‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’
धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो।
‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’
चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर प्रसारण गऱ्यो।
‘पासपोर्ट र श्रमस्वीकृति कार्यालयका ३०० बिचौलिया पक्राउ!’
आफ्ना रिपोर्टरलाई बिचौलाबाट अघिल्लो सरकारले हटाइदिएको रिस फेर्दै चल्तीको मिलियन सब्स्क्राईवर रहेको अनलाइन पोर्टलले मन्त्रीको प्रसस्तीसहित लम्बेतान समाचार लेख्यो।
‘सारा बिचौलियाहरुलाई समातेर जेल हाल्नेछौँ । यसको सुरुवात हामीले गरिसकेका छौँ ।’
मन्त्रीज्युले ठोकेको भाषण मन्त्रीजीभन्दा चाडै मन्त्रायणीको टिभीमा आयो। गेटबाट भित्र छिर्न पाएका थिएनन् मन्त्रीजी मन्त्रायणी मेसिनगनझैँ पड्किन थालिन्, ‘साप्ताहिक रुपमा पैसा बुझाएकै थिए त टाइममै! किन पक्राऊ गराइ’स्या विचौलिया केटाहरुलाई?’
मन्त्रीले पनि चर्कै स्वरमा हकारे, ‘था’ पाइनस् अझै! तेरा ठेट्नाहरुले उठ्तिको सबै पैसा बुझाएनन्, अब यी नालायकहरु थुनेर सबैतिर हाम्रै पार्टीका लायक र अनुभवी बिचौलियाहरुलाई राखिन्छ। महाधिवेशनमा त्यत्रो ज्यान दिएर सहयोग गर्ने र मलाई पदमा पुऱ्याउनेलाई केही पनि नदिए कसरी पार्टी चल्छ?!’
(क्यानडा)