नेपाली साहित्य आकाशमा उदाएका विभिन्न नक्षत्रहरू मध्ये एक नक्षत्रका रूपमा देखापरेका केशरी अम्गाईको नाम त्यति नयाँ नाम होइन । समसामयिक युवा पुस्ताका क्रान्तिकारी र प्रगतिवादी विचारधारा बोकेका एक सशक्त युवा हस्ती हुन् । विद्यार्थी उमेरदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका अम्गाई नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील साहित्यिक व्यक्तित्व हुन् ।
देशमा राणाहरूले १०४ वर्षसम्म जहानियाँ शासन चलाउनु, त्यस शासनले राणाहरू र केही ठुलाब्डाका छोराहरूले मात्र अक्षर चिन्न पाउनु र अन्य सर्वसाधारणको लागि शिक्षा काला अक्षर भैंसी बराबर हुनु, २००७ सालमा राणा शासनको अन्त्य हुनु र देशमा प्रजातन्त्र आउनु १० वर्षसम्म प्रजातन्त्र आए पनि खासै धेरै प्रगति र उन्नति हुन नपाउनु २०१७ सालमा राजा महेन्द्रले एक दलीय पञ्चायती शासनको व्यवस्था लागू गर्नु २०४६ सालमा पञ्चायती शासन ढलेर बहुदल आउनु र २०६२/०६३ को दोस्रो जनआन्दोलन पछि देशमा लोकतन्त्र र गणतन्त्र आउँदा पनि देशले काँचुली फेर्न नसकेका कुराहरू अम्गाईले आफ्ना उपन्यास र कथाका माध्यमबाट आफ्ना क्रान्तिकारी विचारहरू सम्प्रेषण गरिरहेका छन् ।
केशरी अम्गाईको जन्म वि.सं २०३० सालमा पिता बालकृष्ण अगाई र माता रेवती अम्गाईको कोखबाट गोरखा जिल्लाको हालको बारपाक सुलिकोट गाउँ पालिका वडा नं ७, देउराली र साविकको देउराली गा वि.स.मा उनले पहिलो पाइला टेकेका थिए । हाल उनी आफ्नो जीवन जीउने क्रममा काठमाडौँको मनमैजुमा रहेको हिमरश्मी बोर्डिङ स्कुलमा शिक्षण कार्यमा संलग्न रहेका छन् ।
पचासको दशकदेखि औपचारिक रूपमा उनका कृतिहरू प्रकाशनमा आइरहेका छन् । हालसम्म उनका चार ओटा कृतिहरू बजारमा आइसकेका छन ‘युद्ध क्षेत्र’ उपन्यास २०५६, ‘सुकेको मुढा’ कथासङ्ग्रह २०६०, ‘सपनाको दाहसंस्कार’ कथासङ्ग्रह २०६८ र ‘आफर’ संयुक्त कविता सङ्ग्रह २०७३ रहेका छन् । यी बाहेक पनि विभिन्न राष्ट्रिय र स्थानीयस्तर का पत्रपत्रिकाहरूमा उनका विभिन्न किसिमका लेख र रचनाहरू छापिइरहेका छन् । अनुवाद कर्ममा पनि उनको कलम चलेको देखिन्छ । केशरी अम्गाईका प्रकाशित कृतिहरू र फुटकर रचनाहरूलाई अध्ययन गरिसकेपछि उनलाई उनका समकालीन साहित्यकारहरूका बिच एक स्थापित प्रगतिवादी उपन्यासकार र कथाकारका रुपमा मूल्याङ्कन गर्न सकिन्छ ।
अम्गाईको ‘सपनाको दाहसंस्कार’ कथा सङ्ग्रहभित्र नेपालीहरूले विदेशमा र खाडीमुलुकमा गएर के कस्ता दर्दनाक घटनाहरू बेहोर्नुपर्दछ, नेपालीहरू नेपालमा मात्र नभई विदेशमा पनि कसरी ठगिन्छन् र ठगिएका छन् भन्ने कुराहरू छर्लङ्ग हुन आउँछ । वास्तबमा यहाँ लेखकले कथाको उपाधि दिएका छन् तर वास्तविक घटनामा आधारित भएकोले यसलाई आत्मसंस्मरणात्मक कथा भन्नु पर्ने थियो । उनले विदेशमा जे देखे, जे भोगे र जे अनुभव गर्न पाए त्यो नै उनले आफ्ना कथाहरूमा व्यक्त गरेका छन् । उनी भावनामा डुबेर कल्पनाका आधारमा लेखिएको कथाहरू यो होइनन् । त्यसैले यो कथासङ्ग्रहलाई वास्तविक घटनामा आधारित कथासङ्ग्रह भनेर नाम दिँदा पनि फरक पर्दैनथ्यो । उनको यो सङ्ग्रहभित्र रहेको कथाहरूले बहुसङ्ख्यक नेपालीहरूले विदेशी भूमिमा गएर भोग्नुपरेको दुःख, पीडा, मर्म यातना, सास्ती, अपहेलना र घृणा बोलेको छ । साहित्य नै समाजको दर्पणछायाँ हो भने जस्तै यो कथा सङ्ग्रह विदेश जानेहरूले विदेशमा भोगिरहेको यथार्थ घटना देखाउने ऐना हो ।
‘विवशता’ शीर्षकको कथामा स्वदेशका म्यानपावरमा कामगर्ने साहू र दलालीले ६५० रिङ्गेट पाइन्छ वा पाउँछस्। बस्ने सुविधा छ, कोठा भाडा लाग्दैन खानाको आफ्नै खर्च हो, ६ महिनापछि तलब बढेर ८०० रिङ्गेट हुन्छ भनेर उमाकान्तलाई विदेश पठाएको तर त्यहाँ गएर काम गरेपछि र महिना मरेपछि ४५०मात्र तलब दिएको त्यो घटनाले उमाकान्त भण्डै बेहोस भएर ढलेन । धेरै पटक कम्पनी साहू र म्यानेजरसँग पनि कुरा ग¥यो तर उसको कुरा गराई केवल घनाजङ्गलको एकान्त रुवाई जस्तै नै भयो । उसको कुरा न त कम्पनी मालिक र म्यानेजरले सुने न त नेपाली राजदूतावासले नै सुन्नेकान लगाइदियो ।
‘चक्कर’ कथामा खाडी मुलुकमा दिउँसोको टन्टलापुर घाममा दिउँसो बेल्चा चलाउँदा चलाउँदै चक्कर लागेर प्रकाश ढलेको घटना रहेको छ । प्रकाशमात्र होइन यस्ता कयौ व्यक्तिहरू चक्कर लागेर दिनदिनै ढल्दछन् । नेपालको चिसो हावापानीमा हुर्केका नेपालीहरू अरबको मरुभूमिमा काम गर्दा गर्दै गर्मीले ढलेको र मानवरूपी दानवजस्ता ढुङ्गाजस्तो हृदय भएका फोरम्यानले साला कामचोरहरू भन्दै प्रकाशलगायत उसका साथीहरुलाई पनि हिन्दी भाषामा नराम्रो गाली गरेको घटना यस कथामा रहेको छ । विदेशमा अर्काको गाली सुन्नुको बाहेकको बिकल्प केही पनि छैन । किनभने ऊ बेचिएको थियो नेपालीबाटै र नेपालसरकारबाट, यो कोण र त्यो कोणबाट । त्यसैले प्रकाशले आफ्नै भाग्यलाई दोष दिँदै अरु कसैलाई केही प्रतिक्रिया जनाएन ।
त्यसरी नै ‘भिजिट भिसा’ कथामा नेपालको त्रिभुवन विमान स्थलमा सामान्य कर्मचारीदेखि उपल्लो स्तरका कर्मचारीले समेत दिउँसै रात पारेर ठगेका घट्नाहरू रहेका छन् । भिजिट भिसा र पासपोर्ट ओर्जिनल हुँदा हुँदै पनि पैसा ठग्नको लागि भिसा मिलेको छैन भन्छन् र पैसा दिएपछि त्यही भिसा मिलेको छ भनेर छिर्न दिएको घटनाहरू देखाइएको छ । यो घटना कुनै काल्पनिक होइन यो यथार्थ घटना हो । यही यथार्थ घटनालाई कथाकारले कथामा जस्ताको तस्तै टपक्क रिपेर थपक्क ल्याएर राखिदिएका छन् ।
‘सपनाको दाहसंस्कार’ शीर्षकको कथामा विकास नाम गरेको व्यक्ति विभिन्न किसिमका सपनाहरू पूरा गर्ने उद्देश्यले कुवेत पुग्छ तर कुबेत पुगेको डेढ महिनामै उसको मृत्यु हुन्छ तर मृत्यु भएपनि त्यहाँको प्रशासनले मृत्युभएका वा कालगतिले मरेका मानिसलाई विभिन्न किसिमका सुविधाहरू दिनुपर्ने भएकोले पुलिस रिपोर्टमा आत्महत्या गरेको रिपोर्ट बनाउँछ र बनायो पनि । अर्काको देशमा बोल्न पाइदैन, राजदूतावासले केही गर्न सक्दैन त्यो भनेको हामी आफैँ धनमा गरिब र देश गरिबीको खाडलमा पुग्नुको नियती नै त्यस्तै हो । त्यसैले घरको कमजोर आर्थिक अवस्थाले गर्दा धन कमाउनको लागि अनेक सपना बुनेर विदेश गएको विकासको सपना नै पूरा नहुँदै उसको दाहसंस्कार भएकोले गर्दा नै कथाको शीर्षक नै ‘सपनाको दाहसंस्कार’ रहेको छ ।
यो कथा सङ्ग्रह भित्र रहेका कथा र यहाँका पात्रहरूले मात्र पाएको दुःख, कष्ट, पीडा, वेदना र तिरस्कार होइन विदेश हेलिने बहुसङ्ख्यक श्रमिकहरूले पाएको पीडा र सास्ती हो । नेपालमै रहेका अन्य व्यक्तिहरूको वा गरिबीको रेखामुनि रहेका र बिहान खाए बेलुकी के खाऊँ, बेलुकी खाए बिहान के खाऊँ भन्नेहरूको ब्यथा नै यही हो । जब भारतीय उपमहाद्वीपमा बेलायती शासनको विस्तारको बेलामा नेपाली युवाहरू विदेशी सेना र अन्य क्षेत्रमा पनि जान थाले र संसारका विभिन्न भागमा पुगे तब विपन्नताको घेरोलाई तोड्नको लागि सम्पन्नताको खोजीमा बाहिर जाने झण्डै दुई सय वर्ष पहिले सुरु भएको यो श्रृङ्खला निरन्तर जारी रहेको छ यो क्रम घट्ला भन्दा झनझन बढ्दो क्रममा रहेको पाइन्छ ।
प्रस्तुत ‘सपनाको दाहसंस्कार’ कथा सङ्ग्रह तिनै सपना देख्ने र सपना साकार पार्न विदेशीने नेपाली युवा युवतीहरूको वास्तविक जीवन भोगाइको कलात्मक अभिलेखन हो । साहित्य समाजको वास्तविक ऐना हो भने यस सङ्ग्रहमा रहेका कथाहरू वास्तवमा अहिलेको नेपाली समाजको यथार्थ झल्काउने झल्झलाउँदो ऐनाहरू हुन्भन्दा फरक नपर्ला । कथा पढ्दै जाँदा कतिपय पात्रहरूले भोगेका दुःख र पीडाहरू देखेर मन भक्कानिएर आउँछ र थाहा नै नपाई आँखा रसाउन पुग्छ । एउटा पाठकको मनलाई त कथाले त्यसरी भावुक बनाउँछ भने कमाउने सपना बोकी विदेश पुगेर सास्ती खेपेकाहरूले कसरी सहेका होलान् ? हामी अनुमान मात्र गर्न सक्छौँ । ती पीडाहरूको कलात्मक संयोजन गरिएको कृति हो ‘सपनाको दाहसंस्कार’ ।
यो कथासङ्ग्रहमा रहेका यी बाह्र ओटा ऐनामा कथाकार केशरी अम्गाईले वर्तमान युवा पुस्ताले सपना देखेपछि सपना भङ्ग भएका सम्मका विषय, घटना तथा गतिविधिका दृश्यहरू छर्लङ्ग देखाइदिएका छन् । यही सपनाको दाहसंस्कार कथालाई नै कथाकारले कथाको शीर्षक दिएका छन् र कथा सङ्ग्रहको नाम नै ‘सपनाको दाहसंस्कार’ रहेको छ ।
कथाकार केशरी अम्गाईले देश र विदेशमा भएका थिचोमिचो अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन जस्ता कुराहरू मसिनो ढङ्गले केलाएर सुरिलो, कलात्मक र मिठासकासाथ व्यक्त गरेका छन् । उनका कथामा देश र देशबाहिर पनि राजनीतिक कुरीति, भ्रष्टाचार, वर्ग विभेद, जाति विभेदलाई पनि देखाएका छन् । अर्कातिर समग्र देशको आर्थिक र भौतिकमात्र नभई सामाजिक चेतनाको परिवर्तन र समाज रूपान्तरणका लागि सङ्गठित भई फेरी तेस्रो ठूलो जनआन्दोलन गरेर देशको शासन व्यवस्थामा पूर्ण परिवर्तन ल्याउनुपर्ने र सम्पूर्ण नेपालीहरू देशको उन्नतिको लागि आफ्नै देशमा रगत र पसिना बगाउनु पर्ने आवश्यकताको बोध उनले प्रत्यक्ष वा अप्रत्यक्षरूपबाट आफ्ना कृतिहरूका माध्यमबाट ब्यक्त गरेका छन् ।
‘सपनाको दाहसंस्कार’ कथा सङ्ग्रहभित्र छिर्दा उनका कथा विषयवस्तुका दृष्टिकोणले हेर्दा यथार्थवादी देखिए पनि अन्तरलयमा हेर्दा प्रगतिवादी स्वर नै मूल विषयवस्तुका रूपमा रहेको देखिन्छ । अम्गाईका कथामा सरलता, बोधगम्यता र बिम्ब भएकै कारणले उनका कथाहरू उत्कृष्ट रहेका छन् । यसरी हेर्दा केशरी अम्गाई नेपाली साहित्यको क्षेत्रमा सुपरिचित तथा एक क्रान्तिकारी र प्रगतिवादी दृष्टिकोण बोकेका कथाकार हुन् भन्न सकिन्छ ।
(गोरखा)