असोज ३०, काठमाडौं ।
संस्कृतिकर्मी सत्यमोहन जोशीको आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको छ । १०३ वर्षका जोशी युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण किष्ट मेडिकल कलेजमा उपचारत थिए। पछिल्लो पटक उनमा डेङ्गु सङ्क्रमण पनि देखिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरुले आजै दिउसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा उनको पार्थिव शरीरमा फूलमाला अर्पण गरेर सम्मान प्रकट गरे। अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारणको समेत ठूलो उपस्थिती रहेको थियो।
आइतवार बिहान निधन भएपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पहिला किस्ट अस्पताल र पछि ललितपुर महानगरपालिकामा ल्याइएको थियो। अन्तिम श्रद्धाञ्जलीपछि पार्थिव शरीरलाई पुनः किस्ट अस्पताल लगिने छ। मृत्युपछि अध्ययनका लागि आफ्नो पार्थिव शरीर अस्पत्ताललाई हस्तान्तरण गर्ने जोशीकै इच्छाबमोजिम पार्थिव शरीर मेडिकल कलेजलाई हस्तान्तरण गरिनेछ।
तीन पटक मदन पुरस्कारद्वारा पुरस्कृत शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले भाेलि सार्वजनिक विदा दिने भएको छ । ललितपुरको बखुम्बहालमा बस्नुहुने जोशी नेपालका एक लोकप्रिय संस्कृतिकर्मी थिए।