उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Post Independence, Post Colonial र Post Graduate सरह Post Modernism प्रयोगमा आएको हो। अँग्रेजीको Post Independent शब्दले स्वतञ्त्रतापश्चात बुझिएसरह यस शब्दको अर्थ आधुनिकता पश्चात भन्ने नै बुझिन्छ। यस हिसाबले हेर्दा उत्तर आधुनिकता शब्दले आधुनिकतादेखि भिन्न वा यसदेखि मुक्ति बुझाउँछ। अँग्रेजीको Post Modernism शब्दको हुबहु अनूदित भएको यस नवनिर्मित शब्दको संरचना भने व्याकरणिक रूपमा त्रुटिपूर्ण देखिन्छ। यो शब्द उत्तरआधुनिक नभएर आधुनिकोत्तर सही हुन्छ। Post Graduate शब्दलाई स्नातकोत्तर प्रयोग भएसरह आधुनिकोत्तर शब्द नै उपयुक्त हुन्छ। यही उत्तरआधुनिकता शब्द नै रूढ भएर प्रयोगमा आएको देखिन्छ। यसका साथै उत्तरआधुनिकताले युग चेतना र प्रवृत्तिपरक चेतना दुवै बोध पनि हुन्छ।
ल्योतार, ज्याँ बुद्रियाँ, फ्रेडरिक जेमसन, फुको, देरिदा, ग्राम्ची, अल्थुसर आदि चिन्तकहरूले उत्तरआधुनिकतामाथि निकै चर्चा परिचर्चा गरी यसलाई आधुनिकताभन्दा पर वा बेग्लैको अर्थ दिएका छन्। विधामिश्रण, विधाभन्जन, विमिथकीकरण, विपरिचितिकरणदेखि लिएर अनेक विषयवस्तुलाई उत्तरआधुनिकले समेटेको देखिन्छ। उत्तरआधुनिकताका सबैभन्दा प्रखर व्याख्याता ल्योतार हुन्। उनका अनुसार ज्ञान र सूचनाहरू नै शक्तिका केन्द्र हुन्। यद्यपि ज्ञानको व्यापारीकरण पनि हुन्छ। सर्वसत्तावादी, सार्वभौम सत्य, महावृतान्त, महान कथन, मिथक आदिप्रति उत्तरआधुनिकताले अविश्वास व्यक्त गर्छ। उनका विचारका प्रमुख बुँदाहरूमा विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्यकार र आलोचनाको अन्त हुन्।
उत्तरआधुनिकताबारे विभिन्न मत मतान्तर पाइन्छ। कतिले यसलाई पुञ्जीवादी अवधारणा मान्छन् भने कतिले सामान्य युगजन्य चिन्तन ठान्छन्। अबको युगमा धेरै परिवर्तन आइसकेका छन्। मानिसका रहन सहन, चिन्तन, जीवन शैली प्रायः सबैमा आमूल परिवर्तन आएको छ। पहिलेका सत्य ठानिएका कुरा अब सत्य नहुन सक्छन्। अब संसार एउटा ग्रामसरह बनेको छ र विश्वग्रामको अवधारणा अघि आइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका मानिसहरूको मानसिक रूपमा ठुलो परिवर्तन आएको देखिन्छ। यही परिवर्तनको सिलसिलामा उत्तरआधुनिक अवधारणाले बल पाएको छ। उत्तरआधुनिकतावादी सोंचाइले संसारलाई हेर्ने भिन्न दृश्टिकोण छन् भन्ने कुराको वकालत गर्दछ र हरेक हेराइ उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुराको पनि आत्मसात गर्दछ। यो अवधारणा समाजका किनारमा पन्छाइएका व्यक्तिहरूका लागि एउटा त्यस्तो हतिहार हो जसले उनीहरूलाई केन्द्रतिर ल्याउन सहयोग गर्दछ। यसले किनारा लगाइएका कुरालाई शक्ति पर्दान गर्दछ। (#) होमराज आचार्य, उत्रआधुनिकता र चारू परिचय निर्माण, समकालीन साहित्य, पूर्णाङ्क ७०।
बुँदागत रूपमा उत्तरआधुनिकतालाई यसरी बुझ्न सकिन्छ –
- उत्तरआधुनिकतावाद व्यक्ति वा सामाजिक इकाइहरूको स्वतञ्त्रताका पक्षमा तर्क प्रस्तुत गर्दछ।
- यो पूर्णवादी र समग्रताको खण्डन गर्दछ।
- यसले महानलाई सामान्य बनाउँदछ।
- यसले शब्दकेन्द्रवाद नमानेर अर्थबहुलतालाई स्वीकार्दछ।
- यसले एकता र एकलताको बदली अनेकलता, अनेकता र बहुलता मान्दछ।
- यसको स्थितिमा कुनै आदर्श र ज्ञानको आधार मानवताको चेतना हुन्छ।
- यसले विकेन्द्रता, मुक्तता र व्यक्तिवाद स्वीकार्दछ।
- यसले भूमण्डलीकरण, स्थानीयता स्वीकार गर्दछ।
- यसले कृतिलाई विधाका रूपमा भन्दा पाठका रूपमा स्वीकार्दछ।
- यसले कुनै जातिको उच्च र कुनैको निम्न संस्कृतिको खण्डन गर्दछ।
- यसले नयाँ नयाँ सूचना र प्रौद्योगिकीबाट प्राप्त ज्ञानलाई स्वीकार गर्दछ र व्यक्ति व्यक्तिको आन्तरिक र वैयक्तिक ज्ञानलाई समेत स्वीकार गर्दछ।
- दलित साहित्य, आञ्चलिकता, नारी विमर्शका रचना आदि यसका उपलब्धि हुन्।
यद्यपि उत्तरआधुनिकता कतिपय सन्दर्भमा विरोधाभाषी छ। यसले कुनै पनि कुराको सुस्पष्टता धारणा दिँदैन बरू संशयता दिन्छ। यो एकप्रकारको स्पष्ट नभएको धमिलो (Vague) दर्शन हो। यो अवधारणा पुँजीवादी सोंचलाई सहयोग गर्ने, उनीहरूकै स्वार्थसिद्ध गर्ने कुरा हुन् भन्ने भनाइ मार्क्सवादी चिन्तकहरूको छ। हुन पनि यसबाट कुनै सिद्धान्तको निर्माण हुँदैन बरू पूर्वप्रचलित सिद्धान्तहरूलाई लथालिङ पार्ने काम गर्दछ। यसले कुनै पाठलाई जे जसरी बुझ्यो, त्यही नै सही बुझाइ हो भन्ने स्वीकार गर्दछ जो स्पष्टता छैन।
नाटकमा उत्तरआधुनिकताको प्रसङ्ग
काव्येषु नाटकम् रम्यम् भनेझैं साहित्यमा नाटक नै सबैभन्दा कलापूर्ण विधाका रूपमा परिचित छ। नाटकमा बहुविध प्रयोग, कला र तकनिकीगत युक्तता पाइन्छ। नाटकभित्र बहुआयामिक कला कौशल प्रदर्शन गर्न सकिन्छ। यसभित्र अभिनय, गायन, नृत्य, संगीत, ध्वनि, प्रकाश, चित्रकारिता, वास्तुकारिता, सज्जा इत्यादि सबै प्रयोग गर्न सकिन्छ। सुनेर र हेरेर प्राप्त हुने अलौकिक आनन्द नै नाटकको मूल विशेषता र उपलब्धि हो। संस्कृत साहित्यमा नाटकको धेरै अध्ययन, अनुसन्धान, र वर्गीकरण गरिएको छ। यद्यपि पूर्वीय र पाश्चात्य अध्ययनको घेराभित्र नाटक नअटेर नयाँ नयाँ शिल्प प्रवधि र तकनिकीगत कुराबाट नाटक अघि बढिसकेको छ। अबका नाटक रङ्गमञ्चमा मात्र सिमीत नभई खुला रूपमा पनि प्रदर्शित हुने गर्छन्। सडक नाटक, खुला रङ्गमञ्च, दर्शकबिचबाट पात्रको उपस्थिति, नाटकभित्र नाटक, अनाटक इत्यादि विभिन्न कुराहरू देखा परेका छन्। यसैगरी कथानाटक, ब्ल्याक थिएटर आदि पनि विकसित भएको देखिन्छ। सामान्यतया नाटक दुइ किसिमले आस्वादन हुन्छन् – रङ्गमञ्चीय र पाठनीय। यद्यपि नाटक मञ्चित नै हुनुपर्छ तर पनि जम्मै नाटक मञ्चित हुँदैनन्। यस्ता पाठनीय नाटकहरू पनि नेपालीमा धेरै लेखिएका छन्। नाटकका निम्ति नाट्यपाठ, नाट्यगृह, नाट्यकलाकार, नाट्यसामग्री र नाट्यप्रेक्षक आदिको आवश्यकता पर्दछ। नाट्यगृहलाई प्रेक्ष्यागृह, नाट्यघर, नाट्यमञ्च, रङ्गशाला आदि पनि प्रयोग हुन्छ। नाटककले सधैं जीवन-जगतमा उपस्थित चुनौतीहरूलाई दर्शकसमक्ष प्रत्यक्ष गराउँदछ। उत्तरआधुनिकताद्वारा प्रभावित नाटकहरूमा दर्शकहरूलाई यी चुनौतीहरूसँग कथावस्तुले मात्र होइन शिल्प शैली अनि अभिनयका माध्यमहरूद्वारा गराइन्छ।
इन्द्रमणि दर्नालको कृष्णा कृष्णामा उत्तरआधुनिक चेतना
इन्द्रणणि दर्नाललाई एक सफल नाटककार र कथाकारका रूपमा पाएका छौं। अझ उनी एक सशक्त नाटककारका रूपमा चर्चित छिन्। हालसम्म उनका नाटकहरूमा ‘ययाति’ (नाटक सङ्ग्रह, २००२), ’अक्षि-भू‛ (गीति नाटक सङ्ग्रह, २००६), र ‛कृष्णा!! कृष्णा!!’ (२००९) प्रकाशित देखिन्छन्। उनको एउटा कथासङ्ग्रह ‘म्याडम अनि अन्य कथाहरू’ (१९९९) प्रकाशित देखिन्छ। यीमध्ये उनको ‛कृष्णा!! कृष्णा!!’ भने सबैभन्दा चर्चित र सफल देखिन्छ। यसमा उत्तरआधुनिकताको चेतना प्रबल रूपमा देख्न पाइन्छ। यसमा महाभारतको मिथकलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरे विमिथकीकरण गरिएको छ।
- कथावस्तु – कृष्णा! कृष्णा! नाटकको मुख्य कथावस्तु महाभारतको एक प्रसाङ्गिक कथावस्तुको रूपमा रहेको द्रौपदीको जीवनी हो। यसमा द्रौपदीको जीवनमा जन्मदेखि लिएर अन्तसम्मलाई आधार बनाएर लेखिएको छ। नाटकको शुरू कृष्णाको जन्मको पृष्ठभूमि, उनको जन्म, बाल्यकाल, अर्जुनप्रति प्रेम विजारोपन, कौरव-पाण्डव विद्वेशदेखि लिएर महाभारत युद्धको पृष्ठभूमि, महाभारत युद्धमा कृष्णाको भूमिका, युद्ध वर्णन, युद्धोपरान्त शोकाग्र स्थिति, आदि समाटिएको छ। प्रस्तुत नाटक घटनाप्रधान बनेको छ। नाटकको अङ्क र दृश्यको संयोजनसँग कथावस्तु द्रुतगतिमा अगाडि बढेकाले सघन बनेको छ। प्रस्तुत नाटकको कथावस्तुमा कृष्णाको जन्म, बाल्यकाल र कैशोर काल आदिभाग कृष्णको यौवनावस्था, पाण्डवसितको विवाह र वनवासकाल मध्यकाल र महाभारत युद्ध र त्यसको समाप्ति अन्त्यभाग हो। नाटकका कथावस्तु आफ्नै ढाँचामा बुनिएको छ। पौराणिक महाकथा महाभारतको विनिर्माण गरिएको छ। कथाको सारस्वरूप उही महाभारतकै भए पनि त्यसलाई कथानकीय पुनर्सिर्जन गरिएको छ। यसमा विशेष गरी एउटी कृष्णा नामकी नारीको नजरबाट महाभारत कथा बुनिएको छ। नाटकको शुरूवात् राजा द्रुपदको राजदरवारको परिवेशमा रहेको छ। याजऋषिको कृपाबाट एक पुत्र र एक पुत्रीका रूपमा जन्मिएका दुइ शिशुको प्रसङ्गसँगसँगै कथा अगाडि बढाएको छ।
यस नाटकभित्र कथावस्तु रैखिक ढाँचामा रहे तापनि कतै पूर्वद्विप्तीको प्रयोग पनि पाइन्छ। देवव्रतको कठोर प्रतिज्ञाको पृष्ठभूमि र अम्बासितको पूर्वकथा, कतै रामायणको लक्षुमनले सीताको पाउ मात्र देख्ने गरेकाले रावणद्वारा हरण गरेर लगिएकी भाउजूको पाउजू चिनेको प्रसङ्ग छ।
- विमिथकीकरण – यसमा महाभारतका विशेष पात्रलाई सामान्य र सामान्य पात्रालाई विशेष बनाइएको छ। रामायणका प्रतिष्ठित र विशेष पात्रका रूपमा रहेका श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, भीष्म पितामह, धृतराष्ट्र आदि अति सामान्य पात्रका रूपमा प्रस्तुत छन् भने द्रौपदी, सत्यभामा, कुन्ती, अम्बा शिखण्डी आदि सामान्य पात्राहरूलाई विशेष दर्जा दिइएका छन्। नारीका दृष्टिमा भीष्म पितामह, युधिष्ठिर, अर्जुन अति सामान्य स्वार्थी र नारीको महत्त्व नबुझ्ने पात्रका रूपमा उभ्याइएका छन्। धर्मराज युधिष्ठिरले दुइ दुइ पल्ट कृष्णालाई जुवाको दाउमा लगाएका छन् भनेर कृष्णाको नजरबाट गिराइएको छ। यस जुवाको पर्सङ्गमा द्रौपदीको चीरहरण हुँदा भीमले त दाजुको हातै डढाउन खोज्छन् भने अर्जुनले समेत क्षोभ र घृणाको भाव प्रकट गरेका छन्। यसमा महाभारतको कथा नै समेत भिन्नै प्रकारले प्रस्तुत गरिएको छ। सञ्जयले अन्धा राजा धृतराष्ट्रलाई युद्धको प्रत्येक पलको खबर तथा द्रौपदीहरूले भीष्म पितामहको बितेको जवानीको इतिहासको घटनालाई चिहाउन कुनै एउटा चाक्षुस नामक अत्याधुनिक दुर्वीक्षण यञ्त्रबाट अवलोकन गरिएको छ। महाभारतको युद्धको कारणलाई अर्कै दृष्टिबाट हेरिएको छ। यसमा पात्रको नामकरण, तिनका भिन्नाभिन्नै प्रकृति, स्वाभाव, र कार्यबाट विपरिचितिकरण गरिएको छ। नामकरणमा पनि विशेष ध्यान दिइएको छ। सामान्य र प्रचलित पात्रनामलाई उनीहरूका अप्रचलित नामलाई अघि सारिएको छ। जस्तै द्रौपदीलाई कृष्णा, अर्जुनलाई पार्थ, श्रीकृष्णलाई यशोदानन्दन, कर्णलाई वषुसेन आदिको प्रयोग गरिएको छ। यतिसम्म कि श्रीकृष्णलाई ईश्वरका रूपमा नलिएर धृतराष्ट्र, गान्धारी, दुर्योधन र शकुनीका नजरमा एकजना छली, षडयन्त्रकारी र सामान्य पुरूषका रूपमा उभ्याइएको छ। यसमा पाण्डव शिविरको महानतालाई अस्वीकार गर्दै अन्यको पनि उत्तिकै महत्त्व प्रदान गरिएको छ। नारी, सिपाही, सामान्य मानिस आदिका नजरबाट अर्जुन र उनका दाजुभाइको सर्वत्र प्रशंसा मात्र नभई निन्दा पनि गरिएको छ।
- विपरिचितीकरण – प्रस्तुत नाटकमा केही प्रख्यात पात्रहरूको विपरिचितीकरण गरिएको छ। महाभारतका द्रौपदी, भीष्म पितामह, श्रीकृष्ण, कुन्ती, कर्ण, युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, धृतराष्ट्र, गान्धारी आदिका साविक चरित्रभन्दा भिन्नै चरित्रको रूपमा प्रस्तुत गरिएको छ। महाभारतको गरिमामय त्यस्ता चरित्रहरू यहाँ सामान्य मानवका रूपमा मात्र प्रस्तुत छन्। श्रीकृष्ण भगवानका रूपमा नभएर सामान्य मान्छेका रूपमा प्रस्तुत छन्। उनी पाण्डव पक्षका सल्लाहकार, महाभारतको युद्धको मुख्य योजनाकार, कुशल कुटनितीज्ञ व्यक्तिका रूपमा देखा परेका छन्। पितामह भीष्मलाई एकजना अति सामान्य, विवश, लाचार पुरूषका रूपमा प्रस्तुत छन्। कृष्णाले उनलाई एकजना पाषाण र भावनाशून्य व्यक्तिका रूपमा देख्दछिन्।
- परिवेशगत संचेतना – प्रस्तुत नाटकलाई नाटककारले पौराणिक नाटक भनेर तोकेकी छन्। यसको परिवेश महाभारतकालीन पौराणिक रहे तापनि यसलाई समसामयिक परिवेशमा अध्ययन गर्न गरिएको छ। नाटकमा चाक्षुस यन्त्रको परिकल्पना गरिएको छ। महाभारतमा प्रसिद्ध रूपमा रहेको सञ्जयले नेत्रहीन महाराज धृतराष्ट्रलाई दिव्यदृष्टिको माध्यमबाट टाडाको युद्ध वर्णन गरेको तथ्यलाई यस नाटकमा चाक्षुसको प्रयोग भएको देखाइएको छ। अर्कापट्टि श्रीकृष्ण र व्यासमाझ पनि उक्त चाक्षुसीको चर्चा भएको छ श्रीकृष्णका अनुसार उक्त समयमा जम्मा दुईवटा चाक्षुसी छन् जो एउटा सञ्जयसित छ र अर्को पाण्डवसित छ जो सठिक प्रयोग हुनसकेको छैन। उक्त दोस्रो चाक्षुसीको माध्यमबाट विगतको देवव्रतको कथावस्तु जोडिएको छ। देवब्रतले अम्बाको इच्छा पूरा नगरिदिएको पूर्वकथा थाहा लाग्दछ। कुरा माता कुन्तीले पुरूषसित सहवास नगरी कृतिम प्रजनन प्रक्रियामार्फत् कर्ण र पाँच पाण्डवको जन्म, गान्धारीबाट सय पुत्रको जन्म भएको देखाइएको छ। नाटकको अन्त्यमा संसारमा मानवताको क्षीण भएर जानेछ र प्रकृतिमाथि पुरूषको आधिपत्य रहेर फेरि अर्को महायुद्ध हुने कुराको संकेत गरिएको छ।
- नारीवादी चेतना – प्रस्तुत नाटकलाई पूर्ण रूपले नारीवादी मान्न नसकिए तापनि यसमा नारीवाद केही पक्ष परिलक्षित छन्। नाटकको नामकरण नै द्रौपदीको अप्रचलित नाम कृष्णालाई लिएर गरिएको छ। उनी जन्मिँदा कालो वर्णको भएर उनलाई कृष्णा भनिएको नाटकमा नै उल्लेख पाइन्छ। यस नाटकमा द्रौपदीको बहुविवाहलाई नारीवादी दृष्टिकोणबाट हेरिएको छ। कुन्तीको पर-पुरूषबाट वीर्य ग्रहण, पाँच पाण्डवकी साझा स्वास्नी कृष्णालाई उनकै नजरबाट न्यायोचित ठहर्याइएको छ। व्यास ऋषिका अनुसार गौतम गोत्रीय कपिलाले सातजना पति वरण गरेको, कण्डुऋषिकी पुत्री कक्षीले पनि एकैचोटि दसजना पति वरण गरेको उल्लेख गरेर कृष्णाको पाँच पति वरणलाई न्यायोचित कदम ठहर्याएको छन्। पाँच पतिमध्ये कृष्णालाई एकजनाले एकेक वर्ष राख्ने र यौनभोग गर्ने प्रावधान राखेको उल्लेख पाइन्छ। यद्यपि उनको विशेष प्रेमाशक्ति अर्जुनमा मात्र निहीत देखिन्छ। महाभारतको मूल कारण कृष्णाको आफ्नो अपमानको बदलाको रूपमा देखाइएको छ। भीष्मसमेत नारीको स्वरूपको व्यक्तिको कारणबाट पराजित बन्नपुगेका छन्। अम्बामा पनि जुन धाऱणा छ, त्यसमा पनि पुरूषप्रति विद्रोहात्मक छ। महाभारतको युद्धको कारण पुरूषको अभिमान र नारीको प्रतिशोधको फल बताइएको छ। कृष्णाको अनुसार महाभारतको युद्धमा नारीको पनि सहभागिता हुन्छ। नाटकमा श्रीकृष्णको मुखबाट पुरूष हैकमवाद विरोध जनाइएको छ। माता कुन्तीले कर्णलाई जन्माएर पनि अपनाउन नसक्नु पुरूषको हैकमको मोहरा भएको बताइएको छ।
महाभारतका धेरै प्रसङ्गमा नारीको अस्तित्वलाई अधिक महत्व प्रदान गरिएको छ। नारीले चाहे पुरूषलाई वशमा राख्न सक्छन्। देवव्रत जति नै महान पुरूष, वीर र प्रतिज्ञावद्ध भए पनि अम्बाको प्रतिशोधका कारण युद्धमा पराजित बनेका छन्। श्रीकृष्ण पनि गान्धारीबाट श्रापित बनेका छन्। कृष्णाले आफुलाई अपमानको प्रतिशोधको कारण पाण्डवलाई कौरवका विरूद्ध युद्धका निम्ति उक्साइरहेकी छन्। युद्धका कारण कृष्णा, गान्धारी र अन्य नारीहरू सन्तानको मृत्युको शोकाग्र भएका कुरामा बल दिइएको छ ।
इन्द्रमणि दर्नाल एकजना नारी हुनाले उनको लेखन र प्रस्तुतिगत ढाँचा, चिन्तनधारा, संरचनात्मक स्वरूप पनि नारीत्व संपुटित छ। महाभारतको द्रौपदीलाई पुरूषले सठिक चिनारी दिनसक्दैनन्। यहाँ कृष्णाबाहेक अम्बा, सत्याभामा, ब्राह्मी, महारानी आदिका हृदय छाम्ने प्रयास गरिएको छ। अम्बाको प्रेमपीडालाई पुरूषले उतार्न सक्दैन। कृष्णाका आफ्ना पीर-मर्का उनकै मुखबाट भन्न लगाइएको छ। उनी पाँच पाण्डवकी रानी, द्रुपदकी राजकुमारी पुत्रीका मात्र नभई उनीभित्रको नारीत्वको आफ्नै विशिष्ट स्थान छ। उसको आफ्नै परिचयको खोजी छ। उसलाई पनि जुवाको दाउमा हाल्ने वस्तुका रूप, वरिपरि आफन्तका बीचमा दुःशासन, दुर्योधन र कर्णबाट अपमानित हुनुमा जुन पीडा छ, त्यसको न्यायसंगत चित्राङ्कन गरिएको छ। नाटकमा नारीहरूको महिमामण्डित रूप र अधिक उत्पीडन दुवै अवस्थाको वर्णन र संकेत छन्। एकापट्टि नारीको महत्व अधिक देखाइएको छ। राजा द्रुपदको दरवारमा अग्निवीजबाट छोरा र छोरी दुवैको जन्म भए तापनि छोरी कृष्णाको अधिक महत्व, पुरूषको अभिमानलाई धुलीसात बनाउने, महाभारतको युद्धको मूल कारणका इत्यादिका रूपमा नारीलाई अघि सारिएको छ भने अर्कातिर नारी समाज र पुरूषका निम्ति भोग्या, जुवामा हाल्ने वस्तु, बेइज्जतको भागीदार हुने दुःखदायी स्थितिको भागीदारको रूपमा प्रस्तुत गरिएको छ ।
उत्तरआधुनिकताको सन्दर्भमा नाटकको मूल्याङ्कन र उपसंहार
नेपाली साहित्यमा एकजना सशक्त र सफल नाटककारको रूपमा परिचित इन्द्रमणि दर्नालको प्रस्तुत नाटक कृष्णा कृष्णालाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ। यद्यपि यसलाई उत्तरआधुनिक प्रसङ्गबाट अध्ययन गर्ने धेरै ठाउँ रहेका छन्। यसमा मूल महाभारतको समानान्तर रूपमा कथा बुनिएको छ। कतै महाभारतभन्दा भिन्दै काल्पनिक कथा पनि बुनिएको छ। नारीवादी धारणा पनि यसमा प्रखर रूपमा अभिव्यक्ति पाइन्छ। नाटकको बुनोट र बनोट सफल रहेको छ भने पात्रको मनोवैज्ञानिक अध्ययन प्रस्तुत गरिएको छ। संवादको माध्यमबाट महारतको भव्य र वृहताकार कथालाई कतै सार संकेत, कतै सूक्ष्म अध्ययन, कतै नयाँ कल्पना, कतै अधिक महत्व दिएर नाटक सिर्जित छ। यस नाटकको मिथकीय, सांस्कृतिक, पर्यावरणीय आदि विषयहरूको अध्ययन पनि गर्न सकिने ठाउँ रहेको छ। यसरी हेर्दा इन्द्रमणि दर्नालको कृष्णा कृष्णा नाटक सफल छ।
प्रमुख सन्दर्भ ग्रन्थ
- इन्द्रमणि दर्नाल; कृष्णा! कृष्णा!, दार्जिलिङ, बसुधा प्रकाशन,२००९।
- सञ्जीव उप्रेती; सिद्धान्तका कुरा, काठमाडौं, अक्षर क्रियसन्स, दो. सं. २०६८।
- घनश्याम नेपाल; विधा कृति विमर्श विविधा, कालिम्पोङ, उपमा प्रकाशन, २०१४।
- डा वीणा हाङ्गखिम; कृति विमर्श, दार्जिलिङ, केवल हाङ्गखिम,२०१४।
- डा. गोविन्दराज भट्टराई; उत्तरआधुनिक विमर्श, काठमाडौं, मोडर्न बुक्स, २०६४।
- डा गोविन्दराज भट्टराई; उत्तरआधुनिक ऐना, काठमाडौं, रत्नपुस्तक भण्डार, २०६२।
- कृष्ण गौतम; उत्तरआधुनिक जिज्ञासा, काठमाडौं, भृकुटी एकाडेमिक पब्लि. २०६४।
पत्रिका
- समकालीन साहित्य, पूर्णाङ्क ५५।
- समकालीन साहित्य, पूर्णाङ्क, ७०।
- भृकुटी, अङ्क १०, वि. सं. २०६७।
(पेदोङ सरकारी महाविद्यालय)