नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।
यस अवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” भएको बताउनुभयो । कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर नै विकास हुन्छ भन्नुभयो । उहाँले राष्ट्रिय कविता महोत्सवको ढाँचामा अहिले गरिएको परिवर्तनलाई यसरी नै हेर्नुपर्छ भन्नुभयो ।
प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले समावेशितासहित नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको संरक्षरण गरिने छ भन्नुभयो ।
स्वागत मनतव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले नेपाली तथा मातृभाषामा रचिएका कवितालाई राष्ट्रिय कविता महोत्सव मार्फत समावेशीकरण गरी सबैको आत्मसम्मान र स्वत्व वृद्धिमा जोड दिने र आगामी वर्षदेखि साताव्यापी साहित्यिक महोत्सवको आयोजना गरी प्रतिष्ठानको वार्षिकोत्सव गराउने लक्ष्य रहेको बताउनुभयो ।
प्रतिष्ठानका परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नेपालका समग्र भाषाभाषीको सम्मानका लागि समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव”मा समावेशी चिन्तनको थालनी भएको र यसले सकारात्मक र नयाँ जागरणको भूमिका खेलेको बताउनुभयो ।
अध्येता तथा मुन्धुमविद् भोगीराज चाम्लिङद्वारा प्रस्तुत अवधारणापत्र “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी”माथि समालोचकद्वय ज्ञानु अधिकारी र गुरुङ सुशान्तले पूरक व्याख्या गर्नुभयो ।
यसैगरी प्राज्ञसभा सदस्यद्वय भागवत आचार्य र प्रकाश तिवारी, भाषा आयोगका सदस्य गोपाल अस्क, उपप्रध्यापक विष्णु ज्ञवाली , अन्वेषक विक्रममणि त्रिपाठी, उदय लामा, प्रतापसिं राई नाछिरिङ, डा. सोमबहादुर धिमाल, सज्जा दनुवार लगायतका सहभागीहरूले आफ्नो धारणा राख्नुभयो ।
यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा कुलपति राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गर्नुभयो ।