लैना हुन कि बकेर्ना हुन
बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन
किर्नाका लागि केही फ़रक पर्दैन
आँगमा पर्न पायो भने
छालामा टेक्न पायो भने
लपक्कै लाएर/ छालाजस्तै भएर
टपक्कै टाँसिन्छन् किर्नाहरू
मानिलिऊँ कि-
बाहिरी अवयव हुँदै होइनन्
शरीरकै एक अङ्ग हुन् किर्नाहरू!
खान नपाएर टाक्सिएका हुन् कि
खाँदाखाँदा उकासिएका हुन्
किर्नाको धर्म रगत चुस्नु हो
चुसिरहन्छन्
छालामा टाँसिएर
रौंमुनि आश्रय लिएर
आफ्नै अङ्ग हुन् कि झैं गरी
एक तमास चुसिरहन्छन्
चुस्दाचुस्दै ढाडिएर
अड्नै नसकेपछि बरु भुईंमा झर्छन्
तैपनि अघाएर सन्तोष मान्दैनन् किर्नाहरू।
किर्नाले टेकेपछि
किर्नाले टोकेपछि
रगत मात्रै खान्नन्
तिनले त
अनेकअनेक विषाणु फैलाइदिन्छन् शरीरभरि
अनेकअनेक रोग सल्काइदिन्छन् बथानैभरि
र अनि कि भुतुक्कै मारिदिन्छन्
कि त साह्रै कमजोर पारिदिन्छन्।
परजीवी किर्नाहरू
रगत खान्छन् भोक मार्छन्
भुँडी फुट्नेगरी खाए पनि
दिने भनेको - उही रोग हो
उही शोक हो बदलामा
अरु जान्दैनन् किर्नाले
अघाएर भुईंमा झरेपछि पनि
फेरि फुल पार्छन्/ सन्तान विस्तार गर्छन्
अनि हज़ारौं किर्ना जन्माएर संसार किर्नामय बनाउँछन्।
फेरि नया किर्नाले पनि
उसैगरी रगत चुस्ने हो
रोग सार्ने हो
सके मार्ने हो
नसके कमजोर पार्ने हो।
टाक्सिएका हुन् की उकासिएका हुन्
किर्नालाई माया गर्नु भनेको
आफैंलाई संकटमा पार्नु हो
यसैले किर्नालाई बेलैमा चिनौं
किर्नाको बाटो छेकौँ
ताकि किर्नाले कतै टेक्ने ठाउँ नपाओस्
किर्नाले कतै टोक्ने ठाउँ नपाओस्
बरु अलिअलि क्षति व्यहोरेर भए पनि बर्तमानमा
आजै किर्नाको उन्मूलन गरौं
ताकि भोलि कतै किर्ना देख्न नपरोस्
भोलि कतै किर्ना भोग्न नपरोस्।
(नर्थ क्यारोलाइना, अमेरिका)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।