मैले चिनेको नेपालीले एमसिसी स्वीकार गरेको पाइनँ । यसले नेपाली स्वाधीनता पिट्छ, थिच्छ, खान्छ नेपाली सान मेटाइदिने ध्याउन्नले पस्न खोज्दै छ यहाँ । हात थापेर रमाउन पल्केकाका लागि पनि यसको प्रवेश ओछ्यान भिजेपछि दैलो देखेको दृश्य हो । आफैमाथि बन्चरो प्रहार गरेर बहादुर बन्ने हो र ? चेतनाको टोपी लाएको नेपाली प्रतिक्रिया यस्तै छ नो एमसिसि भन्छ, नो एमसिसि दोहोर्याई दोहो¥याई भन्छ । मेरो चिन्ता र चासो पनि स्वाधीनता खुम्चिन, कुच्चिन र अप्ठेरोमा पर्नु हुँदैन । राष्ट्रिय स्वाभिमानमा आँच पर्ने विषय कदापि स्वीकार्य छैन । पुर्पुरामा गिदी र हृदयमा देशप्रेम भएको नेपाली मनमस्तिष्क यही भन्छ । यसै गरौं भनेर आग्रह गर्छ । आग्रहलाई कसैले कमजोरी ठान्छ भने त्यसको मस्तक उधिनेर मिल्काउन पछि पर्दैन नेपाली पूर्वज चेतना ।
विश्वमा धेरै विकसित देश छन् । विकासोन्मुख र अल्पविकसित देश पनि कम छैनन् । ती देश प्रत्येकको आ–आफ्नै मौलिक विशेषता छन्, पहिचान छ, स्वाभिमानी शिर उचालिएकै छ । नागरिक त्यसैमा गौरव गर्छन्, रमाउँछन् उनीहरु आफै कर्म गरेर देशको मान र पुर्खाको सान जोगाउन उद्यत छन् । आफ्नो मान स्वाभिमानमा रमाउने प्रतिबद्धतामा विचलन आउन दिँदैनन् । आफ्नो सुख, इज्जत र प्रतिष्ठाको ख्याल गर्नेले अरु देशका नागरिकको स्वाभिमान खोस्न बल गर्ने ? मनोवैज्ञानिक संवेदना बुझेर त्यस अनुरुपको मित्रवत् व्यवहार गरिनुपर्ने तर बिडम्बना जनसङ्ख्या र हतियारसँग दाँज्ने, दादागिरी देखाउने हेपाहा प्रवृत्ति प्रयोग गरेर धम्क्याउने गरेको पाइयो । आफ्नो शक्ति प्रदर्शन गर्ने हुँडार अर्काको देशको स्वाधीनतासँग खेल्न लाज मान्दैन कस्तो नकचरो ! हाम्रा अगुवा चेतनाको चोइलो फुटालेर आँखा जुधाउन छाडेर भिजेया बिरालोभैंm लुतुक्क पर्छन् ।
कुनै पनि देशका नागरिक स्वाधीनताका पुजारी र स्वाभिमानका हिमायती हुन्छन् । युगल साम्राज्यमा महाराणाप्रतापले घाँसको रोटी खाए तर आत्मसमर्पण गरेनन् । पर किन जाने हाम्रै बलभद्र कुवँर, भक्ति थापा, अमरसिंह थापा, गङ्गालाल, कृष्णराज अधिकारी, कृष्णसेन इच्छुकहरुको त्याग र बलिदान सम्झने साहस र इमान भए पुग्छ । सिमानामा बसेका नेपालीको दिनरात खटाइले बनाइरहेको घन घसी बन्चरोको माटो सुघ्ने मनोविज्ञान के भन्दो हो ! एमसिसिले हाम्रो ढाडमा टेकेर टाउकोमा हान्दै गरेको दृश्य आँखाभरि हुँदा ! संविधान अपाङ्ग बनाउँदै गरेको चर्तीकला ! कानुनको खिल्ली उडाएको यथार्थ चाल पाएपछि ?
मान्छे राजनीति किन गर्छ ? देशको सार्वभौम सत्ता रक्षार्थ, जनसेवार्थ, विलासमा रमेर निजी सुख भोग्नार्थ वा कतै फेर समातेर स्वार्थको आगो तापी खरानी बेच्ने दाउ फेला पार्न त होइन ? झट्ट हेर्दा सामान्य लाग्छ यो खिचातानी किन भइरहेको छ ? तर सुसूचित हुने जनाअधिकारको रक्षा गरी व्यापक बहसमा लगेर सत्यतथ्य जनसमक्ष ल्याउने प्रयत्न किन गरिँदैन ? चपाउने लुकाएर देखाउने दाँतको भरमार प्रयोग भइरहेको छ । समाचार माध्यम पनि सत्यतथ्य सूचना दिने दायित्वबाट पर पर भाग्छन् । खालि कोरलीका पछि बहरभैंm त्यसले यसो भन्यो उसले त्यसो भन्यो भनेर नेताहरुको दोहोरीका पछिपछि लाग्छन् । सही सूचनाको वैज्ञानिक विश्लेषण गरी वस्तुतथ्य जनतासामु पु¥याउने पेसागत मर्यादा चटक्क दोबाटोमा छाडेर पार्टी समर्थनमा बहकिन्छन् । कार्यकर्ता विवेक बिर्सेर कागका पछि दौडन्छन् कान छाम्ने फुर्सद छैन उनीहरुलाई । देशको अस्तित्व मातृभमिको गरिमाप्रति सचेत नागरिक दायित्व निर्वाहमा बुद्धिजीवीहरु पनि चिप्लेटी खेलिरहेको देखिन्छ । विद्वान्को विचार र विश्लेषण खै कहाँ सुन्न वा पढ्न पाइन्छ ? कामले उभिन खोज्ने विद्वान्को अभावै अभाव छ । पार्टीबिल्ला भिरेर पदमा पुग्ने, सिन्को नभाँच्ने, भत्ता खाने, समय कटाउने तुच्छ नियतको दम्भमा विद्वान्का पखेटा काटिएका छन् । राष्ट्रिय स्वाधीनताको मुद्दामा पनि मुखमा पिँडालु हालेर बस्ने ? एक ठाउँ उभिन नसक्ने बौद्धिकहरुको दरिद्रता नै हो र राजनीतिक पार्टीका नेताकार्यकर्ताको बुद्धिमा बिर्को लाउने साँचो पनि । यहाँ त केवल गाला बजाउने होडबाजी छ । कति पार्टीहरु मुखमा पट्टी बाँधेर अन्योलको पिङमा मच्चिरहेका छन् । अरुको निर्णयमा ताली बजाउने लाछी मानसिकताले निर्लज्ज पेट पालिरहेछन् शिर झुकिरहेको छ ।
के हो एमसिसि ? स्रष्टाहरु पनि द्विविधाको भुमरीमा परेका छन् । कस्तो अचम्म छ स्रष्टाहरु सदैव राष्ट्रिय हितमा समर्पित हुन्छन् । उनीहरु राजनीतिक स्वार्थले सिता टिप्ने दुस्साहस गर्दैनन् भन्ने सुनेको हो । विगतमा व्यवस्था परिवर्तनका सन्दर्भमा भएका सङ्घर्षहरुमा त मतैक्य देखिएको पनि हो तर कति ठुलो बिडम्बना एमसिसिजस्तो राष्ट्रघाती दीर्घकालीन असरले सिङ्गै राष्ट्र कुच्याउने विदेशी खेलका विरुद्ध एक भएर स्वर सुसेल्नै नखोज्ने ? यसमा को–को कुन–कुन स्वार्थमा लिप्त छन् ? यो अनुसन्धानको गम्भीर विषय बनेको छ । उसले पनि नेपाली जनभावनाको वास्तै नगरी लिई लिई, मैले जसरी दिएँ त्यसै गरी लिई, जस्ताको तस्तै लिई, खाए खा नखाए घिच ! कोचाइरहेको छ । यहाँका जनताको संवेदना किन थिचिरहेको ? सभ्य भनिएकाले अरु देशका नागरिकको भावनामाथि खेलवाड गर्ने ? केकेन स्वाधीनता र मानवाधिकारका नारा फलाक्ने तर व्यवहारमा नियन्त्रण गर्ने विभिन्न दाउपेच चलाइरहने ? आफ्नो शक्ति प्रदर्शनको अखाडा बनाउने अर्काको देशलाई ? खै कुन देशका जनता खुसी र सुखी भए एमसिसिको सुविधाले ? हाम्रो देशमा उसकै नियमकानुन लागु हुने ? हाम्रो संवैधानिक मूल्य क्वाप्प खाइदिने ? यतिमात्र होइन हामीले हाम्रा विकास योजनाहरु कार्यन्वयन गर्नुपर्दा अर्को छिमेकी गुहार्नुपर्ने ? हाम्रो सार्वभौम सत्तासम्पन्न स्वाधीन राष्ट्रले बाँच्नुपर्दैन ?
सभ्य मान्छेले पूरा गर्ने नागरिक दायित्व कति सस्तिएछ अचेल ? एउटा पदसित साटिने, कुनै देशको यात्रासँग साटिने, छात्रवृत्तिसँग साटिने, पदोन्नतिको हेराफेरीमा रमाउने, केही रकम र पदमा रहिरहने आश्वासनले साटिने ! कस्तो हो यो पुरुषार्थ ? मातृभूमिको गाथा गाउने अगेनाको डिल र चुनावी भाषण मात्र हो ? कति संवेदनाहीन भएको छ बौद्धिकवर्ग, उपेक्षित बनेको छ राष्ट्रिय स्वाभिमानको मुद्दा ? प्रश्नहरु अनन्त छन् । शक्तिराष्ट्रले खोजेको विश्वमा आफ्नो वर्चस्व हो हामीलाई मदत होइन भन्ने यथार्थ छर्लङ्ग बुझेर पनि जिब्रामा चुइगम टाँसेर बोल्ने लठेब्रा राजनीतिज्ञले कतिखेर कुन खाल्डोमा लगेर देश गाड्छन् ठेगान नहुनेरहेछ ! मान्छेपिच्छे नानाभाँती कुरा गरेर अलमलका खट्टे चपाइरहनुको के अर्थ ? राष्ट्रियताको डोरी नचुँड्दै एकताको मालामा बलियो बनेर स्वाभिमानको सुसेलीमा आत्मीयभाव बचाउने नेपालीको दृढ सङ्कल्प बालुवामा पानीझैँ हराएर जान दिनु हँुदैन सचेत नागरिकले । बेलैमा जोस, होस र इमानको खेती जोगाएर राष्ट्रको गौरव उठाइरहने नागरिक दायित्व पूरा हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? ‘अस्तु’