हामी एक योद्धा
कसैले रोक्न र छेक्न सक्दैन
नरम छन् काँडेबार
बन्धनहरू बाँध्न मृग भएर दौडन्छन्
उर्लेर वेर्न थाल्छन् छालहरू
तिनलाई हरदम पार गर्न
हामी तैनाथ भएर सजग हुन्छौँ
हामी एक योद्धा
हिँड्दा गर्जन्छौँ आफ्नै पथमा
बुटका आवाज घन्कँदा द्वार खुल्छन्
दिवास्वप्नका स्वरहरू सुकेर
टुट्दै जान्छन् क्षतविक्षतमा
जन्जिरले बाँधिएको भूमरीबाट निक्लेर
जनसर्वोच्चता कायम गर्न
हामी योद्धा हरपल हिँडिरहन्छौँ
हिमाल पहाड तराई पार गर्दै
एक एक पाइला अगाडि बढ्दा
ती बोझहरू हलुका भएका हुन्छन्
आमा बोलाउँछिन्
सारङ्गीबाट हामीलाई
सङ्गीतको भाषा सिकाउन
पत्थर हृदयबाट युरेनियम बनी
अत्याचारका साङ्ला चुडाल्न
रातका प्रहर अनि दिनका घडीहरूमा
हाम्रा तस्बिरहरू खिचिरहन्छिन्
योद्धाको पीडामा मलम लगाउन
हामी एक वीर योद्धा
भोक तीर्खा निँदको प्रवाह भएन
वर्ष कति बिते थाहै भएन
अचानक झल्यास्स हुँदा
हाम्रा हातमा अनि माथमा
कोर्दाकोर्दै अन्धकारका रेखाहरू
बिहानी बनेर व्युँझिएछौँ
हामी एक अन्याय विद्रोही योद्धा
अभैmँ लेकबेसी कुँद्नु छ
फाँट–फाँटमा जुरमुराएर
दिनको सङ्केत गर्दै
मिरमिरेमा तारा झारी
दीप प्रज्वल्लित गर्नु छ
सुगन्धका स्वरहरू वर्षाएर
गन्तव्य पुग्नका खातिर
कुद्नु छ फराकिला सडक भएर
यहाँ कसलाई के थाहा !
विश्व हाम्रो प्रतीक्षा गरिरहन्छ
नौलो किरणको आभासमा
योद्धाको सफलतामा
अनि सुतिरहेको आलोकमा
त्यसैले त गर्व छ हामीलाई
तैनाथ सजग एक योद्धा हौँ भन्न ।
(गुल्मी)