काम विशेषले एउटा सरकारी कार्यालयमा गएको थिएँ । सामान्य सोधपुछपश्चात् प्रविष्ट भएँ । सम्बन्धित शाखाको कक्षमा पसेर कामका लागि उभिएँ । प्रथमतः एउटा फाराम भर्नु थियो । भरें । भर्दै गएँ । अन्तिममा आफ्नो मोबाइल नम्बर लेख्नु थियो । नम्बर बिर्सें । त्यहीँबाट श्रीमतीजीलाई फोन गरें – शान्ता, मेरो मो.नं. कति हो, भन त ! उनीले मेरो नम्बर बताइन् । मैले लेखेर दिएँ ।
काम सकाएर बाहिरिएँ ।
बाटोमा हिँड्दै थिएँ । एक मित्रसित भेट भयो । उनले मलाई भने- तपाईं रासा होइन ? जवाफमा मैले भनें- होइन त, म राजु हुँ । उनी असमञ्जसमा परे, र सरी भन्दै अन्त लागे ।
घर आइपुगें । कोठामा छिरेर कुर्सीमा बसें । छिनमै श्रीमतीजीले पानी ल्याइदिइन् । पिएँ । तत्काल उनीलाई सोधें- शान्ता, एउटा कुरा भन त ! उनी झर्किंदै बोलिन्- के ? मैले प्रश्न गरें- साँच्चि, म को हुँ ? उनीले हाँस्दै भनिन्- तपाईं हुस्सु ।
म अक्क न बक्क परें ।