जिन्दगीको खाली पानामा
सम्झौताका बुँदाबुँदा थुपारेर
समर्पणका शब्दहरूमा दायाँबायाँ
थिची सहिछाप गरिदिएको छु
साक्षी किनारका सदर मानी
कहिल्यै चुक्दिन सम्झौताभन्दा
पर गएर भनेर।
थर्थर काँपेथ्यो शरीर, लर्बराएथ्यो हात
सुकोमल मेरा चक्रहरुमा लत्पतिएथ्यो
अशान्तिका धर्साहरु तर बेचैन थिएन मन
तिमीसँग समाहित हुनुको अलौकिक खुशीमा
भुलेको थिएँ हजारौं पीडा अनि दर्दहरुलाई ।
हजारौं सर्तहरू थिए,
सयौँ नीति र नियमका दस्तावेजहरु
जर्जर बन्थ्यो छाती, भक्कानिन्थ्यो मुटु
पोल्थ्यो भत्भती अनि नियाल्थेँ
आकाशका तिनै अनगिन्ती ताराहरुलाई
जो टुट्दै थिए प्रतिपल आफ्नै आफ्नैसँग
हेरेथेँ एकोहोरो भएर
सायद टुटी झरेका ताराहरु पनि
एकाअर्काकै समर्पणमा खस्छन् ।
आफू आफैभित्र रित्तिनु पनि
कस्तो सम्झौता रहेछ जिन्दगीको
जुन धर्ती टेक्छौ तिमी त्यही मेरो आधारशिला हो
त्यही आकाश जहाँ म ओतिएको छु
क्षितिजका दुई अक्षांश अनि देशान्तर उहीँ छन्
र पनि हामी सम्झौतामा जीवन कल्पिरहेछौँ !
(भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।