निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन मन पराउँछन्।
खास भन्न पर्दा हाम्रा मीत’बा अवकाश प्राप्त ब्रिटिश लाहुरे हुन्। जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाइ काठमान्डूमा नाम-चलेको ‘बोर्डिङ्ग’ स्कुल पनि पढाएका रे। केटाहरुले पनि फटाफट पढाइ सिध्याएर आफ्नो बाटो विदेशतिर तताएको बर्षौं भइसक्यो। पोहोर सम्म त उनीहरुमध्ये कोही न कोही एक महिना जतिको छुट्टी मिलाएर पालैपालो घर आउँने गर्थे।
***
कुरो अस्ति भर्खरको हो। डाँडाघरे राधाकृष्ण दिनभरिको उकालो-ओरालोपछि मीतबाको घर पुग्दा घाम अस्ताउँ-अस्ताउँ भएको थियो। मीत’बा पिँढीको छेउमा बसिरहनुभएको थियो।
***
नमस्कार, , मीतबा। खोइ, घरमा को-को छन्?
अहो, राधाकृष्ण पो? को हुनु नि, बाबु! उ, आमा उता लडिरहेकी छिन्! यसपालि कान्छोको घर आउने पालो हो, कुन्नि कता हो ‘होलिडे’ गएकोले नेपालतिर आउन मिलेन रे! ‘क्यार्नि त नि’? हामी त ….. ऊ…… त्यही बाटो हेरेको-हेर्यै भैयो।
***
अहो, आमा त बिरामी जस्तो पो हुनुहुन्छ त !
आ….. बाबु पनि, बुढी-माउ थला परेकी तीन वर्ष भैसक्यो, थाहा छैन?
***
कता पाएर थाहा हुनु नि, बा! हुन त सबै भाइहरुसँग भाइवर र फेसबुकमा मेरो बेला-बेला कुरा भै’रहन्छ । अनि माइलो र साइलोले बेला-बेला फेसबुकमा पोस्ट्याएको तस्बिर पनि हेरिरा’त हुन्छु नि! तैपनि मितिनी-आमा यसरी बिरामी हुनुभा’ कुरोको भेउसम्म मैले पाएको भए, मार्दिनु। के भा’का होलान् त लौ, केटाहरु? तिनीहरुले यस्ता घरायसी ‘गाँठी’ कुरो त मलाइ भनेकै पो रैनछन् त है, बा?
आ….. बाबु, कस्लाइ, के मात्र दोष दिनु? मलाइ त आफु नै अप्ठेरोमा फलेको फर्सी जस्तो लाग्छ। आफु ‘बालाखा’ छँदा पनि खुब दु:खले दिन काटियो। आफ्ना बा-आमालाइ दु:ख हुन्छ कि भन्ने सानैदेखि ठुलो चिन्ता हुन्थ्यो। घरको कामले थचक्कै थिच्थ्यो। पढ्ने-लेख्ने अवसरबाट पनि बन्चित भैयो। लाहुरे भएपछि त झन् धेरैजसो समय पल्टनमै बित्यो। छुट्टीमा घर त आइन्थ्यो तर यहि घर-गोठको काम सल्टाउँदा-सल्टाउँदै फर्किने बेला हुन्थ्यो। बा-आमासँग ढुक्कले एक दिन धित मारेर बस्न नपाउँदै उहाँहरु दुवै बिदा हुनु’भो। अहिले स्थिति ठ्याक्कै उल्टो भा’छ। छोराहरुलाइ सुखले हुर्काइयो, राम्रो स्कूल पनि पढाइयो। तैपनि उनीहरुलाइ हाम्रो भित्री खुशी बुझाउन सकिएन’छ। कहिले काहीँ आफैलाइ देखेर दिक्क पनि लागेर आउँछ !
मीत’बा फेरी थप्छन्: “आ’’बाबु … के गर्नु, खाइ-नखाइ दुनियाँ ठक्कर भोगेर पनि सन्तानको पखेटा जोड्देको हाम्ले नै हो, क्यारे! पहिला बरु बाटो अनि बिस्तारा मात्रै बिझाउँथ्यो, अब त बोली-बचन, भाका, व्यबहार सबैले पो घोच्न थाल्यो। त्यसैले, आखिरमा सबैले गर्ने भनेको पश्चाताप मात्रै रहेछ भन्ने जस्तो लाग्छ, बाबु!”
***
भवतु सब्ब कल्याणम् ।
(अस्ट्रेलिया)