जिन्दगीको खाली पानामा सम्झौताका बुँदाबुँदा थुपारेर समर्पणका शब्दहरूमा दायाँबायाँ थिची सहिछाप गरिदिएको छु साक्षी किनारका सदर मानी कहिल्यै चुक्दिन सम्झौताभन्दा पर गएर भनेर। थर्थर काँपेथ्यो शरीर, लर्बराएथ्यो हात सुकोमल मेरा चक्रहरुमा लत्पतिएथ्यो अशान्तिका धर्साहरु तर बेचैन थिएन मन तिमीसँग समाहित हुनुको अलौकिक खुशीमा भुलेको थिएँ हजारौं पीडा अनि दर्दहरुलाई । हजारौं सर्तहरू थिए, सयौँ नीति र नियमका दस्तावेजहरु जर्जर बन्थ्यो छाती, भक्कानिन्थ्यो मुटु पोल्थ्यो भत्भती अनि नियाल्थेँ आकाशका तिनै अनगिन्ती ताराहरुलाई जो टुट्दै थिए प्रतिपल आफ्नै आफ्नैसँग हेरेथेँ एकोहोरो भएर सायद टुटी झरेका ताराहरु पनि एकाअर्काकै समर्पणमा खस्छन् । आफू आफैभित्र रित्तिनु पनि कस्तो सम्झौता रहेछ जिन्दगीको जुन धर्ती टेक्छौ तिमी त्यही मेरो आधारशिला हो त्यही आकाश जहाँ म ओतिएको छु क्षितिजका दुई अक्षांश अनि देशान्तर उहीँ छन् र पनि हामी सम्झौतामा जीवन कल्पिरहेछौँ ! (भोजपुर)