झिनो र सिकारु धुन आइरहेछ गितारको सँगै जोडिएको पल्लो कोठाबाट अभ्यस्त हुन खोजिरहेछ साधनारत एउटा किशोर आफ्नो खेलको हरियो मैदानमा । हामी जो धुन सुनिरहेछौँ निर्जीव त नभनौँ जीवित पनि कसरी भनौँ ! गडेउँलाझैँ छौँ हामी उद्देश्यहीन घस्रिरहेका आँगनमा खेतबारीमा सडकहरुमा कोदालोले ढाड भाँचिए पनि सल्बलाउन छोड्दैनौँ हामी मकै बारीहरुमा । हामी जो धुन सुनिरहेछौँ टाउको उठाइरहेका छौँ मानौँ हामी जुर्मुराएर उठ्ने छौँ र सामेल हुने छौँ उसको कोठामा एकलब्य झैँ उसको धुनमा, उसका सङ्गीतका तरङ्गहरुमा तर हामी दुईलाई धेरै कुराले छुट्याएको छ घरको भित्ता, समय, परिस्थिति र उसका बाबु आमाको अनौपचारिक हुन नसक्ने संस्कार । ऊ एउटा कलिलो गुलाफको फूल हो इन्द्रेणीको सात रङ्ग हो भोलिको ध्रुवतारा हो हिमाल हो । ऊ स्वयं एउटा धुन हो पूर्णिमाको जून हो अझ थोत्रे घर भत्काउने पूर्वीय हुरी हो नयाँ शहर बनाउने एउटा कर्मी हो शिल्पी हो । गितारका तारमा आज उ आफूलाई अल्झाइरहेछ गितारका धुनमा आज ऊ जिन्दगीको सार्थकता खोजिरहेछ शान्तिको अर्थ खोजिरहेछ । (काठमाडौं)