शत्रुको हातबाट बाँच्नलाई
अन्धाधुन्ध फाल तोड़्दै
भागिरहेको थकित मृगझैँ
जनता सबै यहाँ
थकित छन्
विवादित छन्।
एकनासले लगातार
बगिरहेको बर्खा यामको
उर्लंदो खहरेले
एउटा विशाल पत्थरलाई
टुक्रा टुक्रा पारी
सा-साना बालुवामा
परिणत गरेझैं
जनता सबै यहाँ
विभाजित छन्
जात जातमा
झन्डा झन्डामा।
वसन्तको आगमनमा
नवपालुवाहरूले
कोपिलाहरूले
हरित मुनाहरूले
फक्रिएर
सारा वसुन्धरालाई
जसरी हरियाली तुल्याउँदछन
हर्षित तुल्याउँदछन्
ठिक उसै गरी यहाँ
थोत्रा व्यवस्था भित्राउँदा
सबै जनता हर्षित हुँदछन्
र फूलमाला चढाउँदछन् नेताहरूलाई।
रातको अँध्यारोमा
चम्किरहेको कुनै
दीप्ति देखी
जसरी अबोध पशुहरू
सम्मोहित हुन्छन्
ठिक उसै गरी यहाँ
नेताको भाषण सुनेर
जनता सबै सम्मोहित हुन्छन्
र दुई हातले ताली ठोक्छन्।
रातमा चन्द्रमाको किरण परी
चाँदीको देख्ने हिमाल
बिहान सूर्यको
सुनौलो रश्मि पर्दा
जसरी स्वर्णझैँ देख्दछ
ठिक उसैगरी यहाँ
जनता सबै बेरङ्गी छन्
बिहान एउटा झन्डा समातेर
एउटा नारा लगाइरहेका हुन्छन्
बेलुका अर्कै झन्डा समाती
अर्कै नाराबाजी गरिरहेका हुन्छन्
यस्तै छन् यहाँको
बुद्धिमानी जनता।।
(पत्थरझोड़ा, डुवर्श)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।