यो समय नीलो आकाशबाट उज्याला ताराहरू खसिरहेछन् फुतुफुतु र आलाकाँचा केटाकेटीहरू रमाइलो मानेर खसेको तारा हेर्दै, उफ्रिरहेछन् केही माछुआरेहरू जाल थापेर पोको पारिरहेछन् केही चाटुकारहरू बगलीमा सजाएर गफ चुटिरहेछन् ।
हो यो समय दिउसै आकाशबाट उज्याला ताराहरू फुतुफुतु खसिरहेछन् र केही बुद्धिजीवीहरू विश्लेषण गर्न छाडी जिल्ल परेर आकाशतिरै हेरिरहेछन् ।
हो यो समय नीलो आकाशबाट उज्याला ताराहरू विभिन्न बाहानामा विभिन्न स्थानमा बजार्रिरहेछन् र झुर्कैझुर्का भएर छर्रिरहेछन् ।
तिनै चम्किला झुर्काहरू गोलबद्ध गर्न चाहिएको छ यौटा तेजिलो कर्मी कर्मी जन्माउन एउटी आँटिली आमा र आमा जन्माउन यौटा गोर्की हो यो समय चाहिएको छ यौटा मार्क्सिम गोर्की । |