एकाबिहानै
घर लिपपोत गरेर
भान्सा सम्हाल्छे
भकारो सोहोर्छे
गुन्द्रुक बनाउँछे
करेसाबारीको हेरचाह गर्छे
प्रायजसो घरेलु धन्दा जानिसकेकी छे ।
कागजको फूलदेखि
बन्दुकसम्म बनाउँछे ।
झाडी फाँड्ने काममा
प्रयोग गर्छे हँसिया
दुबै हातले बराबरी
चलाउछे हथौड़ा
वरिपरिका फोहोर
एकै ठाउँमा जम्मा पारेर
आगो बाल्छे ।
आमाको उध्रिएको चोली सिउँछे
बाको उज्यालो मुस्कान आँखामा राखेर
बिर्सिदिन्छे
अत्याधुनिक बजारिया इच्छाहरू ।
हरेक समस्याको कारण छ, भन्छे
र समाधान पनि छ, भन्छे
सामाजिक अन्तरविरोध पनि बुझेकी छे
दृढ विश्वास र इच्छाका साथ
जिम्मेवारीका काँधहरूले बोकिरहन्छे
वर्गीय भारी ।
उसलाई
आरतीको भन्दा
खलातीको आवाज
निकै मन पर्छ ।
मन्दिरमा बालिएका धुपहरूभन्दा
जेठा सार्कीको पसिना बास आउँछ ।
कोकाकोलाको स्वाद थाहा छैन
कुवाको पानी बिर्सिएकी छैन
ऊ मकै बेचेर
चाउचाउ किनी खाँदिन ।
पातहरू गाँसेर
टपरी बनाउन जानेकी छे
गाईभैँसी दुहुन्छे
दही, मोही र घिउ बनाउँछे।
बाख्रा पनि पालेकी छे
खोरभरि ।
आफ्नो संस्कार
चलचलन बुझेकी छे
जोगाउनु पर्छ भन्छे ।
तैपनि किन अनुत्तीर्ण हुन्छे
विद्यालयीय परीक्षाहरूमा ?
सर !
म छ्योइसाङ तामाङकी आमा
यति धेरै जानेकी
हातमा सीप भएकी
सील, स्वभाव जानेकी मेरी छोरीलाई
मात्र निरस किताब नजानेकै कारण
प्रत्येक वर्ष फेल गर्न मिल्छ ?
के तपाईंको स्कुलमा
अन्य क्षमताको मापन हुँदैन ?