बाबा शैल समान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर
त्याग्छन् भोग विलास नित्य तिनले सन्तानको खातिर
ब्रह्मा विष्णु महेश हुन् भवनको सन्मार्ग देखाउने
आफ्नो खुसीहरू भुलेर जगमा सन्तान हुर्काउने।।१
बाबा हुन् घरका अखण्ड बलिया खम्बा र भित्ता पनि
छैनन् सम्मुख ती भने सहजले हेप्छन् झिँगाले पनि
बाँधा बिघ्न हटाइ नित्य पथका रक्षा गरी हिँड़्दछन्
मेरो पुत्र भनी सदैव दिलले माया गरी बाँच्दछन् ।।२
सारा उज्वल शुभ्र रश्मि जगको बाबाहरू हुन् यिनै
छैनन् अन्य कुनै स्वरूप भवमा खोजी नहिँड्नू कतै
सारा दिव्य र भव्य रूप जति छन् बाबा भनी सम्झिनू
सेवा भाव म गर्छु नित्य मनले भन्दै सदा कल्पिनू।।३
सानो तुच्छ विचार छन् यदिभने झट्टै सबै त्याग लौ
बाबा हुन् भगवान् समान भवमा पूजा सबैले गरौँ
बाबाको महिमा बखान सजिलै होलान् कहाँ काव्यमा
सारा पुष्प पराग बागभरिका फुल्छन् सदा भावमा।।४
बग्दै दिव्य अनेक छाल ललिता पुग्छन् सबै सागर
खुल्छन् व्योम सदा बगाइ पसिना देख्छौँ सदा सुन्दर
यात्रा जीवनको सदैव सजिलो बन्छन् बने सज्जन
सारा दुःख र कष्ट जगको भोग्छन् सदा दुर्जन।।५
सारा वृक्ष लता उजाड़ बनमा हुन्छन् सदा अग्निमा
तारा चन्द्र र सूर्य तिव्र गतिमा हट्छन् त्यहाँ व्योममा
त्यस्तै हाल हुनेछ हेर जनको बाबा गुमाएपछि
पर्छन् हिँड्नु खसाइ आँसु जगमा बाबा विलाएपछि।।६
(पत्थरझोडा, डुवर्श)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।