्रमचन्दको बाल्यावस्थामा एउटा गहिरो चोट त दियो नै, आमाको मृत्युको केही समय नबित्दै बुबाको दोस्रो विवाहले उनले जीवनमा धेरै विषम परिस्थितिहरू भोग्नु प¥यो । सौतेनी आमा दुष्ट स्वभावकी थिइन् । सौतेनी आमाबाट उनले वात्सल्यता पाउन सकेनन् । उनी कहिलेकाहीं भोकै रहन्थे । उनले कहिल्यै भनेजस्तो लाउन, खान पाएनन् । कान्छी स्वास्नीको छोराप्रतिको यो व्यवहारबाट उनका बुबा अजायव राय पनि सन्तुष्ट थिएनन् । र, उनको घरभित्र विस्तारै पारिवारीक कलह र बेमेलहरू सुरु भयो ।
प्रेमचन्द १५ वर्षको हुँदा बुबाले उनको विवाह गरिदिए । प्रेमचन्दको विवाह भएको अर्को साल उनको बुबाको मृत्यु भयो । बुबाको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी र आर्थिक बोझ प्रेमचन्दको काँधमा आइप¥यो । सौतेनी आमा, उनका दुई केटाकेटीहरू, श्रीमती र उनी स्वयंको खर्च जुटाउन उनलाई धौधौ पर्न थाल्यो । उनले ठूलो आर्थिक अभाव झेल्नु प¥यो ।
गरिबीले उनको अगाडि आएर अजिङ्गरलेझैँ मुख बाइरह्यो । अभावले विस्तारै उनको ढाँड हिर्काउन थाल्यो । परिवार पाल्न उनले ट्युशन पढाउनु प¥यो । उनी महिनाभरि ट्युशन पढाएर पाँच रुपैया कमाइ गर्थे । तीन रुपैया घरमा पठाउँथे र दुई रुपैया आफ्नो खर्चको लागि राख्थे । अभाव बढ्दै गएपछि उनले एकदिन आफूसँग भएको एउटा कोट र किताबहरू समेत बेच्नु प¥यो ।
प्रेमचन्दको इच्छा पढेर आफू एकदिन वकिल बनुँला भन्ने थियो । उनी पढ्नमा असाध्य सौखिन थिए । आफ्नो गाउँबाट नाङ्गै खुट्टा हिँडेर उनी पढ्नका लागि बनारस पुग्थे ।
बुबाको मृत्यु र घरको कमजोर आर्थिक अवस्थाले गर्दा उनले मैट्रिकपछि आफ्नो औपचारिक सरकारी शिक्षालाई अगाडि बढाउन सकेनन् । र उनी स्वअध्ययनमा लागे । उनीलाई सानैदेखि उर्दु भाषाको राम्रो दखल थियो । उनले उर्दु साहित्यको अध्ययन थाले । उनमा उर्दु उपन्यासहरू पढ्ने एउटा यस्तो उन्माद थियो कि दर्जनौँ उपन्यासहरू उनी महिनाभरिमै पढी सिध्याउँथे । यसबाट पनि उनको पढ्ने भोक र साहित्यप्रतिको रुचि र प्रभावलाई बुझ्न सकिन्थ्यो । उनले उर्दु भाषाका साहित्यकार सरुर मोलमा शार, रतननाथ, सरशार आदिका किताबहरू सिनित्तै पढेर सिध्याउँथे ।
उनकी श्रीमती उमेरले उनीभन्दा जेठी थिइन् । र, चोथाले थिइन् । रुखो स्वभावकी थिइन् । कसैलाई टेर्थिनन् । लोग्नेसँगको तिनको सम्बन्ध कहिल्यै प्रेमपूर्ण र सुमधुर रहेन । आफ्नो पहिलो विवाह बारे प्रेमचन्द यसरी लेख्छन्, ‘बुबाले जीवनको अन्तिम वर्षमा आएर एउटा यस्तो ठक्कर खाए कि आफू स्वयं त लडे लडे, साथमा मलाई समेत डुबाए । सुझबुझ नगरिकनै मेरो विवाह गरिदिए ।’
अन्ततः प्रेमचन्दको पहिलो बैवाहिक जीवन सुखद रहन सकेन । यही पारिवारीक कटुताका कारण सन् १९०५ मा उनले आफ्नी पहिली श्रीमतीलाई छोडपत्र दिए र यसै वर्षको अन्त्यतिर उनले शिवरानी देवीसँग दोस्रो विवाह गरे । शिवरानी देवी एक विधवा आइमाई थिइन् । शिवरानी देवीको शील, स्वभाव र व्यवहारसँग भने प्रेमचन्द सधैं नतमस्त रहन्थे । उनको लेख्ने कार्यलाई शिवरानी देवीले सधैं प्रेरणा र साथ दिइन् । जीवनको अन्तिम क्षणसम्म पनि शिवरानी देवी सँगै रहिन् ।
प्रेमचन्द जस्तोसुकै दुःखलाई पनि सहन सक्थे । दुःखमा उनी कहिल्यै आत्तिएनन् । दुःखमा पनि सजिलै हाँस्थे । उनी सधैं हँसिला देखिन्थे । ठट्यौली स्वभावका थिए । हाँसो, ठट्टा गरिरहन्थे । के बच्चा, के युवा, के वृद्धवृद्धा उनी सबैका साथीजस्ता थिए । सबैसँग उनको व्यवहार मित्रवत् रहन्थ्यो । उनीसँग सबै रमाउँथे । उनी सरल र उदारभावका थिए । त्यसैले गाउँमा उनको उत्तिकै सम्मान र लोकप्रियता थियो ।
उनी गाउँका जमिन्दार र सुदखोर व्यापारीहरूलाई सधै घृणा गर्थे । र, गरिब, असहाय र उत्पीडनमा परेकाहरूप्रति सहानुभूति राख्थे । उनका धेरै उपन्यास र कथाहरू ग्रामीण जीवनका यिनै पात्रहरूको चरित्र चित्रण गरेर लेखिएका छन् ।
विशेषतयाः समाजमा रहेका सिमान्तकृत र उत्पीडनमा रहेका वर्ग प्रेमचन्दको उपन्यास र कथाको मुख्य पात्र हुन्थ्यो । र, उनीहरूको मनोविज्ञानलाई सुन्दर ढङ्गले उनले आफ्ना उपन्यासमा प्रस्तुत गर्थे । निर्मला भारतीय समाजमा नारीहरूले भोगिरहेका विभेद र उत्पीडनको एउटा जीवन्त कथा हो ।
०००
प्रेमचन्दले १३ बर्षकै उमेरदेखि साहित्यिक लेख, रचनाहरू लेख्न सुरु गरेका थिए । सुरुमा उनले केही नाटकहरू लेखे । सन् १८९८ मा उनले उर्दु भाषामा पहिलो उपन्यास लेखे । यसै वर्ष उनले इतिहासलाई बिषयवस्तु बनाएर अर्को उपन्यास ‘रुठी रानी’ लेखे । सन् १९०५ मा उनको अर्को उपन्यास ‘प्रेमा’ प्रकाशनमा आयो । यसले उनलाई पुरै भारतभरि साहित्यकारको रूपमा स्थापित ग¥यो । यसरी उनको लेखन धाराप्रवाह रूपमा अगाडि बढिरह्यो ।
सन् १९०७ मा जब उनको कथा सङ्ग्रह ‘सोडो वतन’ प्रकाशनमा आयो, भारतलाई औपनिवेश बनाएर शासन गरिरहेका अङ्ग्रेज प्रशासकहरूका बीचमा हल्लीखल्ली मच्चियो । उनको यस कथा सङ्ग्रहभित्र पाँच वटा कथाहरू सङ्ग्रहीत थिए ।
‘सोडो वतन’ किताब लेख्दासम्म प्रेमचन्दले नवाव रायको नामबाट लेखिरहेका थिए । यो किताबभित्र अङ्गे्रज प्रशासकहरूले ठूलो विप्लब देख्यो । उनीमाथि राजनैतिक प्रचार गर्न खोजेको आरोप लाग्यो । नवाव रायको खोजी सुरु भयो ।
अङ्ग्रेज प्रशासनले उनी विरुद्ध वारेण्ट जारी गरे र उनलाई गिरफ्तार गरे । अङ्ग्रेजहरूले उक्त किताब जलाए र अब आइन्दा अङ्ग्रेजहरूको स्वीकृति नलिई किताब लेख्न र प्रकाशन गर्न नपाउने कागजात गराएर छाडिदिए । एककिसिमले उनको लेखनमाथि अङ्ग्रेजहरूबाट प्रतिबन्ध लगाइए ।
अङ्ग्रेजहरूको यस्तो दबाबले प्रेमचन्दको स्वाभिमानमाथि ठूलो आघात पा¥यो । उनको स्वाभिमानले आफूलाई एउटा मौनतामा चुपचाप बाँधेर अङ्ग्रेजहरूको यो दबाब र अत्याचारलाई सहिरहन मानेन ।
उनी आफ्नो सिर्जनालाई मर्न दिन चाहँदैनथे । उनी लेखिरहन चाहन्थे । यो दुबिधापूर्ण मानसिकताबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर एकदिन उनले आफ्ना मित्र दयानारायण निगमलाई पत्र लेखे र सुझाव मागे ।
दयानारायण निगमले नै उनलाई प्रेमचन्द नाम दिए र अब आइन्दा यसै गुप्त नामबाट आफ्ना रचनाहरू प्रकाशित गर्न सुझाव दिए । यही नाम उनको जीवन पर्यन्तसम्म रह्यो । यसरी धनपत राय, नवाव राय हुँदै सधैंका लागि उनी प्रेमचन्दको नामले प्रसिद्ध रहे ।
प्रेमचन्दले धेरै युगजनित कथा र उपन्यासहरू लेखे । निर्मला लगायत ‘सेवासदन’, ‘गोदान’, ‘कर्मभूमि’, ‘प्रेमाश्रम’, ‘कायाकल्प’ आदि उनका चर्चित उपन्यासहरू हुन् । उनका उपन्यासहरूमा आजभन्दा करिब दुईसय वर्षअघिको भारतीय समाजको पृष्ठभूमि पाइन्छ । र यी उपन्यासहरू अहिले पनि उत्तिकै समसामयिक र सान्दर्भिक छन् ।
उनका उपन्यासहरूमा समाजको यथार्थ पाइन्छ । उनी सामाजिक यथार्थवादी साहित्यकार हुन् । उनले सधै भारतीय समाजमा नारीहरू विरुद्ध रहेको कुरीतिहरूसँग लड्दै आइरहे । र, त्यसका विरुद्ध निरन्तर लेखिरहे ।
सन् १९३५ मा उनको ‘गोदान’ उपन्यास प्रकाशनमा आएपछि उनी एकाएक चर्चाको केन्द्रमा रहे । यो उपन्यासको प्रकाशनले उनलाई सामाजिक न्याय र समानताको लागि सधै पक्षपाती र विद्रोही साहित्यकारको रूपमा उभ्याइदिए । उनको ‘मङ्गलसुत्र’ उपन्यास भने अधुरो रह्यो । यही नै उनको अन्तिम कृति पनि रह्यो ।
सन् १९३६ मा प्रेमचन्द अचानक गम्भीर विरामी परे । कमजोर आर्थिक अवस्थाका कारण उनको राम्रोसँग उपचार हुन सकेन ।
विरामीको यस्तो अशक्त अवस्थामा पनि उनी एकदिन आफ्ना मित्र जैनेन्द्रसँग आफ्नो स्वास्थ्यबारे ठट्टा गरिरहेका थिए, ‘जैनेन्द्र, मान्छेहरू अक्सर यस्तो समयमा ईश्वरलाई सम्झन्छन् । र, उनीहरू मलाई पनि ईश्वर सम्झन भनिरहेका छन् । तर मलाई अझै पनि किन ईश्वरलाई कष्ट दिने आवश्यकता महसुस भइरहेको छैन ।’
जीवनसँग उनको अगाध आस्था थियो । तर पनि जीवनभरि आफूले पाएको दुःखका कारण ईश्वरप्रति उनले कहिल्यै आस्था राख्न सकेनन् । उनी अनिश्वरवादी रहे ।
र, उनले लेखे–
विपत्ति से बढकर
अनुभव सिकाने वाला विद्यालय
आजतक नहीं खुला ।
सन् १९३६ अक्टोबर ८ मा प्रेमचन्दको निधन भयो ।
(आँबुखैरेनी)