प्रिये !
म हिजो आज एउटा कारागारमा छु
एउटा बन्दी कारागार कोठाभित्र छु
यो कारागारको सजाय होे
म्याद कहिले सकिन्छ थाहा छैन
तिम्रो प्रेमको कारागार भन्दा
सयौँ गुना पीडादायक छ यहाँ
म बन्दीगृहमा छु
यो बन्दीगृह हो ।
कसुर, मेरो जीवन भोगाइको हो
कसुर, मेरो जीवन जिउने आधारको हो ।
योे कारागारमा तिम्रो हातको स्पर्श छैन
यो बन्दीगृहमा आमाको स्नेह छैन
एउटा आशाको दियो बलिरहन्छ
धिपधिप, धिपधिप बलिरहेछ
एउटा विश्वासको दियो
कहिले निभ्न खोज्छन् आवाजहरू
कहिले बोल्न खोज्छन् शब्दहरू
हराउँछन् कतै शून्यतामा
बोल्न नसकेका आवाजहरू
शुन्न नसकेका शब्दहरू
कराउन नसकेका शून्यताहरू ।
सडक एक्लै कराइरहन्छ
भिड सुनसान सुनिरहन्छ
मुस्कुराइरहन्छन् नाट्य अभियन्ताहरू ।
म मौनतामा छु
म मौन ब्रतमा छु ।
प्रिये !
तिमी जे सोच
आत्माघाती सोच
विश्वासघाती सोच
चाहे मलाई घमण्डी नै सोच
यतिबेला म मौनतामा रुमल्लिरहेछु
एउटा जीवनको आदि खोजिरहेछु
अर्को जीवनको अन्त खाजिरहेछु ।
प्रिये !
म यतिबेला मौनधारणमा छु
म मौन अनसनमा छु
एउटा चिरनिन्द्रा निदाइरहेछु
अशान्तिको निन्द्रा निदाइरहेछु ।
(डुवर्स, भारत)