कवि विष्णु भण्डारीको पछिल्लो कविता कृति घाइते ह्विलचेयर बजारमा छ । उनको यो सातौं कृति हो । चालिसको दशकबाट कवितामा सक्रिय कवि भण्डारीका पञ्चायतकालीन समयमै दुई खण्डकाव्य विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) प्रकाशित छन् । उनको आँधी–तुफान (२०४४) मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । त्यसपछि झण्डै दुई दशक कृति प्रकाशनमा भण्डारी निष्क्रिय देखिए । दोस्रो जनआन्दोलनको सफलतासँगै उनी फेरि सक्रिय छन् । २०६३ सालमै उनले दुई कविता सङ्ग्रह प्रकाशन गरे फेरि अर्को तारा खस्यो र देश जागेको बेला । उनको उत्सर्ग महाकाव्य (२०६७) पनि प्रकाशित छ । पछिल्लो कविता सङ्ग्रहमा भण्डारीले २०६४–०६९को अवधीमा लेखेका ४६ कविता समेटिएको छ । सङ्ग्रहको सुरुवात २०६४ सालमा लेखिएको ‘बाटो’ शिर्षकको कविताबाट भएको छ ः
यात्राको मोडनिरै
बाटो सकिएको छ
र मलाई कोर्नु छ नयाँ बाटो । ( बाटो ः १३ )
यो कवितामा कविले जनताको मुक्तिको लागि जनयुद्धबाट शान्ति प्रक्रियासम्म आइपुग्दा संसारका सबैजसो क्रान्तिका तरिका प्रयोग भइसकेकोले नयाँ तरिकाबाट अघि बढ्नुपर्ने आवश्यकता आंैल्याएका छन् । त्यसप्रतिको प्रतिबद्धता पनि कवितामा व्यक्त छ । सङ्ग्रहको केन्द्रीय कथ्य पनि यही नै हो । जनताको मुक्तिको लागि जारी क्रान्ति कतातिर जाँदैछ, त्यसप्रति जनताको धारणा कस्तो बन्दैछ र त्यसका अभियन्ताहरू के गर्दैछन् भन्ने प्रश्नमा केन्द्रित छन् कविता । त्यसका लागि धेरैजसो कवितामा प्रश्नात्मक शैली नै प्रयोग भएको छः
सल्काएर आशाको स्वप्न महलमा आगो
किन बाँडिरहेछ उसले
सुनाखरी फूलहरूको बस्तीमा
सपनाहरूको विगुत ?(दिग्भ्रमित बटुवा ः १७)
ओहो ! किन देखिदै छ उसको अनुहारमा
दुश्मनको प्रतिच्छाया“
के यो समाजको मजाक
दृष्टिभ्रम हो ?(अनुत्तरीत प्रश्न ः ५०)
कविता सङ्ग्रहको नाम बनेको कविता घाइतेको ह्विलचेयरमा पनि मुक्तियात्रामा घाइते बनेकाहरूको सपना पूरा नहुँदै भइरहेको विजयोल्लासप्रति प्रश्न गरेका छन् ः
किन अत्तरले पखालिदै छन् मन्दिरहरू?
किन बर्साउँदैछन् विमानहरूले अबिर ?
सर्वत्र फूलहरूको बर्षा
के यो विजयपछिको हर्षोल्लास हो । ( घाइते ह्विलचेयर ः ९० )
ठूलो बलिदानपछि पनि जनता मुक्त नभएकोमा कवि दुःखी छन् । उनका कवितामा त्यो दुःख व्यक्त छ, त्यही कारण कुनै चाड खुशीले मनाउन नसकेको अभिव्यक्ति छ ः
सखी ! आशाहरूको अन्तिम क्षितिज पनि
कालो छायाले छेक्न खोज्दै छ
भो मलाई देउसी खेल्नु छैन
यो रगत नसुकिसकेको आँगनमा खुशी साटेर नाच्नु छैन ।(देउसी र सपनाहरूः १०४)
कवितामा भण्डारीले सहिद र सहिदका परिवारको अत्यासलाग्दो प्रतिक्षाप्रति संवेदना अभिव्यक्त गरेका छन् ः
अनेकोट
आँसुले नुहाएर
सपना साँचेर बसेको धेरै भयो । (अनेकोटः ३३)
त्यसो त भण्डारीका कवितामा केवल आक्रोश, प्रश्न र चिन्तामात्रै छैन, उनका कवितामा परिवेशले तय गर्दै गरेको अनिवार्य विद्रोहको संकेत पनि छ ः
मझेरीमा
रक्तमुछेल अनुजहरूको लासमा
जब निर्धक्क भन्किन थाल्छन् हरिया झिँगाहरू
उसले भुल्छ रूपमाधुर्यको स्वप्नगङ्गा
र सुम्सुम्याउँछ
खिया लागेका बन्दुकहरू ।(बन्दुकः १०२)
जनता आपफ्नो सपना पूरा नभएमा स्वतः विद्रोहमा उत्रने र त्यसले स्वराज ल्याएरै छाड्ने विस्वास कवितामा पाइन्छ ः
मान्छेको लासहरूको भ¥याङ चढी
सत्तामा पुगेको अन्धो मान्छे !
हेर त
जीवनमा सपनाको पङ्ख भर्ने आगो अझै निभेको छैन ।(आगोः ६९)
यो दुन्दुभि बज्दै गरेको बेला
अशान्त सडकहरूमा
खनेर निराशाको आलो चिहान
मान्छे मदहोस सुत्ने छैनन् ।(बिद्रोही मनहरूः ८१)
सङ्ग्रहका कविताले शान्तिप्रक्रियापछि जनताले गरेको आशा र त्यसमाथि देखा परेको कालो बादललाई चित्रण गरेका छन् । त्यो कालो बादल हटाउन नेतृत्वप्रति जनताले गरेको खबरदारी कवितामा कलात्मक ढंगले आएको छ । समग्रमा घाइते ह्विलचियर सशश्त्र क्रान्तिपछिको यथार्थ चित्र हो । र, यो अवधीमा जनताले गरेको अनुभूतिको कलात्मक अभिलेखन हो ।
त्यसो त सङ्ग्रहका केही बिषय भने पाठकलाई खड्कन सक्छ । त्योमध्येको पहिलो हो, कवि आफैंले लेखेको चार पेज भूमिका । भूमिका निबन्धात्मक शैलीमा भएपनि भाषा कवितात्मक नै छ । कवितामा अभिव्यक्त भाव धेरैजसो भूमिकामा पनि दोहोरिएको छ । यसले पाठकलाई कविता सङ्ग्रहको अगाडि आत्मपरक निबन्ध पढेजस्तो लाग्न सक्छ, जसले कविताका भावलाई खल्लो बनाउन सक्छ । वास्तवमा भूमिकाको अन्तिम अनुच्छेद नै सङ्ग्रहको लागि काफी हुने थियो ।
सङ्ग्रहका अधिकांश कविता भावमा गहन छन्, तर शैलीमा सरल छन् । त्यति हुँदा हुँदै पनि कतिपय ठाउँमा कविले अनावश्यक क्लिष्ट शब्द प्रयोग गरेका छन् । सरल नेपाली शब्द प्रयोगको विकल्प हुँदा हुँदै प्रयोग भएका हिन्दी र संस्कृत शब्दले कविताको बहाबलाई अड्काएको महसुस हुन्छ ।
कविले कतिपय कविताको उठान दमदार गरेका छन् । तर त्यसको अन्त्यसम्म टिकेका छैनन् । त्यसको कारण हो–पृष्ठभूमिको वर्णन र बिषय उठानको महत्व पुष्टिमा बढी शब्द खर्चिनु ।
पाठकलाई यस्ता बिषय खड्किए पनि सङ्ग्रह पढिसक्दा कविताको उद्देश्यप्रति स्पष्ट हुन्छन् । र, त्यहाँ कतै न कतै आफ्नो आवाज भेटिन्छ । कवितामा जुन आशा, त्यसमा भएको घातप्रतिघात र त्यसले पैदा गरेको प्रश्न सरोकारवालालाई सोधिएको छ, त्यो जनताकै प्रश्न हो । जनताका ती प्रश्नलाई सरोकारवालाकहाँ पु¥याउन कविले सङ्ग्रहको अन्तिममा ‘खामबन्दी’ गरेका छन् र सोधेका छन् ः
उस्तै छन् तिमीले हिंडेका धुलाम्मे डगरहरू
उस्तै छन् भोकले खिल्टिएका बच्चाहरू
मेरो बाउको बलिदानले रङ्गिएको रातो झन्डा
अझै पनि घरको छानोमा फहराउँदै छ
कमरेड ! के तिमीलाई सञ्चै छ ?(खामबन्दीः १३१)
खाम खोलेर प्रश्नको जवाफ दिन कमरेडले जाँगर देखाउलान् या नदेखाउलान् ? कविजस्तै जनता पनि प्रतीक्षामा छन् ।