मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । पहाडको भित्तामा अडेस लागेको झुपडिभित्र आफ्नै उमेरको पहाडले थिचिएका बृद्व बुवाआमाको हातमा थमाउनु छ - दमको औषधी पुराउनु छ बाटो र एम्बुलेन्स । धनप्रसादका छोराछोरी विद्यालय पुग्ने बाटोमा उभिएको गरिवीको पर्खाललाई भत्काउनु छ कर्म र जिन्दगी पढाउने बनाउनु छ अहम् र महत्वाकांक्षाको झोला बोकाउने पाठशालालाई । मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । रोग, भोक र अभावको कोर्रा लागेका रामे, श्यामे र दामेको ढाडहरूमा लगाउनु छ - मलहमपट्टी "रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु वेश!" कथा र कथन बुझाउनु छ । अनुहारमा मुस्कान पोतेर जनताको सेवा गर्ने स्वास्थ्य सेवक र, बनाउनु छ आफ्नै घर अनुभूत हुने - अस्पताल । मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । बन्द गर्नु छ बेरोजगारीको भूतले लखेटिएर परदेस पुग्ने बाटो र, बुझाउनु छ - श्रमले यहीं फल्छ सुन । जीवनको बगैचामा फक्राउनु छ खुसी, बिश्वास र प्रेमका फूलहरू हरेक घरहरू पोत्नु छ - आत्मीयताको रङले । मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु पुराउनु छ हर घरमा खान योग्य - खानेपानी पुराउनु छ हरेक झुपडीमा - बत्ती । मेरा सपनाहरू भन्नु मेरा मात्रै सपना नरहेपछि मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु ! (प्युठान)