एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरुको घेरामा पर्यो । जङ्गलमा निस्फिक्रिसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !
घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र भन्यो- “न डराइबक्स्योस् गधा महासय, हामी हजुरका गाथमा कुनै हानी नोक्सानी पुर्याउन आएका हैनौं ।”
डराइ डराइ गधाले सोध्यो- “उसो भए किन घेरा हालेका त ?
“राजा बनाउन”- ब्वाँसाले उत्तर दियो र थप्यो- “हजुर सोझो, इमानदार, कर्तव्य परायण र सात्विक प्राणी होइबस्नु भै राजा हुन योग्य होइबक्सन्छ त्यसैले ।”
ब्वाँसो वचनमा चिप्लिएको गधाले राजाको शक्तिशाली तथा वैभवयुक्त जिन्दगी सम्झियो र प्रसन्न चित्तले हाँस्यो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !
त्यसपछि ब्वाँसाको नाइकेले गधालाई श्रीपेच लगाइ दियो र नयाँ राजाको घोषणा गर्यो अनि आफूले पनि आफैं शिरमा फेटा बाँध्यो र आफूलाई प्रधानमन्त्री घोषणा गर्दै फर्मान जारी गर्यो- “चारै प्रहर जागा बसेर महाराजको सुरक्षा गर्नु । राज आज्ञा नहुन्जेल चरो मुसो पनि सुरक्षा घेरा भित्र पस्न नपाओस् र सेन्ट्री बस्ने पालो परेको ब्वाँसाले “जागते रहो ! जागते रहो ! भनेर सतर्कताको नारा लगाइरहनु ।”
गधा निश्चिन्त भयो ब्वाँसाहरुसँग र बसेकै ठाउँमा लुपुक्क निदायो । ब्वाँसाहरु भनें जागै रहे ‘जागते रहो-जागते रहो’ को नारा घन्काउँदै ।
बिहान हुँदा ब्वाँसाहरु निदाइरहेका भेटिए र राजाको चैं हाडखोरमात्र ।
(मैतिदेवी, काठमाडौ)