सुन्दरबजारबाट गैडाकोट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हो शिवराम र अनिताको प्रेम बढेको । डुम्रे, आँबुखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बोल्न सुरु गरेका थिए ।
समान्य परिचय, बोलचाल र फोन नम्बर साटासाट गरेर सुरु गरेको सम्बन्धले बा-आमालाई ढाँटेर कहिले काठमाडौं, कहिले लुम्बिनी त कहिले इलामसम्म घुम्न जान सक्ने बनाएको थियो ।
यौवनले भरिएका, भविष्यको सपनाले सजिएका ऊर्जाशील दुवै जनाको प्रेम प्रगाढ र रसरङ्गपूर्ण थियो । अनितालाई बा-आमाले केटा खोजेको कुराले मात्र नभएर शिवकुमार वैवाहिक जीवन सम्हालिसक्ने बेला नपुगेकाले झन् तनाव बढेको थियो । सम्बन्धलाई बिट मार्न नसके पनि परिस्थितिसँगै अघि बढ्ने निर्णय गरी बा-आमाले देखाएको केटोसँग बिहे गर्ने निर्णय भयो ।
संयोग नै भन्नुपर्छ, केटाकेटीका टीका-टाला गर्ने दिन शिवकुमारलाई पत्तो भयो अनिता आफ्नै दाइको भाग्यमा परेकी रहिछिन् । उसले भोलिपल्ट फोन गर्यो, “अनिता, भाग्यको यो के लेखा हो ? हामीलाई झन् पीडा दिँदै छ समयले” उसले घ्याँक्क घ्याँक्क रुँदै भन्यो । अवाक् अनिताले रसिलो स्वरमा सम्झाउँदै भनिन्,” चिन्ता नगर शिवराम, तिम्रा दाइ, बिहेको ६-७ दिनमै खाडी जान्छन् रे ।”
(न्युजिल्याण्ड)