बिसाएर बिसाउन नसकिने
घटाएर घटाउन नसकिने
समस्यै समस्याको भारीहरू
बोकेर हिँड्दैछु
निरन्तर
जिन्दगीको घुम्तीहरूमा
निधारबाट बगेको जलधारामा
दैनिक स्नान गर्दै
चढ्दैछु निरन्तर म
जिन्दगीका हिमशिखरहरू ।
पाइला पाइलामा
पहिरोको डर बोकेर
कठ्याङ्ग्रिने जाड़ोमा
शरीर कपाउँदै कपाउँदै
उभिइरहेको हुन्छु
कुनै हिमश्रृङ्खलामाथि
विवश बनेर
लाचार बनेर।
कहिलेकाँही त झनै
अन्धाधुन्ध
बगाउने
गर्दछन् मलाई
जिन्दगीको भेल बाढ़ीहरूले
अनि निष्क्रिय बनेर
लड़िरहेको हुन्छु म
खोलाको कुनै किनारहरूमा
आफ्नो विवेक हराएर
आफ्नो चेतना गुमाएर।
धेरैजसो दिनहरूमा
धिक्कारेको छु
मैले
यो मानव जीवनलाई
सायद यसको
अर्थ बुझ्न
नसकेर हो कि
या त स्वयं मानव
बन्न नसकेर हो।
ओठको हाँसोलाई
बन्धक राखेर
पेटको सुधा
शान्त गरेको समयहरूमा
मैले आफैलाई
कुनै अबोध पशुभन्दा
ठूलो पनि सोचेको छैन।
जहिले जहिले मैले
आफू बाँच्नको निम्ति
आफ्नो स्वार्थपूर्तिको निम्ति
कुनै कार्यहरू
छल कपटपूर्ण गरेको हुन्छु
हत्याहिंसामा रमाएको हुन्छु
त्योबेला म
श्रेष्ठ मानव जीवनलाई
अभिश्राप ठान्दछु
मानव जीवनलाई
तुच्छ सम्झन्छु।
घरिघरि आफ्नो अनुहार
अन्धकारले व्याप्त यो धरतीमा
कतै कुनै उज्यालो नहुँदा
अँध्यारोमै रमाई हिँड्ने
एक हिंस्रक जनावरझैँ देख्दा
आफैँ तर्सिन्छु
आफैँ भयभीत हुन्छु
तर फेरि सोच्छु
आखिर जिन्दगी धान्नलाई
जे गरिन्छ त्यो त कर्तव्य न हो।।
(पत्थरझोडा, डुवर्श)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।