यो आँखा पनि अजीव छ यार !
कहिले पक्ष बन्छ र हेर्छ
कहिले विपक्ष बन्छ र हेर्छ
निस्पक्ष भएर हेर्न नजान्ने
यो आँखा पनि अजिव छ यार !
एउटै घटना पात्र अनुसार
भिन्न मत भिन्न बुझाइमा
मतमतान्तर गर्दै
बाद प्रतिवाद उत्रिन्छ
यो आँखा पनि अजीव छ यार !
असन्तुलित भूमिका भित्र
अनिर्णयको बन्दी बन्दै
बिभेद बोकेर समाज भित्र
रुमल्लिएर हेर्छ
फरक फरक आयम बोकेर
यो आँखा नि अजीव छ यार !
सास्वत सत्यलाई
हत्केलाले छेकी
चर्को गर्जन गर्दै
कालोलाई सेतो देख्छ
सेतोलाई कालो देख्छ
यो आँखा पनि अजीव छ यार !
जात हुँदैन भन्छ
आरक्षणको कुरा गर्छ
मानवीय धर्म भन्छ
मन्दिर मस्जित रोप्छ
समनता भन्छ
उचनिच देख्छ
यो आँखा पनि अजीव छ यार !
छोरी माया गर्ने
ज्वाइँ प्यारो हुन्छ
बुहारी माया गर्ने
छोरो जोइटिङ्ग्रे हुन्छ
आमाको ममतामा पनि
सङ्किर्णता किन होला ?
शायद !
यो आँखा पनि अजीव छ यार !
(कोलोराडो, अमरिका)