असार ९, काठमाडौं ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०८० सम्पन्न भयो ।
उक्त कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेको बताए ।
कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक पुष्पकमल दाहाल “प्रचण्ड”लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गरे । त्यस्तै प्रमुख अतिथि प्रधानमन्त्री दाहालले शेषराज देवकोटा र सन पुजारीलाई प्रज्ञा सेवा पदक तथा उत्कृष्ट कर्मचारी पुरस्कार, नरेन्द्रबहादुर पछिमा थारू ,रामबहादुर पहरी र जमुना कुचिकारलगायतका विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरे । साथै कलाकारहरू विकासनाथ योगी, सुरेश बज्राचार्य र रमेश अधिकारीले वाद्यवादन प्रस्तुत गरेका थिए ।
प्रज्ञा-प्रतिष्ठानका संरक्षक तथा विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किरातीले नेपाली भाषा,साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना छ र यसलाई हामीले विश्वभरि पु-याउन सक्नुपर्छ भने ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष भूपाल राईले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर विकास हुन्छ भन्दै एकलभाषी चरित्र आजबाट भत्काएर पुन:संरचित गरिएको छ यसले सकारात्मक र नवीन चेतनाको सुरुवात भएको छ भने ।
भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यसवर्ष नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेकोमा आफूलाई गौरवबोध भएको कुरा उल्लेख भएको शुभकामनापत्र पठाएर ऐक्यबद्धता जनाए ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले राष्ट्रिय कविता महोत्सवको माहोल उल्लासमय छ ।मनिषीहरूको सार्थक उपस्थितिले उत्साह थपेको छ र युगचेतनामा केन्द्रित कविता देखा पर्नु सुखद उपलब्धि हो भने ।
महोत्सवको उद्घाटन सत्र सञ्चालन क्रममा सदस्यसचिव डा. धनप्रसाद सुवेदीले समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सव प्रति अनेकौँ प्रश्न र जिज्ञासाबिच आकर्षक र उत्साहप्रद ढङ्गले उपस्थित भएका छौँ ।यसले नयाँ चेतनाप्रवाह गरेको छ भन्ने विषयमा जोड दिए ।
यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , पद्य/काव्य विभाग प्रमुख तथा राष्ट्रिय कविता महोत्सवका संयोजक बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सवलाई समावेशी सिद्धान्तअनुरूप अपनाइएको हो र यसले झन् विधागत रूपमा कवितालाई समृद्ध तुल्याउने बताइन् ।
यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”को अध्यक्षतामा कविता वाचन सत्र सम्पन्न भयो ।
कविता महोत्सवमा इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्याएर कविता पठाएको पाइएको छ । त्यसैले, ६४४ वटा कविता मात्र आधिकारिक रूपमा दर्ता भएका हुन् ।
कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती “प्रथा” र दीपक सापकोटाको एकछनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छानेको हो ।
यी वाचित कविताहरू मध्येबाट नेपाली भाषामा उमेश पुन/छोरी, सिमाना र देश, कृपाकरुणा पोखरेल/रक्तिम कथा, जीवन आरोही /प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा/कविले के सम्झियो ?, नवीन अभिलाषी /भेरी अभिशप्त बगिरहेछ, प्रकाश दिप्साली राई /नौरानको नाम, राधिका कल्पित /परिचयपत्र तथा नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी /मुई गोठ नाइँ भान्या हूँ र पूर्णानन्द ओझा /मान्सा तथा खाम मगरभाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप )/हुन्के वे बड्डाका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ ।
यसैगरी अतिथि कविहरू नर्मदेश्वर प्रधान,रमण घिमिरे, गोपाल अश्क, रामबहादुर थापा मगर, सन्जाकुमारी दनुवार, धीरेन्द्र प्रेमर्षी ,योगेन्द्र प्रधान, दिग्विजय मिश्र, केवल विनाबी, गीता कार्की, प्रगति राई, मुक्तान थेवा, प्रकाश गुरागाई, भूमिका चौधरी, हाङयुग अज्ञात, टङ्कमणि अधिकारी, सोझो गाउँले, स्वप्निल स्मृति, डा. सोमबहादुर धिमाल, शोभा सुनुवार, रचना तामाङ यात्री, छम गुरुङ र वसन्त बर्लाकोटीले कविता वाचन गरेका थिए ।