भर्खर उम्रेका जुँगाका रेखी मुसार्दै छ मेरो छोरो
खै के सोच्दै छ कुन्नि ?
जन्मभूमिसँग के भन्न खौज्दै छ कुन्नि ?
कल्पनाको सागरमा हराइरहेको छ ऊ
भित्रभित्रै डराइरहेको जस्तो छ ऊ
मनमा एक्लै गुनगुनाइरहेको छ,
मेरो जीवन भरोसाको छोरो ।
भिर पहराहरू फोरेर सुन निकाल्न सोच्दै हो कि ?
आफ्नै देशमा नुन निकाल्न खोज्दै हो ?
ऊ त खुब सोच्दै छ
खै के ? खै के ?? भन्न खोज्दै छ
मेरो लक्का जवान छोरो ।
चाँदनी हिमालबाट फूटेर बहने नदीहरुबाट
अमृतजल बनाउन सोच्दै हो कि ?
कतै जडिबुटीहरुबाट अमृतरस बनाउन खोज्दै हो !
ऊ त खुबसँग सोच्दै छ
लाग्दैछ ऊ नेपाललाई स्वर्ग बनाउन खोज्दै छ ।
उसले भन्दै हो कि ! मेरा देश निर्माणको बारेमा
घर घरमा सबैको चासो बनोस्
सुन्दर, शान्त र समृद्ध नेपाल बनोस्
तर,
म चाहन्छु कुनै दिन,
कपाल कन्याउँदै मेरो छोरोले
बा ! मलाई पनि राहदानी चाहियो नभनोस्
हाम्रा विमानस्थलहरु सधैं
आँसुका भेल बग्ने दोभान नबनोस् ।
(मदाने, गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।