काठमाडौं।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा वरिष्ठ कलाकार, केन्द्रका तत्कालीन महासचिव एकारामको पहिलो पुण्यतिथिमा आज एक कार्यक्रमको आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै उहाँको योगदानको सम्झना गरियो। उहाँको कोरोनाका कारण २०७८ जेठ २४ गते असामयिक निधन भएको थियो। कार्यक्रममा उहाँको स्मृतिमा केन्द्रद्वारा प्रकाशित “एकाराम स्मृति” पुस्तकको विमोचन पनि गरिएको थियो । केन्द्रका महासचिव अनन्त वाग्ले र कोषाध्यक्ष शान्ति सापकोटाले उक्त पुस्तकको सम्पादन गर्नुभएको छ ।
सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले स्व एकारामको बहुमुखी व्यक्तित्त्वमाथि प्रकाश पार्दै आफूलाई उनले गुरु भने पनि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो।
केन्द्रका अध्यक्ष प्रमोद प्रधानले एकारामको योगदानको चर्चा गर्दै विमोचित पुस्तक संस्थाका सदस्यहरूको एकारामप्रतिको स्नेह र सद्भावको प्रतीक भएको बताउनुभयो।
स्व एकारामकी धर्मपत्नी रतिदेवी सिँले आफ्नो पति अत्यन्त शालीन व्यक्तित्वका धनी हुनुका साथै कलाकार, लेखक, संस्कृति अध्येता र वृत्तचित्र निर्देशक समेत भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा केन्द्रका सल्लाहकारहरू प्राडा चूडामणि बन्धु, प्रा रामकुमार पाँडे, सिर्जना शर्मा, पुस्तकालयविद् भोला श्रेष्ठ, बालसाहित्यकार विजयराज न्यौपाने, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका प्रमुख जुजुभाइ डंगोल र केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्व एकारामसँगका संस्मरण प्रस्तुत गर्दै उनको स्मृतिमा अन्य कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे र बालसाहित्यकार नेत्र तामाङले विमोचित पुस्तकको समीक्षा गर्नुभएको थियो भने वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीले एकारामबारे लेखिएको कविता वाचन गर्नुभएको थियो । केन्द्रका महासचिव अनन्त वाग्लेले संचालन गर्नुभएको सो कार्यक्रममा केन्द्रका कोषाध्यक्ष शान्ति सापकोटाले स्वागत र सचिव मञ्जु ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा स्व एकारामका परिवारजन, साहित्यकारहरू, चित्रकारहरू, पुस्तकालयविद्हरू र पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रमको सुरुमा स्व एकाराम सिँको तस्वीरमा माल्यार्पण गरिनुका साथै एक मिनट मौन धारण गरी उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो।