बादलको च्यादर ओढेर
यतिखेर म,
खुला आकाशको रङ नियाल्दै
सपनाका सुताहरूले
आफ्नै जिन्दगीको पोयो बाटिरहेछु ।
चर्खाजस्तै घुमिरहेछन्
जीवनका हजार दृश्यहरू
एउटा वर्गाकार लयको परिधि वरिपरि
यस्तो लाग्छ
खुसीको यो मसिनो धागो
कुनै एक दिन चटक्क चुँडिन पनि सक्छ ।
म अभर पर्न सक्छु
किनारा लाग्न सक्छु
नदीमा हेलिन सक्छु
बगरमै हराउन सक्छु
हो, त्यतिबेला
के तिमी भन्छौ त म तिम्रै हुँ ?
साँच्चै दिन्छौ
तिमी मलाई तिम्रो साथ ?
होइन भने
भावनामा तरङ्गित भएर
भो अब नगर
यी बेतुकका कुरा म सुन्न चाहन्न ।
दुःखको पहाड उक्लिएर
एउटा उज्यालो घाम खोज्दै हिँडिरहेछु !
ब्ैाँसको यो चौतारीमा
म ढुक्कले प्रेम गर्न चाहन्छु
तर मेरा लागि
खुट्टाका पाउजु र गलाको हार
अहँ, हुन सक्दैन
जीवनको गति रोक्ने बन्धनहरू !
(गोर्खा, सिरानचोक)