एक घुट्को आश्वासनमा तिमी स्पर्शको खर्स्रोपन बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी काँड़ाको बिझाइ बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी भोक र शोक बिर्सन्छौ; तिम्रो यही हुत्तिहारापनले यही कमजोरीपनले यही अन्योलपनले सपना खरिद गर्नेहरू कुवामा चन्द्रमा देखाउनेहरू पाँच वर्षमा एकपल्ट तिमीलाई सोध्न आउँछन् अनि नशैनशा लाग्ने शब्दहरूले तिमीलाई मताएर जान्छन्, भोलिपल्ट नशा उत्रेपछि तिमीले आफूलाई फेरि उही चिसो चुल्होको अघिल्तिर पाउँछौ। यसैले, अब तोड़िदेऊ यो क्रमलाई नलुटाऊ तिम्रो श्रमलाई भोलिको सन्ततिको आङमा न्यानो घाम चाहान्छौ भने शब्दहरूले तिमी नमातिदेऊ आश्वासनहरूले वेहोश नबनिदेऊ। (नयाँ दिल्ली)