आजको रात म लेख्न सक्छु सबैभन्दा दुखी हरफहरु
लेख्न सक्छु, जस्तो कि, ‘तारामय छ यो रात र ती नीला ताराहरु काँपिरहेछन् कतै टाढा’
रातको हुरी बग्छ आकाशमा र गाउँछ गीत
आजको रात म लेख्न सक्छु सबैभन्दा दुखी हरफहरु
मैले उसलाई प्रेम गरेँ र कुनैबेला उसले मलाई पनि
यस्तै रातहरुमा मैले उसलाई लिएँ आफ्नो अङ्गालोमा
अनन्त आकाशमुनि मैले उसलाई चुमेँ र चुमिरहेँ बारम्बार
उसले मलाई प्रेम गरी र कुनैबेला मैले उसलाई पनि
कसरी मैले उसका ठूला स्थिर आँखाहरुलाई प्रेम नगरीरहन सक्थेँ
आजको रात म लेख्न सक्छु सबैभन्दा दुखी हरफहरु
यो सोच्नको लागि कि मसँग छैन ऊ, यो महसुस गर्नको लागि कि मैले उसलाई गुमाएँ
सुन्नको लागि यो गहिरो रात, झनै सघन ऊ बिना
र खस्छ यसरी आत्मामा कविता, जसरी खस्छ शीतको थोपा घाँसमाथि
के फरक पर्छ, मेरो प्रेमले बाँधेर राख्न सकेन उसलाई मसँग
तारामय छ यो रात र छैन ऊ मसँग
यत्ति हो, कतै टाढा कोही गाइरहेछ, कतै टाढा
भड्किरहेछ मेरो आत्मा ऊ बेगर
खोजिरहन्छन् मेरा आँखा उसालई नजिक पाउन
खोजिबस्छ उसलाई मेरो मुटु र ऊ छैन मसँग
उस्तै रात जसले सेताम्य बनाइरहेछ उनै रुखहरु
हामी, जस्तो थियौँ उसबखत, छैनौँ अब उस्तै
प्रेम गर्दिनँ मैले अब उसलाई, यो साँचो हो, तर कति धेरै प्रेम गर्थेँ म उसलाई
खोज्दथ्यो मेरो आवाजले बतास, स्पर्श गर्नको लागि उसका कानहरु
अरु कसैको, हुनेछे ऊ अरु कसैको, हुन्थी मेरा चुम्वनहरुमा ऊ
उसको आवाज, स्निग्ध शरीर, उसका अनन्त आँखाहरु
प्रेम गर्दिनँ मैले अब उसलाई, यो साँचो हो, तर सायद म उसलाई प्रेम गर्छु
कति छोटो छ प्रेम र कति लामो विस्मृती !
किनकि यस्तै रातहरु मार्फत मैले उसलाई लिएँ आफ्नो अङ्गालोमा
भड्किरहेछ मेरो आत्मा ऊ बेगर
हुनसक्छ यो अन्तिम दु:ख हो उसले मलाई दिएको
र हुनसक्छन् यी अन्तिम हरुफहरु, मैले उसका लागि लेखेको ।
अनु : नदीश
(अमेरिका)