उनीहरूसँग
अब आदर्श छैन
मरिसकेको छ त्यो
कुनै दिन उनीहरुको आदर्शलाई हेरेर
मुग्ध हुने मानिस म पनि हुँ
मुग्ध भएर लेखेको डायरीको पाना
अहिले पनि सुरक्षित छ मसँग
उनीहरुको आदर्शलाई हेरेर
मैले पनि प्रेम गर्न सिकेको हुँ
आदर्शलाई ।
देशालाई, सङ्घर्षलाई, परिवर्तनलाई
प्रेम गरेको देखेर
कुनै दिन भावविभोर भएको हुँ म
अहिले पनि सम्झना छ मलाई
त्यस बखत खसेको आँसुको
आँखाको सिरानीबाट एउटा सुन्दर अतीत
अहिले पनि हिँडेर ओझेल हुन्छ बेलाबखत
र छातीभित्र गर्वको हिमाल उठ्छ ।
अब उनीहरूसँग आदर्श छैन, सत्ता छ
सत्ताका कक्षहरूमा
खरानी भएको अतीतका अवशेषहरू छन्
अवशेषको के अर्थ हुन्छ र
बढीमा
सम्झेर रुन सकिन्छ
एउटा सुन्दर अतीतको मृत्युमा
शोक मनाउन सकिन्छ
मनुष्यको मृत्युमा जस्तै ।
अब उनीहरु बदलिएका छन् व्यापारीमा
नाफाघाटाको हिसाब छ उनीहरुसँग
निर्वस्त्र उभिएका छन् उनीहरु बिच सडकमा
यो लोकतन्त्र हो या फोहर राजनीतिको शौचालय
खुट्याउन कठिन छ यतिबेला
अब आदर्श छैन, बस् आदर्शका हत्याराहरु छन् !
(दाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।