सानै थिएँ, कति वर्षको थिएँ अहिले सम्झन सक्दिनँ ।
आङमा गतिलो लुगा र खुट्टामा जुत्ता–चप्पल थिएनन् । स्कूल जान्थेँ तर पढ्नभन्दा खेल्न मन पराउँथेँ । बुवा–आमा खेत बारीमा काम गर्न जानुहुन्थ्यो । जेठो छोरो भएको हुनाले घरको हेरचाह र भाइबहिनीहरूको धरालो गर्नु पथ्र्यो । धेरै समय घरधन्दामै बित्थ्यो ।
भर्खर चराको फुलबाट बाहिर निस्केका बचराजस्ता भाइ–बहिनीहरूको धरालो गर्नु सजिलो काम थिएन । आफै केटाकेटी त्योमाथि धरालो, दिक्क लाग्थ्यो । भाइ–बहिनीहरूले बेला–कुबेला आची गर्थे । आची देख्नासाथ चार हात पर भाग्न मन लाग्थ्यो तर भागेरकहाँ जानु ?आमा नभएको बेला त्यो सबै काम आफैले गर्नु पथ्र्यो । आची सफा गर्दा हातमा लाग्यो भने निकै घिन लाग्थ्यो । माटोमा रगडीरगडी धुँदा पनि सिकसिको लाग्न छोड्दैनथ्यो । साँझ त्यै हातले खाना खानपनि मन लाग्दैनथ्यो ।
ढाडमा बोकेको बेला भाइ–बहिनीहरूले पिसाब फेर्थे । पछाडिको पूरै शरीर र खुट्टासम्मै भिज्थ्यो । त्यो बेला निकै रिस उठ्थ्यो । बोकेको भाइलाई भैँमा पछारुँ कि जस्तो लाग्थ्यो । तर पछार्न चाहिँ कहिल्यै पछारिनँ । सधैँभरि माया गरिरहेँ ।
एकदिन भाइ–बहिनीहरूसँगै आँगनमा खेलिरहेको थिएँ । बुवा आमा पिँडीमा बसेर कुराकानी गरिरहनु भएको थियो । आँगनमा खेल्दै बुबा आमाले गरेका कुरा सुनिरहेको थिएँ । त्यस्तैमा बुबाले भन्नुभयो, “डिलेको ब्या हुने भयो । केटी छिने रे । छिटै विहे गर्ने भनेका छन् ।”
डिलाराम मेरा साख्खै माइला बुबाका माइला छोरा भएका हुनाले मैले उहाँलाई दाइ भन्नु पथ्र्यो । बुबाले मतिर हेर्दै अगाडि थप्नुभयो, “एउटै घर, यसलाई पनि जन्त जान भन्लान् । लुगा छैनन्,एक जोर लुगा सिलाउनु पर्ने हो कि !”
“दाइको ब्या गर्ने भएपछि यसलाई जन्त नलाने त कुरै हुन्न नि । पछि ब्या ढिप्किएपछि गाह्रो हुन्छ । दमाईले भनेका बेलामा सिलाइदिँदैन, छिटो गर्नु परो ।” आमाले एकै सासमा आफ्नो विचार व्यक्त गर्नुभयो ।
“अँ, छिटै गर्नु पर्ला ।” बुबाले भन्नुभयो ।
जन्त जाने कुरा सुनेपछि विवाह गर्ने डिलाराम दाइभन्दा बढी म खुसी भएँ । जीवनमा पहिलोचोटि जन्त जाने अवसर आएको हुँदा मैले आफूलाई भाग्यमानी ठानेँ । खुसीले हावाजस्तै उड्न लाग्यो मन । त्यो खुसीलाई मनभित्र सिमित राख्नुभन्दा साथीभाइहरूलाई सुनाउन उत्सुक भएँ ।
खेल्दाखेल्दै घरबाट फुत्त बाहिर निस्केँ र साथीहरू भएका ठाउँमा गएँ । त्यो खुसी पालैपालो सबै साथीहरूलाई सुनाएँ ।
“देखिस्, डिलाराम दाइको ब्या हुनेभयो, म जन्त जाने भएँ । आहा क्या मजा !बुबासँगै जन्त जान्छु । मासु र भात खान्छु । गुरुमगुरुम बाजा बजाउँदै जन्त जाँदा कम्ती मजा हुन्न्न होला ।”
त्यो बेला जन्त जाने कुरा सबैको रहरको विषय हुन्थ्यो । मेरो कुरा सुनेपछि मेरा साथीहरू सबैले मुख मिठाए । एकोहोरिएर मलाई हेरिरहे । कतिले त मेरो आहरिस पनि गरे । आफूहरू जन्त जान नपाएकोमा पछुतो माने ।
अर्को दिन बुबाले कपडा किनेर ल्याउनु भयो । बुबासँगै आफर इस्माली दमैका घरमा गएँ । दमै दाइका घरमा बसेर सिलाउने हाते कल थियो । त्यसै कलले गाउँभरिका लुगा सिलाउँथे । सबैका लुगा सिलाउनु पर्ने भएकोले नभ्याएर होला दशैमा दिएको लुगा तिहारसम्म पनि दिँदैनथे । एउटा लुगा सिलाउन बीसौँचोटि जानुपथ्र्यो । अहिले पनि त्यस्तै गर्ने हुन् की भन्ने पिरलो लागिरहेको थियो मनमा ।
दमाई दाइले मेरा हात, खुट्टा, भुँडी सबैतिर रिठ्ठो नबिराई नापे । उनले नापुन्जेल म लामो लामो सास तान्दै र नाकबाट बगेको सिगानलाई भित्रै दबाउँदै नचली उभिइरहेँ । त्यो बेला फित्ताले नाप्ने र कलमले लेख्ने चलन थिएन । उनले कहिले अगाडि, कहिले पछाडि, कहिले तल, कहिले माथि नापेर हामीले लगेको कपडामा एउटा खरी ढुङ्गाले चिनो लगाउँदै गए ।
“चिटक्क बनाइदिनु है, फेरि बिगारौला नि ! महङ्गो कपडा हो ।” बुबाले भन्नुभयो ।
“किन बिगार्थेँ, दुलाहाले लाउनेजस्तो बनाइदिन्छु ।” दमै दाइले विश्वास दिलाए । नाँपजाँचको काम सकिएपछि सिगान तान्दै बासँगै घर फर्केँ ।
घर आएपछि बुबाले आमासँग भन्नुभयो, “केटाकेटी मान्छे जुत्ता त किन चाहिएलान् र ? दोकानमा यसलाई मिल्ने जुत्ता रहेनछन् । त्यत्तिका लागि तमास (तमघास) के जानु र !”
“पर्दैन । टोपी छँदै छ, त्यै धोइदिउँला । दौरा सुरुवाल भएपछि भइहाल्छ । कल्ले हेर्छ र खुट्टातिर । अरु ठूला मान्छे त खाली खुट्टा जान्छन् । यो त झन् केटाकेटी हो ।” आमाले बुबाको कुरामा सहमति जनाउँनु भयो । जुत्ता लगाउन नपाउने भएपछि म खिस्रिक्क परेँ ।
जन्त जाने दिन आउन १५ दिन बाँकी थिए । मलाई छटपटी भइरहेको थियो । अरुका विवाहमा गुरुमगुरुम बाजा बजाएको, कर्नाल र निर्सियाँ फुकेको, बाजाका तालमा छमछमी नाचेको देखेको थिएँ । जन्तीहरूले बारीमा बसेर मासु र भात खाएको देखेर घुटुक्क थुक निलेको थिएँ ।
त्यस्तै दृश्यहरू मेरा अगाडि नाँच्न थालेका थिए । त्यसपछि मैले राति सुतेको बेलामा पनि जन्त गएकै सपना देख्न थालेको थिएँ ।
चार–पाँच दिनपछि दौरा सुरुवाल तयार भए । बुबाकै उपस्थितिमा लगाएर हेरेँ । शरीरमा टिपिक्क भयो ।
“कस्तो सुहायो ।” आमाले भन्नु भयो । “कस्तो दुलाहा जस्तै देखियो ।” हाँस्दै बुबाले थप्नुभयो ।
“अलि सानै छ, नत्र यसलाई पनि दुलाहा बनाउन हुन्थ्यो ।” आमाको कुरा सुनेर म लाजले भुतुक्कै भएँ ।
म नयाँ लुगा लगाएर एकचोटि गाउँ परिक्रमा गर्ने र सबै साथीहरूलाई देखाउने पक्षमा थिएँ तर बुबाले अनुमति दिनु भएन । “मैलिन्छन् फुकाल ।” बुवाको कुरा सुनेर मेरा दाँतमा ढुङ्गा लागेझैँ भयो । बुबाका सामु बढी जिद्दी गर्न पनि सकिनँ । खुरुक्क लुगा फुकालेँ र प्वाँख नभएको चराको बचरोजस्तै भएँ ।
नयाँ लुगा सिलाएपछि झन्झन् मेरो मन हावामा उड्न थाल्यो । साथीहरूसँग गर्ने गफको स्तरबढ्दै जान थाल्यो । मैले आफूलाई केटाकेटीहरूको राजा ठान्न थालेँ ।
जन्त जाने दिन पर्सि थियो । आमाले सिरक डसनाका खोल लगायतधुनुपर्ने सबै लुगा एकै ठाउँमा जम्मा गर्नुभयो र ठूलोताउलोमा खरानी हालेर भकभकी आगोमा भकभकी पकाउनुभयो । त्यो बेला त्यस्तै चलन थियो । साबुनको चलन थिएन । खरानीमा पकाएर लुगा धुने र रातो माटो, खली (पिना) वा रिठाका गेडाले कपाल नुहाउने चलन थियो । ताउलामा भकभकी पाकेका लुगा तल काफलपानीका पँधेरामा लगेर मुग्राले बेस्कन कुटेर धुनु भयो । घर लिपेर सफा पार्नुभयो । बुबाले आफ्नो झुसे दाह्री कटाएर चिटिक्क पर्नु भयो । मानौ विवाह हाम्रै घरमा हुँदै छ र त्यसका मुख्य पात्र हामी नै हौँ भनेजस्तो गरी तयारी भइरह्यो ।
बुबा बिहान सबेरै उठेर विवाह घरमा जानुहुन्थ्यो र राति अबेर घर फर्कनु हुन्थ्यो । “गएन भने यस्तो बेलामा पनि सहयोग गरेन भन्छन्” भन्ने धारणा थियो बुबाको । त्यसैले घरको सबै काम छोडेर त्यतै लाग्नु हुन्थ्यो ।
“कति लामो बाटो होला, हिँड्न त सकुँला नि ! नसके बुबाले बोक्नु होला । मजस्ता अरु केटाहरूहुँदैनन् होला । म एक्लै पर्ने भएँ । भात खाँदा थालमा देलान् कि टपरीमा ? घिउ पनि देलान् कि ! मासु कति दिने हुन् ? हाड र छाला मात्रै दिए भने चौपट । त्यो कुरा त बुबाले पनि ख्याल गर्नु होला नि । एक रात त उतै बस्नु पर्छ रे ! दिशा पिसाब जाँदा सुरुवालको इजारमा गाँठो परेर हैरान हुने हो कि !” यस्ता अनगिन्ती कुराहरू खेलिरहे मनमा । दिनमा कल्पना र निदमा सपनाको संसारमा रमाउन थालेँ ।
जन्त जाने अघिल्लो दिन बुबा अलि छिटै घर आउनुभयो । अरु दिनभन्दा त्यो दिन बुबाको अनुहार निरास र मलिन देखियो । आमा र म सँगै थियौँ । नजिकै आएपछि मतिर देखाउँदै बुबाले भन्नुभयो, “यसलाई नलाने भने । थोरै जन्ती जाने रे, त्यसमा यो परेन !”
त्यसपछि बुबाले लामो सास फेर्नुभयो ।
बसेको जमिन भासिएजस्तै भयो । आमाले “ए……….” भनेर लामो लेग्रो तान्नुभयो र थप्नुभयो, “थै, कस्तो रहर गरेको थियो । त्यत्रो खर्च गरेर कपडा सिलाइयो, सबै बेकार भयो ।” क्षणभर रोकिएर फेरि भन्नु भयो, “थुक्क !”
म केही बोलिनँ । मसँग बोल्ने कुरा पो के थियो र !
यसरी जीवनमा पहिलोचोटि आएको अवसर गुम्यो । कैयौँ दिनसम्म मैले साथीहरूका सामू मुख देखाउन सकिनँ । खेल्न पनि गइनँ ।
०००
दोस्रोचोटि जन्त जाने अवसर आउँदा म ठूलै भइसकेको थिएँ, अर्थात् त्यतिसाह्रो केटाकेटी थिइनँ ।
मेरै छिमेकीको विवाह हुने भयो ।
दुलाहा हुने व्यक्तिको उमेर मेरोभन्दा केही बढी थियो । नाताले उहाँ मेरा भान्जा पर्ने भए पनि अरु कुराले हामी साथीसाथी थियौँ । सँगै पढ्ने, सँगै खेल्ने र सँगै वनपात जाने गरेर हुर्केका थियौँ । हामी दुवैका बिचमा राम्रो मित्रता थियो । उहाँ मलाई औधी माया गर्नुहुन्थ्यो । म आदर गर्थेँ । बिहानदेखि साँझसम्म धेरै समय हामी सँगसँगै हुन्थ्यौँ ।
उहाँको विवाह हुने कुरा सुनेर म खुसी भएँ । यो कुरा आमालाई पनि सुनाएँ ।
त्यो बेला बुबा घरमा हुनुहुन्नथ्यो । रोलक्रमले बुबापछि जन्त जाने पालो मेरै थियो । भान्जाको विवाहको कुरा छिनिएपछि फेरि हुटहुटी सुरु भयो । बुबाको अनुपस्थितिमा रिनधन लगायतका काम मैले नै हेर्नुपथ्र्यो । विवाहका विषयमा आमा छोराले छलफल ग¥यौँ ।
“पक्कै जन्त जान भन्छन् । लुगाफाटोको व्यवस्था गर्नुपर्छ ।” आमाले भन्नु भयो ।
पहिलेको तुलनामा म त्यति उत्साहित भइनँ । किनभने उबेला म सानो थिएँ । सबै जोहो बुबाले गर्नु हुन्थ्यो । बुबाको अनुपस्थितिका कारण यसचोटि सबै काम आफैले गर्नुपथ्र्यो । ऋण–धन के हो भन्ने कुरा बुझिसकेको थिएँ । तैपनि तयारी गर्नु जरुरी थियो, त्यसैले आमा र मेरो सल्लाहाअनुसार सबै तयारी पूरा गरेँ ।
विवाहको दिन नजिक नजिक आइरहेको थियो । विवाह घर भनेपछि अनेकौँ तयारी गर्नुपथ्र्यो । परिआएको काममा आफूसक्दो सगाइरहेको थिएँ । धान कुट्ने, चिउरा कुट्ने, कसार बटार्ने, टपरी फुट्ने, घर लिप्ने आदि काम तीव्रताका साथ भइरहको थियो ।
अर्को अचम्म भयो पर्सि जन्त जाने दिन थियो, आज साझसम्म पनि कुनै निम्ता आएन ।
“सधैं भेट भइरहने र भोलि भने पनि हुन्छ भनेर पो हो कि ।” आमाले भन्नुभयो ।
“भन्नै पर्ने हो !” आमाले आफ्नो तर्क राख्नुभयो । मलाई पनि भोलिसम्म भन्छन् कि भन्ने आश लागेको थियो तर हामीले गरेको आशाले मुर्त रुप लिन सकेन । उज्यालो भएपछि भोलि आज भयो, घाम झुल्किए, माथि आए, पश्चिमतिर लागे र कोटको नेटो काटेर अलप भए तर कुनै निम्तो आएन ।
सूर्य अस्ताएर धर्तीमा अँध्यारो भएजस्तै मेरो मनमा पनि अँध्यारो बढ्दै गयो । दोस्रोचोटि पनि म जन्त जान पाइनँ ।
दिन बित्दै गए । मेरो जीवनमा जन्त जान जुरेको रहेनछ भन्ने कुरा मीनासँग ‘लभ म्यारिज’ भएपछि पो चाल पाएँ । आफ्नै जन्त जान नपाउनेले व्यक्तिले अर्काको विहेमा जन्त जाने रहर किन गर्नु !
मैलेजस्तै ‘लभ म्यारिज’ गरेनन् भने छोराहरूको विवाहमा सम्धी भएर जन्त जाउँला नि कसो !
(२०६९)