हामी लिँदैलिन्नौँ भन्छौं
ऊ लिनै पर्छ भन्छ
हामी दिँदैदिन्नौँ भन्छौं
ऊ दिनै पर्छ भन्छ
मेरो निर्णय म फिर्ता
लिँदैलिन्न भन्छ
नलिइकन सुख
म दिँदैदिन्न भन्छ
यो दान हो भन्छ अनुदान हो भन्छ
जो लिन्न भन्छ ऊ वेइमान हो भन्छ
हत्तेरिका ! कस्तो फसाद पर्यो
यो अम्रिकाने मिचाहाले गर्नु गर्यो !
बिजुलीले झिलीमिली
बनाइदिन्छु भन्छ
भिर पहरामा बाटो
खनाइदिन्छु भन्छ
भारतको पीर नगर भाइ हो
मेरै गोजीको हो त्यो
मनाइदिन्छु भन्छ
आऊ मतिर ढाड फर्काऊ
म कनाइदिन्छु भन्छ
शिकारी अनुहारको छ
हातभरि रगत लतपतिएको छ
तै पनि किन महादानी बन्छ ?
यो लाटोसोझो मनले
छाँटकाँट निको छैन भन्छ
हत्तेरिका ! कस्तो फसाद पर्यो
यो अम्रिकाने मिचाहाले गर्नु गर्यो !
पैसा लिएर आएको छु छिर्न देऊ भन्छ
वेफिक्री हिमालसम्म घुम्न फिर्नदेऊ भन्छ
कानेखुसी गर्छ ऊ विभिषणहरूसँग
तिब्बत छिरेर चीनलाई पिर्न देऊ भन्छ
हाप्सिलो कराएको छ
सातो-पुत्लो हराएको छ
यो मन बेस्सरी डराएको छ
हत्तेरी ! कस्तो फसाद पर्यो
यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ।
मरिगए फर्केर जाँदैजान्न भन्छ
पाप लाग्छ फिर्ता लाँदैलान्न भन्छ
पार्टी किनेको छ
पत्रकार किनेको छ
सम्पादक किनेको छ
साधुसन्त किनेको छ
बुध्दिजीवी किनेको छ
ब्यापारी-उद्योगपती किनेको छ
सरकार किनेको छ
प्रतिपक्षी किनेको छ
हलो, चार तारा र हँसिथा हथौडा किनेको छ
कर्मचारी, प्रहरी, सिपाही सबै किनेको छ
क-कस्लाई हात लिने हो
क-कस्लाई लात दिने हो
सबै सबैलाई चिनेको छ
कुरा चिन्न र कुरा छिन्न
असबाफ परेको हामीलाई मात्र हो
उसले त को कताका सबै चिनेको छ
उसले त आफ्नो कुरा उहिलै छिनेको छ
हत्तेरिका ! कस्तो फसाद पर्यो
यो अम्रिकाने मिचाहाले गर्नु गर्यो !
मिठाईको बट्टामा हालेर ल्याएको
विष हो भन्ने पनि थाहा छ
अम्रिकाने गतिलो होइन
ठिस हो भन्ने पनि थाहा छ
हिन्द-प्रसान्त फौजी खेलोमेलोको
चीनलाई घेर्ने / साटो फेर्ने
रिस हो भन्ने पनि थाहा छ
थाहा पाई पाई पनि फस्नु फसियो
जोर साँढे छन हुक्राँ गर्दै
आफू बाछो बिचमा बसियो
हत्तेरी क्या फसाद पर्यो
यो अम्रिकाने मिचाहाले गर्नु गर्यो !
सङ्केत पटक्कै राम्रो छैन
हामी चुपचाप बस्यौं भने
'पचास अरव बाफ्रे !' भन्दै
बेकार लोभमा फस्यौं भने
बिचरा सापलाई जाडो भएछ
भन्दै तातो तेल घस्यौं भने
प्राण भर्ने कि ?
आँट गर्ने कि ?
देशको लागि बागी बनी
लागिपर्ने कि ?
देश उचाल्छ कसले माथि
आफैं खाडलमा खस्यौं भने
अझै पनि छ संभावना
हामीले कम्मर कस्यौं भने
हत्तेरिका ! क्या फसाद पर्यो
अम्रिकाने मिचाहाले गर्नु गर्यो !
(माइतीघर, काठमाण्डौ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।