यमुना,
जसले वैँसका संवेदनाहरू
आस्थाका छातीभरि घोप्ट्याएकी थिइन् !
रहरका देउरालीहरूमा
पिरतीको मिठो भविष्य रोपेकी थिइन्
नसोच्दा–नसोच्दै,
छिनभरमै गल्र्याम्म ढलेर
आज विस्तारै निदायो उनको पहाड
र जीवनको आँटीभरि
एउटा निर्जन नीहारिका उघारेर
झल्यास्स ब्युँझियो
जूनीभर दुखिरहने पीडाको निर्मम इतिहास !
तर, कस्तो अचम्म !
मृत्युका पिरामिडहरू उठाएर
रगतले लेखिएका
जीवनका शीलालेखहरू सुक्न नपाउँदै
आज फेरि
हिनहिनाउन थालेको छ- विकराल प्रत्युत्पादन !
सेतीका चिसा बगरहरूमा
भासिँदै गरेका उनका करोडौं भविष्यहरू
कालापत्थरका चट्टानहरूमा
फोरिदै गरेका उनका सहस्र सपनाहरू
निर्जीव राष्ट्रको निरीह शासकझैँ
अलिक पर ठिङ्ग उभिएर
टुलुटुलु हेरिरहेछ- एउटा लाचार वर्तमान !
हो यमुना,
तिम्रो पहाड सहिद दुखेर
यतिखेर
म देश बाँच्न पाएको छु !
साँच्चै ! यमुना,
क्रान्तिको गर्भ बोकेर
तिमीले तुफानको गुरुत्व निम्त्याउँदै गर्दा
दासताको ओढारभित्र
म एउटा कायर सहर हुर्किँदै थिएँ !
तिम्रो स्वाभिमानी शिरभरि
कालापानीको खिल चसक्क बिझिरहँदा
म घरभित्रै,
अंशवण्डाको शीत युद्ध लड्दै थिएँ !
वर्गप्रेमका धुनहरू सुसेलेर
तिमी हजार माइलको यात्री बन्दै गर्दा
जिन्दगीको खण्डरभित्र
म घरेलु विभिषण बनी जन्मिदै थिएँ !
सायद,
म एउटा खतरनाक देशद्रोही हुँ !
हो यमुना,
कृपा गरी मलाई एक थोपा मृत्यु पस्किदेऊ !
मेरी यमुना !
तिमीले स्वर्णीम पहाड हारेर
समयको कुरूक्षेत्रभित्र
एउटा सिङ्गो युग जितेकिछ्यौ !
अभिशप्त जीवन जलाएर
अगणित उदात्त आयमहरू बाँचेकिछ्यौ !
गौरका राष्ट्रिय सिकारीहरू
नागरिक तिरो डसेर
संसदीय गोठमा उग्राइरहेको समयमा
एक हुल कठपुतलीहरू
माल्यार्पण गरिरहेछन्- निर्जीव शालिकहरूमा !
अफसोच !
सपनाको बिस्कुन कुल्चिर
जीवनको मलामी हिँडेको अघोरी जुलुशभित्र
तिम्रो पहाड भेटिने छैन, यमुना !
यसर्थ कि:
जासुसी थैली थन्क्याएर
विलासिताको घोडचढी दौडिदै गर्दा
जिन्दगीको भीरबाट
बङरङ्ङ लडेर उसको पखेरू उडेको होइन !
बार्दलीमा उभिएर
वैँसका उमङ्गहरू जूनसँग विनिमय गर्दै गर्दा
क्रसफायरमा परेर
उसले अकस्मात् जीवन गुमाएको पनि होइन !
ऊ त,
वर्गयुद्ध लड्दा–लड्दै
उत्सर्गको अग्लो पहाडबाट
गर्ल्याम्म ढलेर नअस्ताउने तार बनेथ्यो !
(झापा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।