गाउँको स्कुलमा चारपाँच कक्षामा पढ्दा वादविवाद प्रतियोगिता हुन्थे । एउटाले गाउँको पक्ष लिन्थ्यो, अर्काेले शहरको । दुवैले आआफ्ना तर्कहरु दिएर ठाउँको महत्वका बारेमा बोल्थे — गाउँ ठूलो कि शहर ? गाउँले ठूला कि शहरिया ? गाउँ नभए शहर र शहर नभए गाउँ चल्छ कि चल्दैन ? चल्दैन भने महत्व बढी कसको छ र चल्छ भने कसरी ? यस्तै थिए विवादका विषय ।
रिडी बजार, तम्घास बजार, बलेटक्सार बजार र एकदुईवटा हटिया बजारहरु देखेको म र मजस्ता दौँतरीका लागि बजार भनेको गरी (नरिवल) मिस्री, चिनी, नुन, तेल र लत्ताकपडा पाउने ठाउँ हुन्थ्यो । गाउँ भनेको दाल, चामल, तरकारी, फलफूल, दूध, दही, घ्यू लगायत थुप्रै अन्नपातहरु पाउने ठाउँ हुन्थ्यो । अत्यावश्यक वस्तुहरु गाउँघरमा उत्पादन हुन्थे, सहायक वस्तुहरु शहरबाट ल्याइन्थ्यो । फरक यत्तिमात्र हुन्थ्यो— शहरका मानिस सफा सभ्य र पढालिखा हुन्थे, ग्रामीण समाजमा ती गुणहरु कम पाइन्थे ।
प्रायः मानिसले गाउँलाई कोमलता र शहरलाई कठोरताको रुपमा लिने गर्छन् । वातावरणीय दृष्टिले — गाउँ स्वच्छ र प्राकृतिक थलो हो, शहर प्रदूषित र कृत्रिम । मानिसको स्वभाव पनि त्यसै अनुकूल गाउँले निर्दाेष, शहरिया बेइमान । यी भन्नेहरुका भनाइ हुन् । यथार्थ त यो हो— गाउँ र शहर एक अर्काका परिपूरक हुन् । गाउँ उत्पादन गर्ने थलो हो, शहर उपभोक्ता बजार । यसैले भन्न सकिन्छ, शहरको अस्तित्व गाउँसँग छ, गाउँको अस्तित्व शहरसँग ।
नौ वर्षको उमेरमा गुल्मीबाट बुटवल झरेर बस देखेको तर सत्र वर्षको उमेरमा बस चढेको रामप्रसाद अहिले शहरिया भएको छ । तर गाउँले भन्न छाडेको छैन । म आफूलाई गाउँले किन भन्छु भने मेरा मातापिताले मेरो काँधमा राखिदिएको अचल सम्पत्ति, जायजेथा सबै गाउँमै छ । मातापिताले बनाइदिएका घर, गोठ र उरिमहरु सबै गाउँमै यथास्थितिमै छन् । मेरो नागरिकता पनि गाउँ (गुल्मी) कै । मैले बसाइ सराइको प्रमाणपत्र लिएको छैन । यसो भएपछि मैले आफूलाई गाउँले किन नभनूँ ?
मलाई गाउँ छाड्न पटक्कै मन छैन । मलाई त्यो घर, त्यो आँगन, त्यो करेसो, ती मुलाघारी, ती खेतबारी, ती चरन, खेल्ने गरेका ती पाखा पखेरा र खरियाहरु सबै मन पर्छ । त्यसैले मेरा मातापिताले दश नङ्ग्रा खियाएर जोडेका सबै संरचनाहरु बेचेर हिँड्न पटक्कै आँट आउँदैन । यतिसम्म कि सजिलोका लागि अनौपचारिक बसाइँसराइ लिन पनि नैतिकताले दिएको छैन । बसाइँ सराइ प्रमाणपत्र लिएँ भने कानूनी रुपमा म गाउँले भइनँ नि ! अनि कसरी भनूँ म गुल्मीको ?
तर अहिले म न गाउँले जस्तो भएको छु, न शहरिया जस्तो । शहर पनि छाड्न सकिनँ र गाउँ गएर पनि धेरै दिन टिक्न सकिनँ । माया लाग्छ गाउँको, तानिरहन्छ गाउँले र जान्छु वेलामौकामा । तर हिजोआज गाउँ, गाउँजस्तो देखिन छोडेको छ । गाउँमा बनेका तिनै घर कटेराहरुले गाउँको झल्को दिन्छन् । यो गाउँ त्यही गाउँ हो, जहाँ मेरा मातापिता थिए, दाजुभाइ दिदीबहिनी थिए, जेठा बाआमा, कान्छा बाआमा, वारिपारि, तलमाथिका गाउँले दाजुभाइ दिदीबहिनीहरु र आफूसँग खेल्ने दौँतरीहरु थिए । अब कोही पनि छैनन् । त्यो गाउँ, आज गाउँजस्तो छैन ।
गाई बाख्रा चराउन गइन्थ्यो लारी(डन्डीबियो), खेलिन्थ्यो, खर्लाङ्खुट्टी र चारी (धाइकासा) हाम्रा खेलका साधनहरु हुुन्थे । गोरु जुधायो, रनवन घन्किने गरी गीत गायो, भोक लागे कसैको बारीमा पस्यो, उखु भाँचेर खायो, अझ सकिन्छ भने कसैका करेसाबारीमा पस्यो र काँक्रा चोरेर खायो । त्यो गाउँको रमाइलो अहिले कहाँ पाउनु ? कहाँ हुनु मजस्ता किशोरहरु गाउँमा र कहाँ पाउनु काँक्रा र उखुहरु ?
अहिले त जसले जे गर्छन्, व्यावसायिक खेतीमात्र गर्छन् । एक एक दानाको हिसाब हुन्छ । पहिलेजस्तो पाहुना घरमा आउँदा दूध, गोरस र फलफूल दिएर आतिथ्य प्रदान गर्न सकिन्न । घाटा लाग्छ । बरु सीमित मात्रामा उत्पादन हुने, बजार पुग्न नसक्ने र सडेर जाने बेलौती, आरु र आडुबखडाहरु दिन सकिन्छ, अहँ…. अरु दिन सकिन्न । अहिले त गाउँ, गाउँजस्तो कहाँ रह्यो र ? अतिथि आउँदा देवता आएजस्तो ठान्ने र मीठा परिकारहरु खान दिने ? अब ती दिन हराए ।
सोचिन्थ्यो नि त्यस वेला त—
‘अतिथिर्यस्य भग्नासो गृहात् प्रतिनिवर्तते स तस्यै दुष्कृतं दत्वा पुण्यमादाय गच्छति ।’
अर्थात् जसको घरमा अतिथि आएको छ र बस्न चाहँदा चाहँदै निस्कन बाध्य पारिएको छ, त्यसले कुकर्म छाड्छ र पुण्य लिएर जान्छ । तर अब ती नीतिशास्त्रहरु हराए गाउँघरबाट । जो सुकै आओस् वा जाओस् के मतलब? घाटा हुन भएन वश् ।
शास्त्रोक्त वचन यस्तो पनि छ— देश, काल, परिस्थिति हेरेर ठाउँ परिवर्तन गर्नुपर्छ । नत्र संसार बुझिन्न, संसार चिनिन्न र प्रगतिको सूत्र थाहा पाउन सकिन्न । भनिन्छ नि —
‘स्थान मुत्सृज्य गच्छन्ति सिंहा सत्पुरुषा गजा तत्रैव निधन यान्ति काका कापुरुषा मृगा ।’
अर्थात् सिंह, हात्ती र सत्यपुरुषहरुले पूर्वस्थान छाड्छन् तर काग, मृग र खराब मानिसहरु जहाँ जन्मन्छन्, त्यहीँ मर्छन् । यो नीति आंशिक सत्य हुनसक्छ, पूर्णसत्य हुन सक्तैन । हामीले यसलाई यसरी बुझ्नुपर्छ — स्थान छोड्ने भनेको ज्ञान, व्यापार र विद्वत्ता प्रदर्शनका लागि हो । एउटा गाउँबाट अर्काे गाउँमा जाँदा वा एउटा देशबाट अर्काे देशमा जाँदा नयाँ ठाउँ देख्न पाइन्छ, नयाँ ज्ञान, सीप र प्रतिष्ठा प्राप्त गर्न सकिन्छ । अनि त्यही ज्ञान र सीपको उपयोग गरेर आफ्नो गाउँलाई परिवर्तन गर्न सकिन्छ भन्ने हो । त्यसैले गाउँ छाड्नुको अर्थ गाउँ बिर्सनु होइन, गाउँलाई अझ सुन्दर बनाउने प्रयत्न गर्नु हो ।
हो, आज मेरो गाउँ पनि धेरै परिवर्तन भएको छ तर गाउँमा जति विकास हुनुपर्ने थियो, त्यति भएको छैन । परिवर्तन हुनु र विकास हुनु फरक कुरा हुन् । परिवर्तन हुँदैमा विकास हुन्छ भन्ने होइन । परिवर्तन सकारात्मक पनि हुनसक्छ, नकारात्मक पनि । तर विकास भनेको विकास नै हो, गाउँको सकारातमक परिवर्तन ।
परिवर्तन भनेको चलिआएको संस्कार छाड्नु होइन, आफूले पालना गरेको संस्कृति छाड्नु पनि होइन । अग्रजलाई गर्नुपर्ने सम्मानको परित्याग पनि होइन र मातृभाषाको तिरस्कार गरेर अन्य भाषाप्रति मोह जगाउनु पनि होइन । स्वधर्मको अपहेलना र परधर्मको स्वीकार्यता पनि होइन । स्वदेशी पोशाकको परित्याग र विदेशी पोशाकको नक्कल पनि होइन । परम्परागत सुपथ खानाको परित्याग र धर्म निषेधित खानाको स्वीकार्यता पनि होइन ।
अहिले ग्रामीण चेतनामा केही परिवर्तन अवश्य आएको छ । दलित कहलिएका जातिहरु अब ब्राह्मण समुदायसँग हात मिलाउन सक्ने भएका छन् । सँगै बसेर चिया खान सक्ने हैसियत बनाएका छन् । नागरिक अधिकारको खोजी हुन थालेको छ । नारी अधिकारको माग बढ्दै छ । समानताको खोजी हुँदै छ । लैङ्गिक विभेद र वर्गसङ्घर्षका कुराहरु खगाडि आउन थालेका छन् । सबैले आ–आफ्नो अधिकारको संरक्षण खोजिरहेका छन् । तर दुर्भाग्य ! आफ्नो कर्तव्य के हो ? बुझ्न सकेका छैनन् ।
गाउँ घरमा धेरथोर सबै प्रकारका मानिसहरु छन् । सञ्चार जगत्ले प्रचार गरेजस्तो बूढाबूढी र केटाकेटी मात्र छैनन् गाउँघरमा । युवाहरु पनि बसेका छन् गाउँबस्तीमा । तर ती गाउँको समग्र विकासमा भन्दा निजी स्वार्थमा अल्झिएका छन् । उनीहरुलाई गाउँ बनाउने चिन्ता भन्दा आफू बन्ने चिन्ता बढी छ ।
आफ्नो गाउँको मात्र नभएर गाउँ नै गाउँले भरिएको समग्र गाउँको कुरा गर्ने हो भने अहिले मैले निःसहाय बूढाबूढी र केही बालबच्चाका अतिरिक्त जति युवा समुदाय देखेको छु, ती युवाहरु खासगरी तीन चीजमा अल्झिएको देखेको छु । केही युवा छन्— जसले विपन्नताका कारण गाउँ छाड्न सकेका छैनन् र खाडीतिर जाने आँट पनि गर्न सकेका छैनन् । तिनीहरु, भविष्य बनाउने सोच भन्दा सजिलोसँग दैनिक गुजारा कसरी गर्न सकिन्छ ? त्यसैमा ध्यान दिएका छन् । उर्बर जमिन बाँझो पल्टिएको छ तर खनी खोस्रेर केही आय आर्जन गर्ने ध्याउन्न छैन । केही यस्ता युवा छन्— तिनीहरु आफ्नो सानोतिनो व्यवसायमा लागेका छन् । तिनीहरुलाई आफ्नो व्यवसाय कसरी फस्टिन सक्छ ? त्यसैको चिन्ता छ, त्यो बाहेक अरुको चिन्ता छैन । एउटा अर्काे अनौठो युवावर्ग छ गाउँमा, जो अत्यन्त निष्कृय छ । ऊ गफैगफको भरमा पालिएको छ । त्यो वर्गले झिँगो मार्दैन, सिन्को भाँच्दैन । त्यस वर्गलाई नेताको आड छ, नेताकै आशीर्वाद छ । त्यो वर्ग गाउँ गाउँमा डुल्छ र आफ्ना नेताहरुलाई आगामी निर्वाचनमा जिताएर कसरी सत्ता र शक्तिमा पु¥याउन सकिन्छ र उनीहरुको नामबाट आएको बजेटको अंश हात लाएर वा ठेक्कापट्टा मिलाएर कसरी मालामाल बन्न सकिन्छ ? यसै चेतले गाँजिएको छ ।
पछिल्लो चरणमा त गाउँको राजनीति झनै बिग्रिँदै गएको देखिएको छ । अहिले गाउँ गाउँमा सिंहदरबार पुगेको छ, केको दुःख ? अब त जातिविशेषका चाडपर्व मनाउनका लागि पनि सहयोग माग्न गाउँलेहरु गाउँकै सिंहदरबारमा पुग्ने गरेको देखिन थालेको छ । सामाजिक विकृतिको ज्वलन्त उदाहरण योभन्दा अर्काे के हुनसक्छ ?
ग्रामीण विकासका लागि आवश्यक धेरै कुराहरु गाउँमा पुग्न नसके पनि बाटाहरु गाउँगाउँमा पुगेका छन् । यति भएपछि मानौँ कि अब लत्ताकपडा, नुन, तेल, शिलबन्दी बोतल, टेलिभिजन र मोटरसाइकलहरु शहरबजारबाट आएजस्तै खाद्यान्न पनि शहरबजारमै फल्छ र गाउँ भित्रिन्छ । यस्तो परनिर्भरताले गाँजिएपछि कसरी हुन्छ गाउँको विकास ?
यातायात, गाउँका लागि गतिलो साधन हो तर त्यसको सदुपयोग हुन सकेको छैन । सरकारी बजेट कस्तो ठाउँमा प्रयोग हुनुपर्ने हो ? उचित ठाउँमा प्रयोग भएको देखिएको छैन । गाउँ विकासका लागि गएको सांसद कोषको बजेट मानिसको घरघरमा जाने मोटरबाटो बनाउन प्रयोग भएको छ । जब कि त्यस्ता कामहरु जनश्रमदानबाट हुनुपथ्र्याे । यति हुन सकेन भने जनप्रतिनिधिलाई धम्की जान्छ— दिने कि नदिने ? अर्को चुनावमा भोट चाहिने कि नचाहिने ?
अहो ! अहिले त गाउँदेखि अर्काे गाउँ जाने बाटो छेउछाउमा बर पीपल र शमीका वृक्ष अनि चौताराहरु देखिँदैनन् । जहाँ बसेर बटुवाहरु सुस्ताउँथे, सियाँल ताप्थे, चिसो हावा खान्थे र बाटो लाग्थे, ती ठाउँबाट त अहिले बस मोटरहरु कुद्छन् । वस्तुभाउ चराउन जाँदा वस्तुले पानी खाने गरेका पोखरीहरु र मजस्ता गोठालाले पौडी खेल्ने गरेका तलाउहरु अहिले मासिइसकेका छन् । तिनीहरुलाई पुरेर अहिले बसपार्क बनाइएको छ । हरियालीपूर्ण वनजङ्गलहरुमा अनियन्त्रित जोडर चलाइएका छन् । ती हराभरा पहाडहरु बिरालाले खोस्रेका फूलबारी जस्ता क्षतविक्षत भएका छन् ।
पाखाबारी र खेतबारीहरुमा घाँस डालेघाँस जति पनि छ । दुई चारवटा वस्तुभाउ पाल्न कसैको हारगुहार गर्नुपर्दैैन । तर गर्नसक्ने युवावर्गले त्यो काम गर्दैन । बजारमा पोका दूध पाइहालिन्छ, किन पालिरहने गाई भैँसी ? रसायनिक मल बोरामा आइहाल्छ, किन चाहियो गाइभैँसीको गनाउने मल ? फलफूल पनि बजारमा पाइहालिन्छ, किन लगाउने फलफूलका बिरुवा ? ख¥यान र चरनमा दाउरा कुहेर गएका छन्, गइरहून् । फोन गर्नेबित्तिकै ग्यासका सिलेन्डरहरु घरघरमा आइहाल्छन्, किन दाउरा ल्याएर आगो फुक्ने टन्टो गरिरहने ? खाजाका लागि रेडिमेड ड्राइफुडहरु पाइहालिन्छ, रोटी खानका लागि खेतबारीमा गहुँ, फापर छरेर के दुःख बेसाइरहने ?
कसैको घरमा पाहुना लाग्न जाँदा पनि अतिथि सत्कार गर्ने तरिका बदलिएको छ हिजोआज गाउँघरमा । पहिले जस्तो दही, मोही, दूध, केरा र कटहरजस्ता फलफूलले स्वागत गरिन्न । कोक फेन्टा वा ड्युुहरुको गिलास आउँछ अगाडि । त्यसपछि आउँछ चिया, कालो वा सेतो ! चिनी भएको वा नभएको । अतिथि सत्कार मात्र होइन, विवाह, व्रतबन्ध, भोज भतेर वा मर्दापर्दा पनि बोतलको बन्द जुस प्रयोग गरिन थालेको छ गाउँघरमा हिजोआज ।
अहिले गाउँलाई गाइड गर्ने मुखिया वा अगुवा गाउँमा छैनन् । भए पनि तिनको सरसल्लाह मान्ने विवेकी युवावर्ग अहिले गाउँमा छैन । वरु एनजीओ, आइएनजीओहरु पुग्छन् र गाउँले युवावर्गको बुद्धि भुटेर आफ्ना योजनाहरु सफल पार्छन् । उनीहरुलाई गाउँ बनाउने भन्दा फोटो खिचेर पैसा कुम्ल्याउने ध्याउन्न बढी छ । साँच्चिकै गाउँको विकास गर्ने हेतुले गाउँले नागरिकहरुलाई राजनीतिक चेतना दिने र खबरदारी गर्ने मानिस अहिले गाउँमा छैन ।
म अहिले शहरमा बस्छु र मुस्किलले वर्षको एकदुई पटक गाउँ पुग्छु । म त्यहाँ पुगेर अहिलेको युवावर्गलाई केही भन्छु तर केही पनि गर्दिनँ । भन्दा ठिकै भनेजस्तो लाग्छ र सुन्नेले पनि राम्रै मानेका हुन्छन् तर सुनियो सकियो, कार्यान्वयन हुँदैन । शहर पुग्छु, फोन गर्छु र गाउँ सम्झन्छु । दोहोरो कुरा हुन्छ । कुरामात्र हुन्छ, काम अगाडि बढ्दैन ।
अहिले त गाउँभन्दा ठूलो गाउँ शहरमा भएको छ । शहरिया भइसकेका गाउँलेहरु भेला भइन्छ, गाउँ बनाउने चर्चा चलाइन्छ, गाउँको गुणगान गाइन्छ, भोज खाइन्छ, अलिकति चढाइन्छ र गाउँको काल्पनिक विकास गरिन्छ ।
हो, यसै भएर म अहिले घरको न घाटको भएको छु । नसोच्दा नसोच्दै शहर पसियो । नसोच्दा नसोच्दै घडेरी किनियो र घर पनि बनाइयो । कल्पनै नगरेको कुरो शहरिया श्रीमती पनि भित्र्याइयो । बच्चाबच्ची जन्माइयो, जागिर खाइयो र पेन्सन बजाइयो । तै पनि गाउँ जान सकिन्न, गइहाले पनि धेरै दिन टिक्न सकिन्न ।
शहरमा पनि के छ र त्यस्तो छाड्नै नसकिने ? महानगरमा बसिएको छ, सुविधा नास्ति । हप्तादिनको पानीको पर्खाइ, बिजुली टेलिफोन, ग्यास, यो कर, त्यो कर, हिँडिनसक्नु बाटा, धुवाँ र धुलो, रोगको प्रकोप । विचार गर्छु, गाउँ गए पनि बूढाबूढी त पालिन सकिन्थ्यो नि ! कम से कम आफ्नै खेतको चामल, आफ्नै बारीको आग्र्यानिक तरकारी, फलफूल र मूलको पानी खान पाइन्थ्यो । तर एकपछि अर्काे अङ्कुशले तान्न थाल्छ, बाँधिइएको छ चारैतिरबाट । पाइला अगाडि बढ्न खोज्छन्, एउटा न एउटा अङ्कुशले पछाडि धकेलिहाल्छ । अनि त्रिशङ्कु बन्ने बाहेक अरु उपाय रहन्न । न गाउँको हुन्छु न शहरको । मेरो गाउँ गाउँमै रहन्छ, म शहरको शहरमै हुुन्छु ।
(गुल्मी)