दक्षिणी फाँटमा जेठ महिनाको धुपले मुटुनै चर्काइरहेको भान हुन्थ्यो । कनैयाले सदाझैँ निधारभरि पसिना लिएर पान चपाउँदै रिक्सा ठेल्न थाल्यो । ग्राहकको पर्खाइमा कहिले यता, कहिले उता गर्दै गरेको उसको घुमेको टाउकोको आँखामा हेर्दा रिट्ठाको गेडाको याद आउँथ्यो । मानौँ त्यही कालो उसको शरीरको आकर्षण थियो । परबाट रिक्सा भएतिर आउँदै गरेको देख्दैमा भलाद्मी लाग्ने एकजना सुटेडबुटेड मानिस अत्तरको गन्धसँगै कनैया नजिक आएर भन्यो, ‘ए मदिस्या यो रिक्सा माइथान जान्छ ?’
‘जाते हजुर, पिछे बैठल जाओ ।’ कनैयाले जवाफ दियो ।
माईथानको मोडमा पुगेपछि रिक्सा अड्याउने आवाज चर्कियो । टक्क रिक्सा अड्याउनासाथ भलाद्मीले झोक्किदै सोध्यो ।
‘ओइ , कति भयो ?’
‘आठ टक्का हजुर !’
‘हुन्छ आठ रुपैया ? मलाई चिनेको छैनस ? औकात हेरेर कुरा गर, साले । ला पाँच रुपैयाँ ।’
यस्तो क्रूर बचन सुनेर कनैया सुस्तरी भए पनि बोल्न बाध्य भयो, ‘हजुर एहेन गर्मी छे, तोकल रेट यही ने छे ।’
‘बढ्ता हैन, उडाइदिउँला तेरा बङ्गारासङ्गारा, लिने भए खुरुक्क लि नत्र यो पनि, अैले ।’
‘कनैयाले खुइय गर्दै पसिना पुछ्यो र दोब्रिएको मैलो खल्तीमा पैसा राख्यो । घर पुगेपछि पनि उसलाई कता कता दुखे झैँ भयो । पहिलो कमाइमा नै ढुङगा लाग्यो । आज त्यति कमाइ पनि भएन । जति कमाएको थियो त्यो श्रीमतीलाई बझायो । त्यहि पैसाले उनिहरुले त्यो दिनको रासन किनेर छाक टारे ।
भोलिपल्ट पनि आफ्ना समस्या टार्न गह्रौँ मन लिएर बिर्ताचोकतिर रिक्सा गुडायो । पुग्न नपाई कागताली परेछ ि एकजोडी देख्तैमा साधारण जस्ता देखिने दुई बच्चासहित रिक्सा कुरिरहेका थिए । हातले इशारा गर्दै बोलाएर सोधे, ‘ए भैया माइथान जाने हो ? हामीले धेरैबेर कु¥यौँ, आज किन रिक्सा त्यति छैनन् ?’
कनैयाले अनकनाउँदै भन्यो, ‘यही नै काम छे, जेबै ।’
माइथान पुगेपछि ती जोडीले रिक्सा रोक्न लगाएर ओर्लिदै भने, ‘भैैया कति भयो ?’
हिजो कै घटनाले उसको टाउको भारी भैरहेको थियो । कम कमाइमा चित्त बुझाउन परेको कुरा सम्झियो । हिजोको भलाद्मीको बाण खोपिएको मन झन् गहिरो होला भन्ने ठानी बिस्तारै उसले निराशाका शब्द छोड्यो, ‘यही त अपना मजबुरी हे, अपना जतन मन लगतै उतना दिउ ।’
आफ्नो श्रमको मुल्य लिन पनि हिच्किचाएको रिक्सावाल देखेर बच्चाहरु छक्क परे । अन्दाजी दश, एघार बर्षको बच्चाले भन्यो, ‘यो दाइ त कस्तो हुनुहुदोरहेछ । लौ त्यसै गरेर साद्धे हुन्छ त ।’
यत्तिकैमा महिलाले भनिन्, ‘हैन, पैसा माग्न पनि कति गाह्रो लागेको तिमीलाई । रेट बढेको त छैन नि ? उही आठ रुपैया हैन ?’
कनैयाले मुस्किलले हो हजुर भनेर उत्तर फर्कायो ।
‘हामी सँधै ओहोर दोहोर गरिरहन्छौँ । यस्तो धुपमा चारजनाका सामान सहित ल्याइदियौ । तिमी र हामी उस्तै हौं । लौ, यो दश रुपैया ।’
उसले पैसा लिन पनि हिच्किचायो ।
‘ल किन नथापेको ? यी लेऊ ।’
उनिहरू पैसा दिएर आफ्नो बाटो लागे । पर पुगुन्जेल उसले तिनीहरूलाई हेरिरह्यो । उसको हातमा रहेको दश रुपैयाले उसैलाई हेरेर हासिरहेझैँ लाग्यो । उसले आफ्नो भित्री आँखा उघार्दा पनि हिजो र आजका फरक फरक मान्छेका प्रवृति देखेर उ धेरै बेर सम्म अनुत्तरित भइरह्यो ।