आमा !
यसपटक गाँजा खाएको थिइन
गाजा आएको थिएँ
थाह छैन
तिमीले बनाएको खाजा खान
फर्केर आउँछु कि आउँदिन !
एक दिन
अल्लारे साथीहरूको लहैलहैमा
तानेको एक सर्को गाँजाकै कारण
बाका क्रोधले बलेका आँखा
आमाका सन्तापले बर्सेका आँसु
आत्मग्लानी, हिनताबोधले नतमस्तक म
बस्नै नसकेर घरमा
गाँजा गन्हाएकै मुख लिएर
सँघार नाघेको हुँ
सहर गएर सुध्रिएको प्रमाण लिई आउन ।
सुध्रिएको प्रमाण दिएन सहरले
आफैँ बिग्रिइसकेछ म पुग्दासम्म
बिगारिसकेछन् घुम्ने मेचका अन्धा मान्छेहरूले
सहरले मलाई धैर्यता सिकाएन व्यग्रतामा
सहरले बरू हिब्रु सिकायो समग्रतामा ।
हो आमा,
सहर अचेल
स्वाभिमान र इमान्दारिताको साटो
कोरियन, जापानिज र अरबीहरू सिकाउँदो रहेछ !
अरब भास्सिए अरबी सिकेकाहरू
कोरिया सुइँकिए कोरियन सिकेकाहरू
जापान हान्निए जापानिज सिकेकाहरू
म आइपुगेँ
छिनछिनमा टाउकोमाथि मृत्यु दौडने सहरमा
मसँगै आए हिब्रु सिकेकाहरू ।
खेतीकै काम
तर, बाले गर्ने भन्दा आधुनिक
कृषि नै पेशा
तर, बाले कमाउने भन्दा तेब्बर
सर्प्राइज लिएर बा सामू
सुध्रिएको प्रमाण सहित फर्किने
अठोट जिउँदै थियो
गाजाको सिमाना आइपुग्दासम्म ।
अचानक ---
गाजा बल्यो आमा
टाउकै माथि बलिरहेछ
थाप्लो रन्काइरहेछ
देशले पानी पठाउला र ?
सुन्छु, अत्यासमा अतालिएको छ देश
बैठकमा व्यस्त छन् देश-नायकहरू
तिनीहरूका बैठक सकिँदासम्म
म सकिएनछु भने
भन्दिनु है बालाई-
गाँजा छोडेर गएको म
गाजा छोडेर आउँनेछु ।
आमा !
यसपटक
गाँजाको चक्करमा छैन
गाजाको बङ्करमा छु
थाह छैन
तिमीले बनाएको खाजा खान
फर्केर आउँछु कि आउँदिन !
(डेनमार्क)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।