मलाई त हुनु छैन "म" मेरो मात्रै
म त सबैको हुन चाहन्छु ।
पहाडको भित्तामा अडेस लागेको झुपडिभित्र
आफ्नै उमेरको पहाडले थिचिएका
बृद्व बुवाआमाको हातमा थमाउनु छ - दमको औषधी
पुराउनु छ बाटो र एम्बुलेन्स ।
धनप्रसादका छोराछोरी विद्यालय पुग्ने बाटोमा
उभिएको गरिवीको पर्खाललाई भत्काउनु छ
कर्म र जिन्दगी पढाउने बनाउनु छ
अहम् र महत्वाकांक्षाको
झोला बोकाउने पाठशालालाई ।
मलाई त हुनु छैन "म" मेरो मात्रै
म त सबैको हुन चाहन्छु ।
रोग, भोक र अभावको कोर्रा लागेका
रामे, श्यामे र दामेको ढाडहरूमा
लगाउनु छ - मलहमपट्टी
"रोग लागेर उपचार गर्नुभन्दा
रोग लाग्न नदिनु वेश!"
कथा र कथन बुझाउनु छ ।
अनुहारमा मुस्कान पोतेर
जनताको सेवा गर्ने स्वास्थ्य सेवक
र, बनाउनु छ आफ्नै घर अनुभूत हुने - अस्पताल ।
मलाई त हुनु छैन "म" मेरो मात्रै
म त सबैको हुन चाहन्छु ।
बन्द गर्नु छ
बेरोजगारीको भूतले लखेटिएर परदेस पुग्ने बाटो
र, बुझाउनु छ - श्रमले यहीं फल्छ सुन ।
जीवनको बगैचामा फक्राउनु छ
खुसी, बिश्वास र प्रेमका फूलहरू
हरेक घरहरू पोत्नु छ - आत्मीयताको रङले ।
मलाई त हुनु छैन "म" मेरो मात्रै
म त सबैको हुन चाहन्छु
पुराउनु छ हर घरमा खान योग्य - खानेपानी
पुराउनु छ हरेक झुपडीमा - बत्ती ।
मेरा सपनाहरू भन्नु
मेरा मात्रै सपना नरहेपछि
मलाई त हुनु छैन "म" मेरो मात्रै
म त सबैको हुन चाहन्छु !
(प्युठान)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।