नेपालको मध्यकालीन इतिहास आन्तरिक सङ्घर्ष, विभाजन, विखण्डन र अकर्मण्यताबाट गुज्रिएको निराशा र अन्धकारको युुग थियो । नेपालमा वि.सं. ९३६ देखि १८२५ सम्म झण्डै नौ सय वर्ष मध्यकाल रह्यो । यो बिचको नेपालको राजनीतिक र सामाजिक इतिहासको चर्चा अघिल्लो अध्यायमा भैसकेको छ । यस अध्यायमा हामी जागरणकालीन नेपालको राजनीतिक र सामाजिक जीवनको अध्ययन गर्ने छौँ ।
नेपालमा जागरण कालबारे अहिलेसम्म अध्ययन भएको पाइदैन । मध्यकाल र आधुनिक कालको बिचमा अर्को एउटा काल विकसित हुन्छ भन्ने कुरा नेपाली इतिहासकारहरूले नजरअन्दाज गरेजस्तो लाग्छ । त्यो हो जागरण वा पुनर्जागरण काल । विश्वका प्रायः सम्पूर्ण सभ्यतालाई मध्यकालबाट आधुनिक कालमा लैजान पुनर्जागरण वा जागरण कालको महङ्खवपूर्ण भूमिका रहेको थियो । युरोपलाई अन्धकार युगबाट आधुनिकतातिर डोर्याउने काम पनि यही पुनर्जागरण कालले गरेको थियो । त्यस्तै भारतीय समाजलाई मध्यकालीन समाजबाट आधुनिक समाजतिर लैजानका लागि पनि यही नवजागरणले काम गरेको थियो । र, यी दुवै सभ्यतामा पुनर्जागरणको प्रस्थानविन्दुका रूपमा विशेष परिघटना घटेका थिए । सन् १४५३ मा अटोमन साम्राज्य (तुर्क) द्वारा कान्स्टेन्टिनोपल कब्जा गरेपछि लगभग १५०० वर्षदेखि चल्दै आएको बाइजान्टियन (पूर्वी रोमन साम्राज्य) साम्राज्य पतन भएको थियो । बाइजान्टियन साम्राज्यको पतनले युरोपमा पुनर्जागरणका लागि वातावरण तयार गरेको थियो ।
सन् १७५७ बाट औपचारिक रूपमा सुरु भएको अङ्ग्रेजको उपनिवेशवादी शासनले भारतमा लुटको शृङ्खला सुरु गरेको थियो । भारतीयहरू अङ्ग्रेजको उत्पीडन सहेर बस्न बाध्य भएका थिए । जसका कारण मानिसहरूमा अङ्ग्रेजविरोधी भावनाको विकास हुँदै गएको थियो । यही भावनाको प्रतिरूप थियो सन् १८५८ मा भएको अङ्ग्रेजविरोधी विद्रोह । उक्त विद्रोहपछि भारतमा नवजागरण सुरु भएको मानिन्छ ।
नेपालमा लिच्छविकालीन एकीकृत नेपालको विघटनसँगै मध्यकाल सुरु भएको थियो । लामो समय नेपाली समाज अकर्मण्यको अवस्थाबाट गुज्रियो । विखण्डन, विभाजन, लुट–हत्या र दिशाहिनताको अवस्थाबाट गुज्रिएको नेपाली समाजमा पृथ्वीनारायण शाहको गोर्खाराज्यको विस्तार अभियानले नयाँ गति पैदा गरिदियो । वि.सं.१८०१ बाट सुरु भएको राज्यविस्तार अभियानले त्यसपछिका साढेदुई दशकसम्म खासै गति लिन सकेन । वि.सं.१८२६ मा आइपुग्दा नेपाली सभ्यतामा केही त्यस्ता घटनाहरू घटे जसले चेतनाको नयाँ लहर पैदा गरिदियो ।
मकवानपुरमाथि विजय गरेपछि गोर्खाली सेनाबिरुद्ध लड्न ठुलो संख्यामा मुगल सेना नेपाल आयो । वि.सं. १८१९ माघ १० गते गोर्खाली सेनाले पश्चिम बंगाल, मुर्सिदावादका नवाब मीर कासिम (कासिम अलि खान) का सेनासँग लडाइँ लड्यो । यति ठुलो विदेशी सेनासित पहिलो पल्ट गोर्खाली सेनाको टक्कर परेको थियो । उक्त लडाइँमा मुगल सेना पराजित भयो । यसभन्दा पहिले पनि वि.सं. १४०६ मा बंगालका सुल्तान समसुद्धिन इलियासले नेपालमाथि आक्रमण गरेका थिए । त्यतिखेर एक हप्तासम्म उपत्यकामा लुटपाट र उत्पात मच्याएको थियो । राजपरिवारसहित उपत्यकाबासी भागेर जङ्गलमा गएर लुकेका थिए । मुगल सेनाले पशुपतिको मन्दिरलाई तीन टुक्रा बनाएको थियो भने मन्दिरहरूमा आगजनी गरेको थियो । तर यसपल्ट आएको मुगल सेनालाई गोर्खाली सेनाले पराजयको नमिठो स्वाद चखाएको थियो । उक्त युद्धमा १२०० को संख्यामा मुगल सेना मरिएका थिए ।
राज्यविस्तारकै क्रममा गोर्खाली सेना दोस्रो पल्ट विदेशी शक्तिसित वि.सं.१८२४ मा सिन्धुलीमा आमुन्नेसामुन्ने भएको थियो । विश्वविजेता अङ्ग्रेज सेनासित गोर्खाली सेनाको भयङ्कर युद्ध भएको थियो । उक्त युुद्धमा पनि अङ्ग्रेज नराम्रोसँग पराजित भएर भाग्न विवश भयो । यही समयदेखि नेपाली समाजमा साम्राज्यवादविरोधी चेतनाको विकास भएको थियो । र, सँगै नेपालको राष्ट्रिय जागरणको बिज पनि रोपिएको थियो । यो जागरण जातीय जागरणको पूर्वसङ्केत थियो । यही जागरणका झिल्काहरू बढ्दै गएर पछि वि.सं.१८७१ मा भीषण युद्धको रूप धारण गर्यो ।
अङ्ग्रेजसँग भएको युद्धको एक वर्षपछि वि.सं.१८२५ मा गोर्खाले कान्तिपुरमाथि विजय प्राप्त गरेको थियो । त्यसको एक वर्षमै उसले उपत्यकाका तीनोटै राज्यलाई गोर्खा राज्यमा गाभ्न सफल भयो । नेपाली इतिहासकारले भक्तपुर विजय प्राप्त भएको १८२६ मंसिर १ (इ.सं.१७६९ नोभेम्बर १२) देखि नेपाललाई आधुनिक युग सुरु भएको धारणा व्यक्त गर्दै सोही बमोजिम काल विभाजन गरेका छन् । नेपाल उपत्यका विजयपछि नयाँ युगमा पदार्पण गरेको कुरा सत्य हो । तर त्यो नयाँ युग आधुनिक युग थियो कि अरू नै थियो, यसबारे भने बहस भएको पाइदैन ।
यथार्थमा त्यो समयदेखि नेपालमा आधुनिक युुग सुरु भएको नभै जागरण काल सुरु भएको थियो । निश्चय पनि त्यो समयमा नेपालमा आधुनिकता आएको हैन । राजनीतिक घटनाका आधारमा मात्र आधुनिकताको मापन हुन सक्दैन । नेपालमा साँच्चिकै आधुनिकता त वि.सं.२०१५ पछि मात्र आएको हो । त्यसो भए १८२६ को आधुनिकता के थियो त ! प्रश्न उठ्नु स्वभाविकै हुन्छ ।
वि.सं. १८२४ मा भएको सिन्धुलीगढीको युद्धपछि नेपाली समाजमा साम्राज्यवादविरोधी चेतनाको विकास हुन थालेको थियो । र, सँगै नेपालको राष्ट्रिय जागरणको बिज पनि रोपिएको थियो । यो जागरण जातीय जागरणको पूर्वसङ्केत थियो । यही जागरणका झिल्काहरू बढ्दै गएर वि.सं. १८७१ मा भीषण युद्धको रूप धारण गरेको थियो । यो युद्धले नेपाली जातिमा साम्राज्यवादप्रति तीब्र घृणा र जातीय एकताको भावना जागृत गर्यो । यही परिघटना नै नेपाली समाजलाई आधुनिकतातिर लैजान माइलस्टोन थियो र साथै जागृतिको नयाँ सोपान पनि थियो ।











