रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- कस्तो गौरवको गाथा यो ? बनाउँदा-बनाउँदै भग्नावशेष गन्हाउने- कस्तो निर्माण र सृजना यो ? डाँड़ा-काँड़ाबाट गिद्धका जोड़ीहरु उड़ाइने कस्तो चाहना र भाकल यो ? आगोले ह्वार-ह्वार सल्किरहेको विजयपताका बोकेको कस्तो विजय उत्सव यो ? हो साथी, यसरी नै घस्रिरहेछ यो वर्तमान अङ्ग-प्रत्यङ्ग सेप्टिक हुँदै- स्वनिर्मित ग्यास च्याम्बरभित्र यो धुकधुकि छाम्दै फट्फटिरहेछ स्वनिर्मित चक्रव्यूहमा यो मृत्यु पर्खिरहेछ। हुन त यो यति बीभत्स निश्चय नै हुने थिएन- हाम्रै दृष्टिहीनताले यो यति अन्धो छ हाम्रै बेहाेसीपनले यो यति अचेत् छ हाम्रै निष्ठुरताले यो यति कठोर छ। तर पटक्कै विसेक नहुने घाव पनि नसम्झ यसलाई फूल नै नफुल्ने अनुर्बरक बगर पनि नसम्झ यसलाई आशै गर्न नसकिने महानिराशा पनि नसम्झ यसलाई, यति हो कि अब हामीले हिरोसिमा र नागासाकीका छातीहरु प्रायश्चितका आँशुहरुले सिँञ्चित गर्नुछ, यतिञ्जेलका उन्माद र कल्मषहरु- बितेका शताब्दीसितै बिसर्जन गरी कलिङ्गदेखि अब द्रवीभूत बन्दै बन्दै…. नयॉँ शताब्दीको नयाँ यात्रा शुरु गर्नुछ प्रेमको न्यानो हरफहरुले अब नयाँ इतिहास लेख्नुछ। (नयाँ दिल्ली)