“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई ?” असैह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो ।
छोरी पनि के कम ! रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर बाँचेको तपाईँको देश होइन । यहाँ हामीजस्ता युवतीहरू स्वतन्त्र रूपमा हिँड्न पाउने कानुन छ । म जे गरूँ, जसो गरूँ तपाईँलाई के चासो ?”
छोरीका कुरा सुनेपछि दयारामको मन नेपालतिर फर्कियो ।
अधिकृत स्तरको जागीर, सहरमा घर, दुई चारजना हाइ–हेल्लो गर्ने साथीभाइ र आफन्तहरू । उसले श्रीमतीको डिभी परेको थाहा पाएर खुसीले उफ्रेको घटना सम्झियो । त्यसपछि मनमनै भन्यो, ‘साला त्यस्तो रजगज छोडेर आइयो । अहिले रेष्टुरेन्टमा जुठा भाँडा उठाउनु परेको छ ।’
त्यस्तैमा कोठाबाट बाहिर निस्कँदै श्रीमतीले भनी, “छोराछोरीहरू आफ्नो खुट्टामा आफै उभिने भैसके । नानीदेखि लागेको बानी अझै छुटेको छैन । यो गनगन कहिलेदेखि छुट्ने होला !”
दयाराम केही बोलेन । अपराधीजस्तै घोसेमुन्टो लगाएर सोफामा बसिरह्यो ।
छोरी बोली, “बुबा अबदेखि मेरो बारेमा टिकाटिप्पणी गर्ने वा मलाई असल बाटो देखाउने शाहस नगर्नु होला, भन्द्याछु ।”
श्रीमतीले थपी, “सकेको काम गर्नु, चूप लागेर बस्नु । बुढेस कालमा किचकिच गरेको राम्रो हुँदैन ।”
दुईतिरबाट आएका तीखा शब्दबाण काट्न दयारामलाई हम्मेहम्मे प¥यो । केहीबेर सोचेपछि उसले भन्यो, “चारैतिर कोरोना भाइरस फैलिएको छ । मान्छे मर्ने क्रम जारी छ । यस्तो बेलामा सामाजिक दुरी कायम गर्दा राम्रो हुँदैन र ?”
( २०७७)