झिनो र सिकारु धुन आइरहेछ गितारको
सँगै जोडिएको पल्लो कोठाबाट
अभ्यस्त हुन खोजिरहेछ
साधनारत एउटा किशोर
आफ्नो खेलको हरियो मैदानमा ।
हामी
जो धुन सुनिरहेछौँ
निर्जीव त नभनौँ
जीवित पनि कसरी भनौँ !
गडेउँलाझैँ छौँ हामी
उद्देश्यहीन घस्रिरहेका
आँगनमा
खेतबारीमा
सडकहरुमा
कोदालोले ढाड भाँचिए पनि
सल्बलाउन छोड्दैनौँ हामी
मकै बारीहरुमा ।
हामी
जो धुन सुनिरहेछौँ
टाउको उठाइरहेका छौँ
मानौँ हामी जुर्मुराएर उठ्ने छौँ
र सामेल हुने छौँ
उसको कोठामा एकलब्य झैँ
उसको धुनमा,
उसका सङ्गीतका तरङ्गहरुमा
तर
हामी दुईलाई धेरै कुराले छुट्याएको छ
घरको भित्ता,
समय,
परिस्थिति
र उसका बाबु आमाको अनौपचारिक हुन नसक्ने संस्कार ।
ऊ एउटा कलिलो गुलाफको फूल हो
इन्द्रेणीको सात रङ्ग हो
भोलिको ध्रुवतारा हो
हिमाल हो ।
ऊ स्वयं एउटा धुन हो
पूर्णिमाको जून हो
अझ थोत्रे घर भत्काउने पूर्वीय हुरी हो
नयाँ शहर बनाउने एउटा कर्मी हो
शिल्पी हो ।
गितारका तारमा आज उ आफूलाई अल्झाइरहेछ
गितारका धुनमा
आज ऊ जिन्दगीको सार्थकता खोजिरहेछ
शान्तिको अर्थ खोजिरहेछ ।
(काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।