‘ए, छिटो गर् ! हजुरबा हिँडिसक्नुभयो ।’
हजुरआमा मलाई हपार्दै आफ्नो झोला बोक्नुहुन्छ । म पनि आफ्नो झोला बोक्छु र छिटोछिटो निस्कन्छु । अगाडि अगाडि हजुरबा, हजुरबाको पछाडि पछाडि हजुरआमा र हजुरआमाको पछाडि पछाडि म कलैयाको पन्नाबागबाट भरतचोक पुग्छौँँ । पुरानो जीप घ्यार्रघ्यार्र गरिरहेको हुन्छ ।
‘वीरगञ्ज, वीरगञ्ज ! जाने हो वीरगञ्ज ?’
खलासी भाइ यात्रु बोलाउँदै हुन्छन् । हामी त्यही जीपमा चड्छौँ । जीपमा ठेलमठेल गर्दै यात्रु कोच्छन् खलासीले । कोही त पछाडी झुन्डिन्छन् पनि । घ्यार्रघ्यार्र गर्दै जीप बढ्न थाल्छ । चोकभरि मान्छेहरू आवतजावत गर्दै छन् । रिक्सा, ठला, टाँगा,बस, जीप चोकवरिपरि देखिन्छन् । जीप ठाना हुँदै अगाडि बढ्छ । बा, आमा र दाजुलाई भेट्न नपाएको झन्डै एक वर्ष भइसकेको हुन्छ, त्यसैले हजुरआमा र म कलकत्ता जाँदै छौँ । हजुरबा रक्सौलसम्म हामीलाई पु¥याउन जाँदै हुनुहुन्छ ।
जीप मोतिसर पुग्छ र घ्याच्च रोकिन्छ । एकजना यात्रु पछाडि झुन्डिन्छ । घ्यार्रघ्यार्र गर्दै फेरि अगाडि बढ्छ । पर्सौनी पुग्छ र फेरि रोकिन्छ । झुन्डिएको त्यो यात्रु ओर्लिन्छ । दुई जना फेरि झुन्डिन्छन् । जीप फेरि घ्यार्रघ्यार्र गर्दै बढ्छ र वीरगञ्जको घन्टाघर पुग्छ । हामी त्यहीँ ओर्लिन्छौँ । हजुरबा झोलाहरू लिएर एउटा रिक्सामा चढ्नुहुन्छ । हजुरआमा र म अर्को रिक्सामा चढ्छौँ । हजुरबाको रिक्सा अगाडि हुइँकिन्छ । हामी पछाडि पछाडि छौँ । कलकत्ता घुम्न जान पाएकोमा हजुरआमा पनि प्रफुल्ल हुनुहुन्छ । मेरो त झन बा, आमा र दाजुलाई भेट्न पाउने, मीना दिदीहरूसँग सिनेमा हेर्न र घुम्न पाउने, तारे होटलमा खान पाउने खुशीले खुट्टा भुइँमै छैन । म आफूभित्रै प्रफुल्लित छु ।
‘ए रोक् ! कहाँ जान लागेको ?’
‘कलकत्ता !’
‘उनी को हुन् नि ?’
‘नातिनी !’
‘हैनजस्तो छ, बेच्न लान लागेको हो ?’
‘तेरै छोरीनातिनी बेच् न बज्जे ! अर्कालाई जे पायो त्यही भन्दोरहेछ ।’
शङ्कराचार्य द्वार अगाडि पुलिसदाइले हाम्रो रिक्सा रोक्छन् र सोधखोज गर्न थाल्छन् । हजुरआमा र पुलिसदाइको चर्काचर्की नै पर्छ । पुलिसदाइ हामीलाई जान दिँदैनन् । म छटपटाउँछु । के गरू र कसो गरू हुन्छ, तर केही गर्न सक्ने अवस्थामा हुँदिनँ । हजुरबा अगाडि बढिसक्नुभएको छ । कुनै अभिभावक ल्याएपछि मात्र छाड्ने अड्डी लिन्छन् पुलिसदाइ । उनी हाम्रो बिन्तीभाउ सुन्दै सुन्दैनन् ।
‘समातिइन्, समातिइन् ! केटी बेच्ने बूढी समातिइन् ।’
त्यहाँ वरपरका मानिस जम्मा हुन थाल्छन् । मलाई असाध्यै लाज लाग्छ ।
‘के भयो ? के ?’
हजुरबा आइपुग्नुहुन्छ । टाढाबाट हाम्रो रिक्सा रोकेको देखेर उहाँ फर्कनुभएको रहेछ । उहाँले हजुरआमालाई श्रीमती र मलाई नातिनी हो भनेर चिनाउँदै ‘नातिनीलाई उनको बाआमा भएको ठाउँमा पु¥याउन जान लागेको’ भनेपछि नाउँठाउँ लेखेर सही गराई बल्ल पुलिसदाइले आफ्नो कर्तव्य निर्वाह गरेर हामीलाई छोडिदिन्छन् । म ढुक्क हुन्छु । त्यसपछि हजुरबा हाम्रो रिक्सा अगाडि र आफ्नो रिक्सा पछाडि लगाउनुहुन्छ ।
हामी रक्सौल पुग्छौँ । त्यहाँ हजुरबाले मुजफ्फरपुरसम्मको बसको टिकट लिइदिनुहुन्छ । हामी बसमा चढ्छौँ । बाटोमा खान बिस्कुट र चाउचाउ किनिदिएर उहाँ हामीलाई अह्रोाटपह्रोट गर्नुहुन्छ । बस हिँड्छ । हजुरबासँग हामी छुट्टिन्छौँ । मलाई कलकत्ता पुग्ने हतार छ । मनमा खुशीका लहरहरू उठ्छन् नदीका उत्ताल छालहरूझैँ । उत्साहका प्रहरहरू खुल्छन् सूर्योदयको सम्मोहक दृश्यझैँ । सुन्दर महानगरी कलकत्तामा आफ्ना बा, आमा र दाजुलाई भोट्ने हर्षले गद्गद् छु म आफैभित्र । भावनाका उत्ताल तरङ्गमा तरङ्गिँदै म हजुरआमासँग रक्सौलबाट मुजफ्फरपुर पुग्छु । भरपर्दो अभिभावकको अभावमा मनमा एकतमासको डर पसे पनि अजुरआमासँगै जानेआउने गरको उही यात्राको र उही ठाउँको पुनरावृत्ति भएकोले म ढुक्क छु, मन फुरफुर छ ।
जताजतै मान्छेको भीड, पकेटमारको भीड, भीडैभीडमा हराउँछौँ हामी त्यहाँ । हामीजस्तै अरू यात्रीहरू पनि हराउँछन् भीडमा । लाग्छ, मान्छे नदीजस्तै बगिरहेछन् सललल… । लाग्छ हामी सबै पानी हौँ । बग्नु हाम्रो नियति हो । बग्नु जीवनको गति हो । हामी बग्छौँ, निरन्तर बग्छौँ । भीडभित्र नजिकै कतै दुई नेपाली अनुहारहरू देख्छौँ । उनीहरू आफ्नै परिवारका सदस्यझैँ आत्मीय लाग्छन् । डर केही कम हुन्छ ममा । बस्ने र समाउने डाली पाएझैँ हुन्छ मलाई । उनीहरू पोखरातिरका गुरुङ दम्पति रहेछन् फरासिला मिजासका । हामी आत्मीयता साटासाट गर्छौँ, मन साट्न पुग्छौँ । भावना साट्न पुग्छौँ । उही नेपाली यता नेपालमा भेटिँदा वास्ता नगर्ने हामी परदेशमा भेटिँदा भने फुरुङ्ग पर्दै मुटुभरिको आत्मीयता साटासाट गर्छौँ र त्यसो गर्न पाउँदा हाम्रो मन चङ्गा भएर उड्छ भावनाको उन्मुक्त आकाशमा । अचम्मै होइन त ! ती दम्पति पनि कलकत्ताकै यात्री रहेछन् । हामी दुइबाट चर हुन्छौँ । रिजर्भेशनको टिकट नपाएर हामी जेनरल टिकट लिन्छौँ । जेनरल डिब्बामा बस्नु कुम्भीपाक नरकमा बस्नुजस्तै हुन्छ हामीलाई । भीडभाड र कोचाकोचमा अत्तालिन्छौँ हामी । ‘समस्तिपुरमा रिजर्भेसन गराउने’ भनेर गुरुङ दाइ हामीलाई थमथमाउनुहुन्छ । हामी केही ढुक्क हुन्छौँ र खाँदिन्छौँ घैँटोमा गुन्द्रुकझैँ, उसिनिन्छौँ कराहीमा पिँडालुझैँ, तर पनि मभित्रको मन फुरफुर छ । कलकत्ता पुगेपछि केके गर्ने भनी योजनाको तयारीमा तल्लीन छु म भावनामै । मन ढुकढुक–ढुकढुक गर्छ । रेल छुकछुक–छुकछुक गर्छ । मनको बेग्लै गति छ । रेलको आफ्नै गति छ ।
हामी समस्तीपुर पुग्छौँ । गुरुङदाइ ‘टिकट लिएर रिजर्भेशन डिब्बामा जाने’ भनेर ओराल्नुहुन्छ हामीलाई । हामी पनि ओर्लन्छौँ चुपचाप । समस्तीपुरमा पनि रिजर्भेशन टिकट नपाएपछि म झन अत्तालिन्छु, छटपटाउँछु । भीडले गर्दा सबै जेनरल डिब्बा पनि बन्द हुन्छन् । न रोऊँ, न हाँसू हुन्छ मलाई । गुरुङदाइ पनि छटपटाउनुहुन्छ । रेलले सिट्ठी बजाउँछ र विस्तारै छुकछुक् छुकछुक् गति लिन्छ । म एकदमै अत्तालिएर प्लेटफार्ममा रेलसँगै कुद्न थाल्छु म अघिअघि, हजुरआमा पछिपछि । रेल हामीभन्दा अघिअघि गर्दै हामीलाई छाडेर जान्छ । रेल के जान्छ मेरो मन त्यसै त्यसै ओइलाउँछ । भावना पनि ओइलाउँछ । हामी अक्क न बक्क हुन्छौँ ।हामी अत्तालिएको देखेर एकजना अग्ला गोरा भलादमीले सबै कुरा बुझेपछि हामीलाई नअत्तालिन भन्छन् । ‘एक घन्टापछि कलकत्ता नै जाने अर्को रेल आउँछ र त्यसमा चढ्न अरू चार रुपैयाँको टिकट लिए पुग्छ’ भनी ती भलादमीले बताए पनि हामी ढुक्क हुन सक्दैनौँ । गुरुङदाइ चार–चार रुपैयाँको टिकट पनि ल्याइहाल्नुहुन्छ । तै पनि मेरो मनमा एक तमासको डर पसेकै हुन्छ । कतै यो ठग त हैन ! हेर्दै भलादमी, गम्भीर र सभ्य देखिने व्यक्ति कसरी ठग हुनसक्छ ? अर्को मनले भन्छ ।
नभन्दै एक घन्टापछि रेल त आउँछ, तर रेलको स्थिति देखेर झन् कहाली लाछ । रेल आएर रोकिना साथ कोही झ्यालबाट भित्र पस्छन् । कोही ढोकामै कतै झुन्डिन्छन् । अब के गर्ने ? कसरी पस्ने ? पस्न नसके कहाँ बस्ने यो बिरानो ठाउँमा ? ढोकामा ठेलमठेल घचेटाघचेटकमा हामी पनि सामेल हुन्छौँ । हजुरआमाको हात समातेर म पनि रेलभित्र पस्न खोज्छु, तर पस्नै सक्दिनँ । हजुर आमा र गुरुङसेनी भाउजू चेपिँदै चेपिँदै कहाँ हराउनु हुन्छ कहाँ ! म जति भित्र पस्न खोज्छु, उति बाहिर तानिन्छु । हैरान भएर यसो पछाडि हेर्छु त उही भलादमीले पछाडिबाट मलाई पछाडि तानिरहेको पो पाउँछु । मेरो सातोपुत्लो उड्छ । म जोडले चिच्याउँछु र त्यतिखेरै कसैले मलाई पछाडिबाट हुत्त भित्र घचेटिदिन्छ । म हुर्रिएर भित्र पस्नासाथ रेल पनि चलिहाल्छ । संयोगले गुरुङदाइ पछाडि हुनुहुँदोरहेछ र उहाँले मलाई पछाडि तानेको देखेर हत्तपत्त भित्र हुत्याइदिनुभएको रहेछ ।
भित्र पसेपछि मलाई थर्र काँप छुट्छ । बोली पनि खुल्न सक्दैन । सामान कता, हजुरआमा कता ! बल्लतल्ल हजुरआमा र सामान भेटिएपछि ढुक्कको सास फेर्छु । यस्तो स्थिति कसैलाई पनि नआओस्, भद्रता र सभ्यताको खोलभित्रका त्यस्ता ब्वाँसालाई समयमै सबैले चिन्न सकून् भन्ने सोच्छु । रेल छुकछुक–छुकछुक, पोँ पोँ, छुकछुक–छुकछुक, पोँ पोँ, गर्दै अगाडि बढिरहन्छ र स्टेशन आइपुग्छ अनि रोकिन्छ । यात्रुहरू ओर्लिन्छन् । हत्तपत्त हजुरआमा, म गुरुङसेनी भाउजू सिटमा बस्छौँ र आआफ्ना सामानहरू तह लगाएर राख्छौँ ।
यात्राभरि रौस्याहा गुरुङदाइ र हँसिली गुरुसेनी भाउजूसँग हामी कठिनाइ बाँड्छौँ, आत्मीयता साट्छौँ र हाबडाबाट छुट्टिन्छौँ, छुट्टिनुको असजिलोपन र विरसिलो मन लिएर फेरि भेट्ने वाचाका साथ । तर, अझसम्म पनि न फेरि कहिल्यै ती गुरुङदाइ र गुरुङसेनी भाउजूसँग मेरो भेथ भएकआो छ, न स्नेह बाँड्न सकिएको छ, छ त केवल मनभरि स्मृति छ, अनन्त–अनन्त स्मृति !
(अमेरिका)