नेपालमा आधुनिकता कहिलेदेखि सुरु भन्ने बहस जति हुनुपर्ने थियो त्यति भएको छैन । नेपालमा आधुनिकता कहिलेदेखि सुरु भयो, आधुनिकताको नेपाली चरित्र कस्तो छ र थियो तथा आधुनिक समाज निर्माणपूर्वको सामाजिक जीवन कुन गतिमा परिवर्तित हुँदै आउँछ र आएको छ भन्नेबारे पनि अध्ययन भएको पाइदैन ।
आधुनिकताको बहस गर्दै गर्दा बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि समाजमा मध्यकालबाट आधुनिक कालमा फड्को मार्नका लागि विशेष कारणहरूले काम गरेका हुन्छन् । मध्यकाल समयमापक कालक्रमिक अवधारणा मात्र नभएर चिन्तनगत अवधारणा पनि भएकोले समाजमा घट्ने विशेष परिघटनाले यस्तो परिवर्तनलाई प्रभावित गर्छ । जस्तो भारतीय समाजमा आधुनिकताको शूत्रपात सन् १८५७ को विद्रोहबाट भएता पनि यसको पूर्व सङ्केत मुगल साम्राज्यको स्थापनासँगै देखिन थालेका थिए । त्यस्तै युरोपमा आधुनिकताले पूर्णता सन् १७८९ को फ्रेन्च क्रान्तिपछि पाएको भए तापनि त्यहाँ आधुनिकता पन्ध्रौँ शताब्दीबाट नै विकसित हुँदै आएको थियो
आधुनिक नेपालको प्रारम्भिक सङ्केतहरू जागरणकालको प्रारम्भदेखि देखिन थालेका थिए । वि.सं.१८२६ देखि सुरु भएको जागरण काल वि.सं.२०१५ सालसम्म कायम रह्यो । झण्डै दुई सय वर्षको यस समयमा नेपाली समाज राष्ट्रिय जागरण, सामाजिक जागरण र जनजागरणको प्रक्रियाबाट अघि बढ्यो । वि.सं.२०१६ सालमा भएको आमनिर्वाचनबाट पुँजीवादी शक्ति राज्यसत्तामा पुगेपछि नेपालमा आधुनिक काल सुरु भएको हो । धेरैजसो मूलप्रवाहका इतिहासकारलाई यो कालविभाजन चित्त नबुझ्न सक्छ । वि.सं.१८२५ देखिको नेपाललाई आधुनिक नेपाल भन्नेहरूका लागि निश्चय पनि यो अवधारणा तीतो लाग्ने छ । तर पनि नेपाली समाजको ऐतिहासिक विकास यसरी नै भएको छ ।











