तिमी चुनावमा गएको बेला
जस्तो थियो मेरो गाउँ
त्यस्तै छ आज पनि
तिमी गाउँ नफर्किएको पनि बर्षौँ भैसकेछ
मलाई माफ गरे
तिमी आफैँ गाउँबाटै भयौ बेपत्ता
मेरी सानी अन्जान छोरीले च्यातिछिन् तिम्रो घोषणापत्र
भन्थ्यौ नि
असारे रोपाराको कछाडमा लत्पतिएका
हिलोजस्तै
यी गाउँलेका दुखहरु
फेरि नफर्किनेगरी धोएर पखालिदिन्छु ।
तिमी गाउँमा आयौ
सोझा गाउँलेलाई एक आपसमा लडायौ
र झन् दुख थपेर गयौ
आज भोलि त मर्दापर्दा पनि गाउँले आउन छाडे ।
उस्तै छ यो बाटो, जस्तो तिमीले भोट माग्ने बेला थियो
भर्खरै त्यो तारे भिरको सानो बाटोबाट लडेर
हर्के दाइको ज्यान गयो
पाँचओटा भैँसी खसे,
दुईटा बच्चाको लाश भेटिएन
तिमीले बाटोलाई बनाउँछु भन्ने घोषणा गरेकैले
त्यति शालीन बाटोले तिमीतिर फर्केरै
रिसले आफ्नो छाति च्यातेको छ
मौका पाए तिमीलाई नै उच्छिट्याउन तयार छ ।
निधार खुम्चाएका गैरी खेत
पानी नपाएर आँत सुकेका घरबारी
खडेरीले निलेका पाखाहरु
आज पनि बाँझै छन्
तिमीले सिँचाइ ल्याउँछु भनेर
घोषणा पत्रमा नक्सा कोरिएको बैरागी खोला
तिम्रो नाम लिँदा मात्रै
बौलाउँदै, रिसाउँदै र चिच्याउँदै ओरालो झर्छ ।
खोलाको पानी पिउँदा पिउँदा
गाउँलेहरु अकाल मृत्यु भएको देखेर
तिमीले नै भोट माग्दा
घरघरमा कलधारा ल्याउने नक्सा कोरेर
गाउँको बिच चौतारीमा झुण्ड्याएका थियौ
आज त्यो नक्सामा माकुरीले जाल बुनिसकेको छ
धमिराले प्वाँल पारिसकेको छ
नक्सामा कोरिएका रेखाहरुबाट
आवेगका लाभाहरु उठ्दैछन्
तर तिमी गाउँ फर्किएनौ ।
मेरो सानो छोरा तिमीले उद्घाटन गर्ने भनेको
सुविधासम्पन्न विद्यालय खोज्दैछ
तिम्रो घोषणापत्रमा
गाउँलेले प्रसुती गृह बनाउन
तिमीलाई निशुल्क दान गरेको जग्गामा
आज न स्वास्थ्य चौकी छ न खेतीपाती
गर्भिणी आमाहरु दाँयाँ हातको मुठीमा माटो लिएर
बाँयाँ हातलाई आफ्नै छातीमा बजार्दै
तिमीलाई सरापिरहिछिन्
तिमीले भाषणमा बोलेके उज्यालो बिजुली बत्ती हेर्न
हातमा दियालो बोकेर
उत्साहका साथ सडकमा दौडिरहेछन् स्कुले नानीहरु ।
तिमीले कृषि क्रान्ति गर्छु भनेको दिनदेखि
खुसीयाली मनाइरहेका थिए गाउँमा
हँसिया,कोदाली, सब्बल गैँची र बन्चराहरु
तर तिमी गाउँ नफर्किँदा
खियाका शिकार बनिसकेका छन् सबै हतियारहरु
माफ गरे मलाई
तिमी आफैँ गाउँबाट हुँदा बेपत्ता
मेरी सानी अन्जान छोरीले च्यातिछन् तिम्रो घोषणापत्र ।