रगत र पसिनाबाट
अलिकति नुनिलो लिन्छ कविताले
ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग
अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट
केही अँध्यारो ,केही उज्यालो र केही आवाज
सपनाको विशाल भण्डारबाट
केही कल्पना र केही जादू लिन्छ
विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू,
चुनौती दिइरहेका पहाडहरू,
निचाट मरुभूमि, हराभरा उच्चसमस्थली
नदीहरू र समुद्रबाट
केही रूपक र केही बिम्ब लिन्छ ।
कविताले
जिद्दीपूर्वक
यति धेरै उद्यम गर्छ कि
मानिसहरूको जीवन
आफ्नो समस्त यात्रा,
सम्पूर्ण पीडाहरू, सबै पराजयहरू र असफलताहरू
सारा मानवीय ईर्ष्याहरू र निराशाहरू
सारा उपलब्धीहरू र उल्लासहरू,
सारा स्मृतिहरू र सपनाहरू,
सारा पश्चातापहरू,अतृप्तीहरू
र सारा उद्देश्यहरू
ती समस्त कुराहरूलाई
बढीभन्दा बढी
कवितामा अटाउन सकियोस
र कविताको जीवन सार्थक बनाउन सकियोस ।
निकै थोरै कविताहरू मात्र
यो लामो यात्रा पार गरेर
चुलीसम्म पुग्न सक्छन् ।
वाँकी कविताहरूले बाटोमै कतै
गुमनाम मृत्यु वरण गर्छन्
या केही दिनपछि विर्सिइन्छन् ।
तर
ती असफल, अधुरा र लक्ष्योन्मुख
कविताहरू नहुँदा पनि
मानवताको इतिहास लेख्न सकिन्न
र, न त कविताको नै लेख्न सकिन्छ !
असफलताहरू
र पराजयहरूको इतिहास भुल्नु पनि
एउटा मनुष्यद्रोही र काव्यद्रोही
कृतघ्नता हो !
(अनुवादक : बलराम तिमल्सिना)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।