‘आज दिनभर मोनोरेल, रेल, स्काइ बस र पैदल यात्रा हुने छ ।’ टोकियो स्टेशनबाट बाहिरिदै गर्दा जापान निवासी गजलकार गिरिजा गैरेले सुनाए । प्रा. रामकुमार पाँडे र मलाई धितमरुञ्जेल टोकियो घुमाउने उनले योजना बनाएका रहेछन् ।
जापान सपनाको देश हो । रहश्यमयी भूमि हो । त्यस देशमा रहेको संसारको सबैभन्दा ठूलो महानगर टोकियोको चक्कर काट्न पाइने अवसरमा खुसी बनेको थिएँ । एक दिनमै चारवटा माध्यमबाट हुन लागेको यात्रा सम्झिल्याउँदा रोमाञ्चित बनेँ । त्यसमा पनि जीवनमा पहिलो पटक हुने मोनोरेल यात्राले बेग्लै खालको कौतुहलता र उत्सुकता थपिसकेको थियो । मोनोरेल केही वर्षदेखि नेपाली जनतालाई नेताहरूले देखाएको सपना हो । नेताले देखाएको सपनामा यात्रा गरेर भरपुर आनन्द लिने सपना पो देख्न थालेँ ।
मोनोरेल चढ्नुभन्दा पहिले स्काइ बसबाट टोकियोको एक चक्कर लगाउने योजना बन्यो । गिरिजाले स्काइ बसको टिकट ल्याए । हामी बसको माथिल्लो तलाको सिटमा बस्यौँ । चरक्क घाम लागेको थियो । गर्मीले पो पेल्ने हो कि भन्ने त्रासले मन पोल्न थाल्यो । खुल्ला छत भएको स्काइ बस दौडिन थालेपछि बेवारिसे हावाले स्पर्श गर्न थाल्यो । गर्मीको सास्ती खेप्नु नपर्दा शरिर चङ्गा भयो ।
टोकियोको सडकमा बस दुगुरिरहेको थियो गुरुरु… । बसभन्दा छिट्छिटो मेरा आँखाहरू चार दिशामा दौडिरहेका थिए । आधुनिक सहर टोकियोका गगनचुम्बी भवनहरू पछाडि नै छुटे । देखियो जापानी सम्राटको दरबार ‘इम्पेरियल प्यालेस ।’ बस त्यहाँ रोकियो । कंक्रिटको जङ्गलबीचमा इम्पेरियल प्यालेसको हरियाली देख्दा आँखाले सन्चो मान्यो । मन भयो हराभरा ।
सयौँ वर्ष पुराना सल्लाका रुखहरूले राजदरबारलाई सिंगारेजस्तो देखिन्थ्यो । तिनको उपस्थितिले त्यहाँ अनुपम सुन्दरता थपेको थियो । केही वर्ष अघि त्यही दरबार अगाडि साकुरा फुलेको मनोरम दृश्य टिभीमा देखेको थिएँ । बसन्तमा मात्र फुल्ने साकुरा फुल्न अझै सात महिना बाँकी नै थियो । साकुरा फुलेको दृश्य खोज्दै दौडिएका मेरा नयनले हरियालीमा चित्त बुझाए ।
बसले दरबारको दाहिने तर्फ चक्कर लगाउन थाल्यो । वरिपरि नदीले घेरेको अलि अग्लो स्थानमा अवस्थित थियो दरबार। सानो क्षेत्रफलमा रहेको उक्त दरबारसहरको माझमा रहेको सानो टापुजस्तो देखिन्थ्यो । दरबारप्रवेश गर्न पुल तर्नु पर्दथ्यो । बाहिरको गतिविधि नियाल्न, सम्राट र दरबारको सुरक्षाका लागि रणनितिक हिसाबले त्यसरी निमार्ण गरिएको होला भनेर अनुमान गरेँ ।
नेपालको नारायणहिटी दरबारको समेत भ्रमण गरेका गिरिजालाई सहरको मध्य भागमा रहेको इम्पेरियल प्यालेस मन परेछ । धेरै पटक इम्पेरियल प्यालेस पुगेका गिरिजाले दौडिरहेको स्काइ बसबाटै नेपालसँग तुलना गर्दै भने, ‘यहाँको दरबार वरिपरिको वातावरण सौन्दर्यमय छ । तर नेपालमा त्यस्तो छैन । नारायणहिटी दरबारलाई पनि पर्यटकलाई आकर्षण गर्ने हिसाबले बनाउनु पर्दछ । राजदरबार पनि एउटा राम्रो पर्यटकिय स्थल हो ।’
वास्तवमा मैले विभिन्न देशको भ्रमणको क्रममा वर्तमान र भूतपूर्व राजाका दरबार घुमेको छु । ती दरबारले राजावादी र गणतन्त्रवादी दुबै खालका पर्यटक तानेको देखेको छु । तर नेपालको नाराणहिटी दरबार र गोरखा दरबारमा अलिकति सिँगारपटार गर्नुपर्ने जस्ता सामान्य कुरामा सरकारले ध्यान दिन नसकेको देख्दा दुःख लाग्छ ।
इम्पेरियल प्यालेसलाई छाडेर बस हिविया चौराहामा पुग्यो । संयोग कस्तो पर्यो भने ऐतिहासिक स्थानमा रातो बत्तीमा बस रोकिएको थियो । जापानमा पहिलो पटक ट्राफिक लाइट त्यही हिबियामा राखिएको थियो । उतिबेला राखिएको ट्राफिक लाइट कस्तो थियो ? त्यसलाई म्युजियममा राखिएको छ कि नष्ट भएर गयो ? थाहा छैन । तर त्यो ऐतिहासिक स्थल अगाडि हामी चढेको बसले ट्राफिक लाइटको संकेत पर्खिरहेको थियो । त्यहाँ एउटा गजबको संयोग जुरेको थियो । इतिहासका यस्तै ससाना कुरामा म खोज्दै हिँड्छु । यस्तै कुरामा आनन्दित हुने गर्दछु ।
इतिहासतिर दौडिरहेको मन घ्याच्च बस रोकिएपछि वर्तमानमै फर्कियो । यसो नजर लगाउँछु, डायट भनिने जापानको संसद भवन नजिकै बस रोकिएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति नियम बनाइने जापानी संसदको दुबै सदन सोही भवन भित्र छ । भित्र गएर मलाई केही बुझ्नु थिएन । नजिकबाटै हेरेर चित्त बुझाएँ । फेरि बस दौडिन थाल्यो ।
बाटो छेउमा एउटा सिन्तो मन्दिर देखियो । जापानमा सिन्तो धर्मलाई छैठौँ शताब्दीमा प्रवेश गरेको बुद्ध धर्मले विस्थापित गरिसक्यो । नेपालमा हिन्दूले बुद्धलाई पुजा गरेजस्तै जापानमा पनि बुद्ध र सिन्तो दुबै मान्नेहरू थुप्रै छ । कट्टर सिन्तो धर्मावलम्बीहरू पनि छन् । प्राचीन सिन्तो मन्दिरलाई जापानमा संरक्षण गरिएको छ । आतागो जिन्जा नामक प्राचीन सिन्तो मन्दिरलाई बसबाटै नमन गरेँ ।
काबुकी–जा थिएटर छेउबाट विस्तारै बस अगाडि बढ्यो । मेरो इच्छा पछाडि छुट्यो । एक सय तीस वर्ष अघि बनेको जापानको त्यस प्रसिद्ध थिएटरमा काबुकी नामक परम्परागत जापानी नृत्य नाटक देखाइन्छ । त्यो नाटक हेर्नैका लागि विदेशी पर्यटकहरू आउने गर्दछन् । त्यस ऐतिहासिक थिएटरमा गत वर्षको जापान भ्रमणको बेलामा जाने इच्छा हुँदाहुँदै जान सकिनँ । फेरि यस पटक पनि समय अभावका कारण छुट्ने भो । मन खिन्न बन्यो ।
आधुनिकताले भरिएको गिन्जा क्षेत्रमा प्रवेश गरेपछि मनमा खुसी फर्कियो । अत्याधुनिक गिन्जाको चमकदमकले ध्यान तान्यो । मानिसका भीडभाडमा देखिएका जापानी सुन्दरीहरूले मेरो मन जिते । ग्लामरले भरिएको गिन्जामा मेरा नजर नाच्न थाले ।
गिन्जा जापानको महत्वपूर्ण सपिङ सेन्टर हो । चल्तीको व्यापारिक स्थल हो । त्यहाँ रहेका संसारभरका महँगा र ब्रान्डेड कपडा, महँगा ज्वलरी, इलोक्ट्रिोनिक्स पसल, उत्कृष्ट जापानी रेष्टुरेण्ट, नाइट क्लब आदिलाई बसको छतबाटै दृष्टि दौडाएँ । उत्रेर गिन्जाका पसलमा चाहार्ने मन थियो । तर गोजी कमजोर थियो । एकदमै महँगो गिन्जामा उत्रेर घुटुक्क थुक निल्न के जानू भनेर चित्त बुझाएँ । संसारमा सबैभन्दा महँगो जमिन भएको स्थान गिन्जालाई मानिन्छ ।
एक घण्टामा हामीले बसबाट टोकियोको महत्वपूर्ण स्थानको चक्कर लगाइसकेका थियौँ । बसको अन्तिम गन्तब्य भने पनि सुरुवातको स्थान भने पनि त्यहाँ पुगेर बस रोकियो । अरु यात्रीसँगै हामी पनि उत्रियौँ । र दिउँसोको लन्च खानका लागि जापानी रेष्टुरेण्टमा गयौँ ।
इम्पेरियल प्यालेसलाई बसको छतबाट हेरेर चित्त बुझेकै थिएन । लन्च खाइसकेपछि त्यता जाने भयौं । गिरिजा अघि लागे हामी उनलाई पछ्याउन थाल्यौँ । मनभरि स्काइ बसको यात्रामा देखिएका दृश्यहरू सलबलाई रहेका थिए । करिव दश मिनेट गोडा चालेपछि दरबारको मुख्य प्रवेश गेट अगाडि पुग्यौँ । त्यहाँ पुग्दा त गेट बन्द पो थियो ! मन खिस्रिक्क भयो ।
हामी अलिकति ढिला पुगेकोले विहानको अवलोकन समय समाप्त भएको रहेछ । दिउँसोको अवलोकनका लागि गेट खुल्न अझै दुई घण्टा कुर्नु पर्ने भयो । दुई घण्टा तातो घाममा पर्खने साहस हामीसँग थिएन । त्यसमा पनि अरुतिर पनि घुम्ने योजना थियो ।
भित्र पुगेर अवलोकन गर्ने धोको पुरा नभए पनि दरबारप्रवेश गर्ने अर्को गेटबाट भित्र प्रवेश गरेर केही अंश हेर्ने अवसर मिल्यो । सम्राटको राजदरबारलाई नजिकैबाट हेरेर चित्त बुझाएँ । त्यसपछि हामी मोनोरेल चढ्नका लागि फर्कियौँ ।
दरबार हेरेर आएकोले होला बाटोमा राजाकै बारेमा कुरा भए । विद्यार्थी हुँदा राजा फाल्ने आन्दोलनमा लागेका उति बेलाका गणतन्त्रवादी गिरिजा पछुताउँदै थिए । ‘बेकारमा गणतन्त्रका लागि आन्दोलनमा लागिएछ ।’
‘किन यस्तो पश्चताप ?’ मैले सोधेँ ।
‘एउटा परम्परागत राजा फाल्यौं । तर अहिले धेरै नयाँ राजाहरू जन्मिए । जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् ।’ गिरिजाले आफ्नो मात्र होइन नेपाली जनताको असन्तुष्टि मिसाएर पोखे जस्तो लाग्यो ।
उनको कुरा सकिने बित्तिकै पाँडे सरले थपे, ‘नेपालमा अहिले रानोको अभाव छ । सबैतिर ब्रम्हलुट छ । नेपालको समृद्धि चाहाने हो भने राजा अपरिहार्य छ ।’
‘जापान र बेलायतको जस्तो राजसंस्था भए पो नेपालको राजाको समर्थन गर्नू । नेपालका राजा कस्ता थिए भन्ने कुरा जगजाहेरै छ । गणतन्त्रमा देखिएका बिकृतीहरू सुधार्दै जानु पर्दछ । गणतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन ।’ मेरो मनमा यस्ता विचार उठे पनि व्यक्त गरिनँ । कुनै तर्क नगरी तिनका कुरा सुनिरहेँ ।
राजा लगायत समसामयिक विषयका कुरा र हाम्रा पाइलासँगसँगै रेल स्टेशनतिर चलिरहे । मोनोरेलको स्टेशन शिम्बासीसम्म पुग्नका लागि अर्को रेल चढ्यौँ ।
मोनोरेल वास्तवमा सहरी रेल हो । यो एउटै दिशामा अगाडि बढ्छ र रेलजस्तो यसले लिक बदल्दैन । यो अन्य रेल जस्तै जमिन माथि चल्ने वा पिलरमाथि राखिएको बीममा झुण्डिएर चल्ने पनि हुन्छ । मोनोरेल सहरका लागि एकदम उपयोगी यातायातको साधन हो । यसको निर्माण लागत र संचालन खर्च कम हुन्छ । छोटो समयमा निर्माण कार्य सम्पन्न हुनाले सहरी क्षेत्रमा उपयुक्त छ । रेललेजस्तै डिब्बा लिएर चल्ने हुँदा एकैपटकमा धेरै यात्रु ओसार्ने यातायातको भरपर्दो साधन हो । यही कारणले मोनोरेल सहरी क्षेत्रको आवश्यकता बनेको छ ।
शिम्बाशी स्टेशनमा भुइँमा घिस्रिदै ड्राइभर बिनाको मोनोरेल हाम्रो अगाडि आएर रोकियो । निर्धारित समयमा चल्ने, ठाउँठाउँमा रहेका स्टेशनमा यात्रु ओराल्न र चढाउन आफै रोकिने भरपर्दो तथा सुरक्षित मोनोरेलको ढोका आफै खुल्यो । हामी अघिल्लो ढोकाबाट प्रवेश गर्यौं । र हत्तनपत्त सबै भन्दा अगाडि पट्टिको सिट ओगटी हाल्यौँ । यदि ड्राइभरले चलाउने रेल हुन्थ्यो भने हामी बसेको सिटमा ड्राइभर हुन्थे ।
रेल क्रमशः अघि बढ्दै तिब्र गतिमा दौडन थाल्यो । मलाई अलिक असजिलो महशुस हुन थाल्यो । के नमिले जस्तो लागिरह्यो । ड्राइभर हुनुपर्ने ठाउँमा म, पाँडे सर र गिरिजा बसेका थियौँ । वास्तवमा ड्राइभर नभएकोले नै मलाई असजिलो लागेको रहेछ ।
‘ड्राइभर नभएको रेल चढ्दा डर त लागेको छैन सर ?’ पाँडे सरलाई जिस्काएँ ।
‘छैन ।’ पाँडे सरको छोटो जवाफ थियो ।
अध्ययनले देखाए अनुसार ड्राइभरबिनाको रेलमा भन्दा ड्राइभरले चलाउने रेलमा मानवीय त्रुटीका कारण बढी दुर्घटना हुने गरेको पाइएको छ । सोही कुरालाई मध्य नजर राखेर थप सुरक्षित प्रविधिको परिक्षण भइरहको छ । गाडी निर्माताहरूले पनि ड्राइभरबिना चल्ने कारका परिक्षण गरिसकेका छन् । अबको केही वर्षपछि सडकमा ड्राइभरबिना चल्ने कार, बस र ट्रक दौडने निश्चित छ । त्यस्ता यातायातका साधनबाट दुर्घटना र जनधनको क्षति अत्यन्त न्यून हुने कुरा वैज्ञानिकहरूले बताएका छन् ।
‘यदि ड्राइभरबिना चल्ने कार बजारमा आयो भने पुरानो कार बेचेर नयाँ कार किन्नु पर्ला । कारबाट अफिस जाँदा र फर्किदा बाटामा पुस्तक पढेर समय सदुपयोग गर्नुपर्ला ।’ दौडिरहेको मोनोरेलमा दिउँसै सपना पो देख्न थालेँ ।
रेल ठाउँठाउँमा रहेको स्टेशनमा रोकिन्थ्यो । उकालो, ओरालो र टोकियो बेको किनारा हुँदै र बेस्सरी दौडिन्थ्यो । ओरालोमा मोनोरेल दौडदा रोलर कोस्टरमा बसेजस्तो रोमाञ्चक अनुभूति भयो । अग्ला भवनहरूको बीचबाट दौडदा कंक्रिटको जङ्गलमा प्रवेश गरेजस्तो, निस्सासिएजस्तो लाग्यो ।
एकछिनपछि अलिक खुला ठाउँ ओदाइबा स्टेशन नजिकैबाट मोनोरेल दौडिन थाल्यो ।
‘अहो, स्टाचु अफ लिबर्टी !’ म झस्किएँ ।
स्टाचु अफ लिबर्टी देख्दा जापानमा छु कि अमेरिकामा भन्ने भ्रम पो भयो । पछि थाहा पाएँ त्यो स्टाचु त फ्रान्स र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्नका लागि बनाइएको रहेछ । टोकियोमा रहेको स्टाचु अफ लिबर्टी अमेरिकाकै जस्तो ठ्याक्कै सोही रूपको तर अलिक सानो प्रतिमूर्ति रहेछ ।
दुई राष्ट्रबीच सम्बन्ध विस्तार गर्ने र फाइदा लिने अनेक तरिका हुन्छन् । नेपालले पनि केही देशलाई गैडाको बच्चा उपहार दिएर खुसी पारेको खबर पढेको थिएँ । बुद्ध धर्मावलम्बीको देश जापानलाई बुद्ध जन्मेको देश नेपाल सरकारले एउटा ठूलो बुद्ध मूर्ति दिन सके कति सहयोग पाइन्थ्यो होला ? जापान र नेपालबीचको सम्बन्ध अझ कति राम्रो हुन्थ्यो होला ? अचानक जापान नेपाल सम्बन्ध प्रगाढ बनाउने बुद्ध फेला पारेँ । एकैछिन्मै आफ्नै मन भित्र बुद्धको विशाल सालिक निमार्ण गरेँ ।
ड्राइभरबिनाको मोनोरेलमा करिव पन्ध्र किलोमिटरको दुरी आधा घण्टामा पुरा भयो । कहिले आउला नि मोनोरेल मेरो देशमा ? रेल दौडिरहेको बेला यही प्रश्न मेरो मनमा बारम्बार उठिरहेको थियो ।
मोनोरेलबाट जापानको अदभूत विकाश देखेँ । प्रशान्त महासागरसँग जोडिएको ‘टोक्यो वे’मा चलिरहेका ठूलठूला पानी जहाज देखेँ । समुद्र पुरेर बनाइएका गगनचुम्बी भवन देखेँ । कल्पनै गर्न नसकिने अत्यन्त लामा र कलात्मक पुल देखेँ । ती दृश्य देख्दा संसारमा असम्भव कुरा केही छैन भन्ने अनुभूति दिलायो ।
नेपालका नेताले जनतालाई देखाएको सपनामा सुरक्षित यात्रा सम्पन्न गरिसकेको थिएँ । अदभूत आनन्दमा रमाएको मन लिएर मोनोरेलबाट उत्रिएँ ।
अपरान्ह जापान निवासी गजलकार दिनेशराज ज्ञवालीसँग भेट्ने कुरा भएको थियो । टोकियोमा अवस्थित शिनागावा स्टेशन पुग्दा प्रतिक्षारत दिनेश भेटिए । त्यहीँ रहेको चल्तिको जापानी रेष्टुरेण्टमा खाजा खायौँ । जापान, बेलायत र नेपालका साहित्यिक गफगाफ भए । नेपाली साहित्यलाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने बारेमा छलफल भए । झमक्क साँझ परिसकेको थियो । पाँडे सर र म योकोहामा फर्किनु थियो । अन्ततः हामी छुट्टियौँ । खचाखच भरिएको रेल योकोहामातिर दौडन थाल्यो बेस्सरी ।
(बेलायत)