एउटा सेतो पन्ना
आफ्नो व्यापक परिधिभित्र फितलो भइरहेको छ आज
त्यो पन्नाभित्र अटेको छ धरती र सौर्यमण्डल
न्युटन र पास्केलका सूत्रहरू पनि त्यहीँ कोरिएका छन्
आफ्नो दस रुपियाँको स्टेटस् गोजीमा लिएर हिँडेको छ ऊ
अरूको स्टेटस् बनाउन
कैयौं बक्र रेखालाई सरल पारेको छ उसले
आफै बाङ्गिएर ।
ऊ ज्ञानी छ
विद्वान पनि हो
तपाईं "डलर" र "यूरो" सँग उसको स्टेटसको तुलना गरेर
उसलाई जिल्ल पार्न खोज्नुहुन्छ नि
हा..हा..हा ! त्यही भुल नै हजुरको दुःखको कारण हो
ऊ त्यागी छ
त्याग नै उसको प्रसन्नताको कारण हो
एकझोला मुस्कान लिएर हिँड्छ ऊ
ताराहरूमा खुसीको रङ्ग पोत्न ।
आखिर उसलाई के सुख छ ?
किन मुस्कानका रेखा नहराएका
उसका अधर देखि
यही कुरा सोच्दा सोच्दै हजुरलाई तनावले घेर्यो होला होइन ?
नडराउनु
आउनु उसको स्टेटस् तपाईं पनि भिरेर हेर्नु
मुस्कान सित्तैमा भेट्नु हुन्छ
ग्यारेन्टी मेरो
किन आनाकानी गर्नु भएको ?
मलाई थाहा छ
दस रुपियाँको स्टेटस् भिर्न त्यति सजिलो छैन
पृथ्वीजस्तै विशाल हुनुपर्छ
समुन्द्र जस्तै गहिरो
आकाश जस्तै बृहत्
जल जस्तै शान्त
छ ताकत ?
छैन होइन ?
"तथ्य त जताततै छरिएको छ
बटुल्न मात्रै पर्छ" भन्नेहरूले ज्ञान लिएर देखाउन त
ज्ञान लिन त त्यही सेतो पन्ना चाहिन्छ
जो हिजोआज बडो लुलो भएको छ
तपाईंहरूका व्यङ्ग्य व्यवहारले ।
मेरो अनुरोध त्यो सेतो पन्नामाथि
नानाथरिका व्यङ्ग्य भिडियो नबनून्
"गुरु ब्रह्मा गुरु विष्णु."...... को कुनै रिमिक्स नबनोस् ।
(विश्वनाथ, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।