काठमाडौं, १६ पुस ।
ल्होसार चाड वौद्ध धर्मावलम्विहरूको सबैभन्दा ठूलो पर्व हो । गुरुङ बाहुल्यता भएका देशका विभिन्न भागमा पुस १५ गते मंगलबार तमू ल्होसार पर्व मनाइएको छ । नयाँ पर्वको रूपमा मनाइने यो पर्व तामाङ, शेर्पा, तमु लगायत आदिवासी जनजातिले आ–आफ्नै तरीकाले मनाउने गर्छन् । तामाङ जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारमा रूपमा यो पर्व मनाउँछन् भने शेर्पा र भोटे लगायत अन्य जातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि यो पर्व ग्याल्पो ल्होसारका रूपमा मनाउँछन् । ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ भन्ने बुझाउँछ । मुसा, गोरु, बाघ, खरायो, विरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेल गरी प्रत्येक वर्ष एउटालाई प्रतीकका रूपमा मानी मनाइने गरिन्छ । आफन्त र मान्यजनबाट आर्शीवाद लिइ मनाइने यो पर्वलाई राम्रो लाउने र मिठो खाने पर्वका रूपमा पनि लिइन्छ । ल्होसार भुटान, चिन, लाओस, म्यान्मा, जापान, सिङ्गापुर, मङ्गोलिया, भारत, थाइल्याण्ड र भियतनाममा पनि मनाइन्छ । नेपालमा भने यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वको मान्यता दिनुका साथै यो दिन देशभरि सार्वजनिक बिदा पनि दिन थालिएको छ ।